दाँतको उपचार महङ्गो, रोकथाम सस्तो

नियमित सरसफाइ र परीक्षण गर्न सके दाँतको समस्याको रोकथाम गर्न सकिने चिकित्सकले बताएका छन् । अन्तिम समयमा उपचार गर्नुपर्दा अत्यधिक महङ्गो हुने उनीहरुको भनाइ छ । विश्वका कतिपय मुलुकमा रहेका नेपाली आफ्नो कमाइले उपचार गर्न नसकेपछि उपचारकै लागि नेपाल आउने गर्दछन् ।
दाँतको उपचार र सरसफाइ बच्चा जन्मेको एक वर्षदेखि शुरु गर्नुपर्ने भए पनि समस्या आएपछि मात्रै उपचारमा लाग्ने बानीका कारण समस्या जटिल र महङ्गो पर्ने गरेको हो । भरतपुर अस्पतालका दन्तरोग विभाग प्रमुख डा अजय न्यौपाने समय–समयमा परीक्षण र नियमित सरसफाइ गर्न सके दन्त समस्याको समाधान हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दिनमा दुईपटक ब्रस गर्ने र एकपटक डेन्टल फ्लस (एक प्रकारको धागोले दाँतको कापमा रहेको खाना सफा गर्ने प्रविधि) गर्ने हो भने दाँतको धेरै समस्या समाधान हुन्छ ।” बच्चा जन्मिएको एक वर्षपछि वर्षमा दुईपटक दाँतको परीक्षण गर्न उहाँको सुझाव छ । प्रत्येक दिन बिहान र बेलुका १०÷१० मिनेट समय दिन आग्रह गर्दै उहाँले थप्नुभयो, “दैनिक दाँतका लागि २० मिनेट समय दिनुहोस्, कहिल्यै दाँतको समस्या आउँदैन ।”
बच्चाको हकमा फ्लोराइडयुक्त पेष्ट प्रयोग गर्न र वयस्कले मेडिकेटेड पेष्ट प्रयोग गर्न पनि उहाँले सुझाव दिनुभयो । नब्बे प्रतिशत नेपालीले बिहान मात्रै दाँत माझ्ने गरेको भन्दै उहाँले जटिल समस्या भएपछि मात्रै अस्पताल आउने गरेको अनुभव सुनाउनुभयो । दाँतहरुको कापमा अड्किएर बसेका खानेकुराले गर्दा किटाणु उत्पन्न भएर दाँत किराले खाने उहाँको भनाइ छ । फ्लस अर्थात् धागोले नियमित सफा गर्ने र दुईपटक ब्रस गरेमा छ वर्ष मानिसको आयु बढ्ने अन्तर्राष्ट्रिय तथ्य रहेको न्यौपानेले जानकारी दिनुभयो । दाँतभित्र रक्तसञ्चार बढी हुने र टाइटेनियमजस्ता महङ्गा धातुबाट बनेका उपकरण प्रयोग गर्नुपर्दा दन्त उपचार महङ्गो हुने गरेको हो । एउटालाई प्रयोग गरेको उपकरण अरुलाई प्रयोग गर्न मिल्दैन । दाँत उपचारमा प्रयोग हुने उपकरणलाई कस्मेटिकमा राखेर राज्यले कर छुट नदिने हुँदा पनि महङ्गो पर्ने गरेको उहाँको भनाइ छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस