खोप नलगाई काममा फर्कन मानेन् पर्यटन मजदूर

तीन महिनापछि आंशिकरुपमा खुलेका सौराहाका होटलका मजदूरले काम शुरुआत गर्नुअघि कोरोना बिरुद्धको खोपको माग गरेका छन् ।
ती क्षेत्रका होटलमा दुई हजार ५०० हाराहारी मजदूर कार्यरत छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो गरेर गत असार अन्तिम साताबाट क्षमताको ३३ प्रतिशत मात्र पाहुना राख्न दिएपछि अधिकांश होटल सञ्चालनमा आएका छन् । होटलमा न्यून मात्र मजदूर रहेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दिपक भट्टराईले खोप नलगाई काम गर्न मजदूरले नमानेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल त्यहाँ दैनिक ६०÷६५ पाहुना आउन थालेका छन् । ती पाहुनालाई होटलले सामान्य व्यवस्थापन मात्र गर्दै आएको छ । होटल कुर्न बसेका थोरै मजदूरले होटल सञ्चालन गरिरहेका छन् ।
त्यही बसेका मजदूर र घरमा रहेका दुवैको माग खोप रहेको छ । उहाँका अनुसार मजदूरलाई खोप लगाइदिन जिल्ला प्रशासन कार्यालयमा संस्थागतरुपमा निवेदनसमेत दिइएको छ । स्थानीय प्रशासनले आंशिकरुपमा सञ्चालन हुने भएकाले त्यही सङ्ख्याका लागि मात्र खोपको माग गर्न भनेपछि ६०० जना मजदूरका लागि पहिलो चरणमा खोप लगाइदिन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अग्रभागमा रहेर काम गर्नेलाई मात्र खोप लगाइदिन सके धेरै सुरक्षित हुन्छ ।” सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले प्रत्यक्षरुपमा पाहुनासँग काम गर्ने मजदूरलाई खोप नलगाई काममा लगाउन कठिन हुने बताउनुभयो । प्राथमिकताका आधारमा आंशिकरुपमा पहिलो चरणमा खोप लगाइदिन सकेमा होटल सञ्चालनमा सहज हुने उहाँको भनाइ छ । आइतबार मात्र आफ्नो होटल जङ्गल सफारी लजमा पाँच वटा कोठामा पाहुना भएको जनाउँदै उहाँले ती पाहुनासँग प्रत्यक्ष काम गर्नेलाई खोप लगाउन सकेमा सुरक्षित हुने बताउनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस