न्यूरोडका झाँकीः विसङ्गत जीवनको प्रदर्शनी (पुस्तक समीक्षा)


कथाका स्थापित सबै मान्यताहरुलाई अक्षरशः अवलम्बन गरी आरेखित मध्यम आयामका डेढ दर्जन एक कथ्य विन्यासको बान्कीमा सजिएको ’न्यूरोडका झाँकी’ सर्जक तुलसीहरि कोइरालाको बहुप्रतीक्षित कथाकृति हो । दैनन्दिन जीवनमा देखिएका, भेटिएका, संवाद गरिएका, सङ्गत गरिएका, चियाइएका र थुकिएका ग्रामीण र नागर सभ्यता र प्रचलनका उपज पात्रहरुको उपस्थितिमा हाम्रै समाजका कथानक प्रस्तुत सङ्ग्रहले उत्खनन् गरेको छ । परिचित विषयवस्तुलाई प्रस्तुतिको नवीनता र सिर्जनशील्पको कौशलले तरोताजा बनाइएका यस सङ्ग्रहका अधिकतर कथाहरुमा निमुखा पात्रहरुको दुर्दान्त परिणति चित्रित छ ।

’न्यूरोडका झाँकी’मा सङ्गृहीत एकाध कथा बाहेकका अन्य सबै कथामा बृहत्तर सङ्कथनबाट ओझेल परेका ’सबाल्र्टन’ पात्रहरुलाई कथाकारले बाक्लै उपस्थित गराएका छन् । ’ख्वाँइमाया’की केन्द्रीय चरित्र माया, ’चोख्याइएको गाउँ’का हर्के र मङ्गले, न्यूरोडका झाँकी’को सानो केटो, ’कुरुवा’का बुवा, आमा र छोरी यसका दृष्टान्त हुन् । ’बोल्न नसक्नेका लागि बोलिदिनु पर्छ’ भन्ने चिन्तक गायत्री चक्रवर्ती स्पिभाकको कथनलाई कथाकार कोइरालाले भुइँमान्छेकै कथा लेखेर टेको दिएका छन् । आर्थिक, यौनिक, पारिवारिक, सामाजिक, मानसिक, राजनैतिक, भौगोलिक अनेक कारणले विसङ्गत जीवन बाँच्न बाध्य पात्रहरुको अन्तरकुन्तर चिरफार गरिएका यी कथाहरुमा अभाव, आश्वासन, भय, भीरुता, धोका, धक, सन्त्रास, श्रम, बाध्यता, पीडा, निरीहता र दुःख लाम लागेर आएका छन् ।

पहाडी, सहरिया र तराईको त्रि परिवेशिक सम्मिश्रणको जगको बनोटमा उभिएका उचित संवाद सहितका यस पुस्तकका कथामा प्रयुक्त भाषिक ‘सङ्केत’ यति लोभलाग्दो छ कि त्यसले केही नभनेर पनि धेरै कुरा भनेको छ । कवितामा मात्र पाइने यस्तो सङ्केतको प्रयोग कथाकार कोइरालाको कवित्वको प्रमाण हो । चाहे ‘तृष्णा–तृप्ति‘ कथाको ’पचहत्तर वर्षको बूढोलाई तृष्णा जाग्यो ! छत्तीस वर्षकी आइमाईले ऊबाट तृप्ति चाहि’, होस् वा ‘थुइक्क पानीमरुवा !’ कथाको ’बैंसको पोखरीमा नुहाएर चिल्लो हुनुपर्ने सीताराम त सधैँ फुस्रोको फुस्रै पो देखिन्छ त ! जान्दैन कि के हो पौडी खेल्न ?‘ होस्, सङ्केत प्रयोगका यी लोभलाग्दा उदाहरण हुन् ।

पहाडी, सहरिया र तराईको त्रि परिवेशिक सम्मिश्रणको जगको बनोटमा उभिएका उचित संवाद सहितका यस पुस्तकका कथामा प्रयुक्त भाषिक ‘सङ्केत’ यति लोभलाग्दो छ कि त्यसले केही नभनेर पनि धेरै कुरा भनेको छ ।

सङ्ग्रहका अधिकांश कथा प्रथम पुरुष दृष्टिविन्दुमा लेख्नुको अभीष्ट त्यसको यथार्थ र विश्वसनीयतालाई बिर्सिनसक्नु बनाउनु हो भने त्यसमा लेखक सफल भएका छन् । कथाकार स्वयं भोक्ता र द्रष्टा रहेका ‘भुँडे बापूजी’, ‘विज्ञापन’, ’ओदानको फेटा’, ’ख्वाँइमाया‘, ’खातूनी भाउजू‘ र ’न्यूरोडका झाँकी‘ यसै छिमलका अब्बल कथा हुन् । चरित्रचित्रणबाट सिर्जित दृश्यको कलेवर र उत्कर्षयुक्त अन्त्यले दिने झट्काले स्मरण गराउने लघुकथाको समापन कतिपय कथामा भेटिनुले स्रष्टा कोइरालाको लघुकथाकारको परिचायकी समेत उजागर भएको छ ।

यस कथासङ्ग्रहको उल्लेख्य पक्ष भने भाषाको मनोहारिता र कथानकको सामयिकी हो । उखान, टुक्का र युक्तिलाई सन्दर्भ अनुसार उपयुक्त ठाउँमा गरिएको प्रयोगले पाठकलाई परिवेशको सम्बन्ध कथ्यसँग स्थापित गर्न सघाएको मात्र छैन सरल भाषाको प्रविष्टिले कथानकसँगै पाठकको मनोवेग प्रवाहित हुने ढोका समेत खोलिदिएको छ । त्यसो त कतिपय ‘अग्र्यानिक’ शब्दको सामेलीले विस्मृत बन्दै गएका शब्दहरुको पुनस्मरण मात्र गराएका छैनन् कथालाई प्राकृतरुपमा शृङ्गारेका पनि छन् । हावाकावा, वि∙ा लगाउनु, खियार्नु, उसिन–निसिन, टापल्टुपुल, टिमुर्किनु, कुसेत्रो, थैथै, गिलिक्क यसै कोटिका बान्कीका दृष्टान्त हुन् ।

संयोग भनौं वा दुर्भाग्य, सीमित तर कहिल्यै पुराना नहुने विषयको अन्वितिमा कथा सङ्ग्रहकै चाहिँ पहिलो कृतिका स्रष्टा कोइराला स्वयं लघुकथाको उन्नयनमा दुई दशक बढी संस्थागतरुपमै सक्रिय रहेका भए पनि उनकै पुस्तकको भूमिकामा भने लघुकथाविरुद्ध पैरवी गर्दै आएका विद्वान् प्रा.डा.को लघुकथा विरोधी विचार— ‘नेपाली कथालाई लघुकथाले नाश गर्न लागेको समय छ । ठूलो वृक्ष ठुट्याएर बोन्साइ बनाई गमलामा फलाएको कुरा (लघुकथा) कथा होइन’ पढ्नु पर्दा निष्ठावान् लघुकथा सर्जकहरुलाई बिझाउन सक्छ । यसका अलावा कथ्य र विन्यास दुवैमा प्रयोगपरक हुँदै गएको कथा विधाको अमूर्तता र स्वैरकाल्पनिकीमा ठिमाहा भाषाको मिठास खोज्ने पाठकले भने यो सङ्ग्रहलाई ‘पुरातन’ भन्ने सम्भावना पनि उत्तिकै छ ।

निष्कर्षतः निम्छरा पात्रहरुको विसङ्गत जीवन चित्रित शिखा बुक्सबाट प्रकाशित १८५ पृष्ठको अत्यन्त आकर्षक साजसज्जा र वर्षौंको मन्थनबाट अन्तिमरुप दिइएको कभर डिजाइन भएको रु. ३२५ मोलको ‘न्यूरोडका झाँकी’ भाषिक विचलनरहित पठनीय कथाकृतिको रुपमा पढ्न पाउँदा असली पाठक पुलकित हुनेछन् र भन्नेछन्— कथा हुन् त यस्ता ।

समीक्षक मुक्तिनाथ घिमिरे

Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope