डिजिटल मिनिमलिजम

एकपटक सोच्नुस् त ! तपाईं दिनको कतिपटक आफ्नो स्मार्टफोन खोल्नुहुन्छ ? दैनिक कति घण्टा तपाईंका आँखा स्मार्टफोनमा गडेका हुन्छन् ? तपाईं आफ्नो स्मार्टफोनमा कतिवटा एप्लिकेसन दैनिक चलाउनुहुन्छ ? तपाईंलाई दिनमा कतिवटा नोटिफिकेसन आउँछन् ?


गत वर्षदेखि कोभिड–१९को महामारीले विश्वभर नै चरणबद्ध लकडाउन भइरहेका छन् । नेपालमा समेत हामी तेस्रो लकडाउनको झन्डै झन्डै अन्त्यमा आइपुगेका छौं । यी लकडाउनका अवधिभरि हाम्रा प्रिय साथी बनेका छन् प्रविधिमैत्री उपकरणहरू । अहिले यो लेख पढिरहँदा तपाईंको हातमा मोबाइल छ । ल्यापटपमा पढिरहनु भएको छ भने मोबाइल कि चार्जमा होला या खल्तीमा । ट्याब्लेट अरू कसैले चलाउँदै होला या त कतै राखिएको छ । हातमा स्मार्टवाच लगाउनु नै भएको होला । लिभिङ रुममा बस्नुभएको छ भने भित्तामा टाँसिएको होला पातलो स्मार्ट टिभी, ५५ इन्चको । छैन भने पनि ३२, ४० वा ४२ इन्चको त पक्कै होला । कसैको घरको कुनै कुनामा त पुरानो डेक्सटप कम्प्युटर पनि होला, भलै नचल्ने भएपनि । सम्भवतः घरको मध्यभागतिर एउटा राउटर राख्नु भएको होला जसमा वल्र्डलिंक, क्लासिकटेक, एनटी फाइबर वा अन्य कुनै इन्टरनेट प्रदायकले तपार्इंका सम्पूर्ण प्रविधि उपकरणहरूलाई इन्टरनेटसँग जोडेको छ । ती सम्पूर्ण प्रविधिमैत्री उपकरणहरू हामी सबैको दैनिकीको अभिन्न अङ्ग बनेका छन् ।

एकपटक सोच्नुस् त ! तपाईं दिनको कतिपटक आफ्नो स्मार्टफोन खोल्नुहुन्छ ? दैनिक कति घण्टा तपाईंका आँखा स्मार्टफोनमा गडेका हुन्छन् ? तपाईं आफ्नो स्मार्टफोनमा कतिवटा एप्लिकेसन दैनिक चलाउनुहुन्छ ? तपाईंलाई दिनमा कतिवटा नोटिफिकेसन आउँछन् ? सामान्यतया हामीले यी कुरा ख्याल गरेकै हुँदैनौँ । सन् २०२० मा एनसेलले गरेको एक सर्भेक्षणले नेपालमा करिब ६०% ले स्मार्टफोन चलाउने तथ्याङ्क देखाएको छ । दि काठमाडौँ पोष्टका अनुसार सन् २०१३ मा त्यो सङ्ख्या १५% को हाराहारीमा मात्रै थियो । त्यसैगरी डाटारिपोर्टल (२०२०) का अनुसार नेपालमा झण्डै १ करोडभन्दा बढी मानिससँग इन्टरनेटको सुविधा छ । यो कूल जनसंख्याको ३५% हो । त्यति नै जनसङ्ख्याले सामाजिक सञ्जाल पनि प्रयोग गर्छन् । यी सबै तथ्याङ्कले स्मार्टफोन, ल्यापटप, स्मार्टवाच, स्मार्ट टिभी, ट्याब्लेट जस्ता प्राविधिक उपकरणहरू हाम्रो दैनिकीबाट अविभाज्य छन् भन्ने दर्शाउँछ । यी उपकरणले हाम्रो जीवन सरल र सहज त अवश्य नै बनाएका छन् तर के हामीले हाम्रो डिजिटल जीवनशैलीलाई उचित व्यवस्थापन गर्न जानेका छौँ त ? चरणबद्ध लकडाउनले हामीलाई प्रविधिसँग झन् गाढा रूपमा जोडिने मौका प्रदानग र्यो । हाम्रो शिक्षा, जागिर, व्यापार–व्यवसाय, पारिवारिक र  इष्टमित्र भेटघाट सम्पूर्ण “अनलाईन” मा सिमित भएको छ । हाम्रो धेरैजसो समय प्राविधिक उपकरणहरूसँग बित्न थालेको छ, जसले गर्दा डिजिटल जीवनशैली व्यवस्थापनको महत्व झनै बढेको छ ।

डिजिटल जीवनलाई कसरी सरल बनाउन सकिन्छ ? सूचना र प्रविधिको परस्पर विकास भएको २१औँ शताब्दीमा यो एक निकै महत्वपूर्ण प्रश्न हो । डिजिटल जीवनशैली व्यवस्थापनलाई डिजिटल मिनिमलिजमको सिद्धान्तमार्फत सहज ढङ्गमा बुझ्न सकिन्छ । मिनिमलिजम अर्थात् सरल रूपमा जीवन जिउने कला ।

डिजिटल जीवनलाई कसरी सरल बनाउन सकिन्छ ? सूचना र प्रविधिको परस्पर विकास भएको २१औँ शताब्दीमा यो एक निकै महत्वपूर्ण प्रश्न हो । डिजिटल जीवनशैली व्यवस्थापनलाई डिजिटल मिनिमलिजमको सिद्धान्तमार्फत सहज ढङ्गमा बुझ्न सकिन्छ । मिनिमलिजम अर्थात् सरल रूपमा जीवन जिउने कला । यसलाई व्यवहारिक दर्शनका रूपमा पनि लिन सकिन्छ । प्राविधिक जीवनशैलीलाई व्यवस्थापन गर्न यही मिनिमलिजम सिद्धान्तको परिस्कृत रूप प्रयोगमा ल्याउन सकिन्छ । नेपाली समाजमा ‘डिजिटल जीवनशैली व्यवस्थापन’ र ‘डिजिटल मिनिमलिजम’ नौला शब्दावली हुन सक्छन् । डिजिटल मिनिमलिजमलाई बुझ्नुभन्दा पहिले ‘डिजिटल क्लटर’ के हो जान्नु आवश्यक छ । डिजिटल क्लटर अर्थात् प्राविधिक अव्यवस्था । भौतिक अस्तव्यस्तताले जस्तै प्राविधिक अव्यवस्थाले पनि तपाईंको जीवनशैलीलाई अनावश्यक रूपमा जटिल बनाउँछ । ती डिजिटल क्लटरहरूले तपाईंलाई तनावग्रस्त र दुःखी बनाउँछन् । तर यसप्रति निकै थोरैको मात्र ध्यान जान्छ र प्रायजसो सबैले यो कुरालाई अनदेखा गरेका हुन्छन् । यसैलाई सरलीकृत गर्ने भूमिका डिजिटल मिनिमलिजमको हो ।

मिनिमलिजमको सिद्धान्तले सोध्ने एक महत्वपूर्ण प्रश्न छ— ‘कुन चिजहरूले तपाईंको जीवनको मूल्य बढाउँछन् ?’ यो प्रश्नको उत्तर तपाईंले जान्नुभयो भने तपाईंको जीवनबाट अव्यवस्था हटेर तपाईंको  जीवनका सबै महत्वपूर्ण पक्षहरू— स्वास्थ्य, सम्बन्ध, उत्कृष्टता, वृद्धि र योगदानका लागि ठाउँ बनाउन सक्छ । तसर्थ, मुख्य विचार भनेको मिनिमलिजम वास्तवमा कमको बारेमा होइन, यो बढीको बारेमा हो । मिनिमलिष्ट जीवनशैली जिउनेहरू माझ एउटा भनाई प्रख्यात छ— ‘लेस इज् मोर’ । पछिल्ला केही दशकमा डिजिटल मिनिमलिजमको चर्चा बढेको देखिन्छ । डिजिटल मिनिमलिजमले तपाईंलाई टेक्नोलोजीबाट टाढा बस्न भने प्रेरित गर्दैन । स्मार्टफोन वा ट्याब्लेट कम चलाउनु वा चलाउँदै नचलाउनु डिजिटल मिनिमलिजम हैन । त्यसैगरी स्मार्टफोनमा फेसबुक, इन्टाग्राम वा ट्वीटर अनइन्स्टल गर्नुलाई मात्र पनि डिजिटल मिनिमलिजम भन्न सकिन्न । हामी सामाजिक सञ्जाल स्क्रोल गरेर, इमेल चेक गरेर, साथीहरूसँग च्याट गरेर वा अन्य कुनै एप्लिकेसन चलाएर दिनको औसतमा ४ देखि ५ घण्टा खर्चिने गर्छौं । हाम्रो दिनको कम्तीमा पनि ४०% समय हामी मल्टिटास्क गरेर बिताउँछौ । तर यो सुनेर तपार्इंलाई आश्चर्य होला कि डिजिटल मिनिमलिजम सिद्धान्तको मूल उद्देश्य भनेको नै तपाईंलाई टेक्नोलोजीको बारेमा बढीभन्दा बढी जान्ने, बुझ्ने बनाउनु हो । डिजिटल मिनिमलिजम हामी र हाम्रो टेक्नोलोजीबीच राम्रो र स्वस्थ सम्बन्ध निर्माण गर्ने उत्तम तरिका हो ।

हाम्रो जीवनमा प्रविधिको भूमिकालाई निर्धारण गर्नका लागि सामान्य न्यूनतमवाद दर्शनको एक विशिष्ट अनुप्रयोग नै डिजिटल मिनिमलिजम हो । डिजिटल मिनिमलिजम एक सिद्धान्त हो जसले तपाईंलाई डिजिटल सञ्चार उपकरणहरूले तपाईंको जीवनमा कति बढी मूल्य थप्दै छ भन्ने प्रश्न गर्न सहयोग गर्दछ । जब टेक्नोलोजी हाम्रो जीवनको ठूलो भाग बन्न जान्छ, तिनीहरूको बढ्दो सम्भाव्यताले हामीलाई वास्तवमा महत्वपूर्ण कुराहरूबाट विचलित गर्ने सम्भावना दिनदिनै बढ्दै जान्छ । टेक्नोलोजीको सहज पहुँच दिनप्रतिदिन बढ्दो छ र सँगसँगै त्यो शक्तिशाली, प्रभावकारी र सस्तो पनि बन्दै छ । न्यू योर्क टाईम्स बेस्ट सेलर पुस्तक ‘डिजिटल मिनिमलिजम’का लेखक क्यालन्यूपोर्ट भन्छन्— “मिनिमलिजम भनेको पर्याप्त कति छ जान्ने कला हो । डिजिटल मिनिमलिजमले यो विचारलाई हाम्रो व्यक्तिगत टेक्नोलोजीमा लागू गर्दछ । यो एक बढ्दो कोलाहलको संसारमा ध्यान केन्द्रित जीवन बिताउनको लागि महत्वपूर्ण छ ।” स्क्रोलिङ नयाँ धुमपान हो । विभिन्न ‘टेक’ कम्पनीहरूले फेकबुक, इन्टाग्राम, स्न्यापच्याट वा ट्वीटर जस्ता एप प्रयोगकर्ताहरूलाई आफ्नो स्क्रिनमा एकत्रित बनाई राख्न र ध्यानाकर्षण गराई राख्नकै निम्ति डिजाइन गरेका हुन्छन् । त्यसैले डिजिटल मिनिमलिजम्लाई हाम्रो जीवनमा कसरी लागू गर्न सकिन्छ भन्ने कुरा जान्न एकदम महत्वपूर्ण छ ।

प्रथमतः तपाईंका मूल मानहरू (कोर भ्यालुज) परिभाषित गर्नुहोस् । डिजिटल मिनिमलिजम तपाईंका मूल मानहरूको गहिरो समझमा निर्भर गर्दछ । ती जान्नको लागि आफैँलाई प्रश्न गर्नुहोस्, तपार्इंको लागि महत्वपूर्ण के हो ? तपाईंले कसरी समय खर्च गरिरहनु भएको छ ? र त्यसबाट के प्राप्त भइरहेको छ ? जब तपाईं स्पष्ट रूपमा तपाईंका  मानहरूले तपाईंको प्रविधि प्रयोगको ढाँचालाई कसरी प्रभाव पार्छन् भन्ने कुरा बुझ्नुहुन्छ, त्यसपछि तपाईं प्रविधिलाई कहिले र कसरी प्रयोग गर्नेबारे सूचित र आत्मविश्वासपूर्ण निर्णय लिन सक्नुहुन्छ । यो सँगसँगै सुरुवातमा तपाईं एक दिनका लागि कुनै पनि प्रविधि उपकरणहरू नचलाउनुहोस् । त्यस दिनको अन्त्यमा तपार्इंले के गुमाउनुभयो वा तपाईंको जीवनमा के थपियो भन्ने कुरा मनन गर्नुहोस् । अबका दिनहरूमा तपाईं जबजब टेक्नोलोजीको आकर्षण महसुस गर्नुहुन्छ, त्यसमा विशेष ध्यानदिन थाल्नुहुन्छ ।

तपाईं टेक्नोलोजी प्रयोगको लतमा नफस्नुहोस् र टेक्नोलोजीलाई इच्छा अनुरूप मात्र प्रयोग गर्नुहोस् । हामी धेरैजना प्रविधिको बाध्यकारी प्रयोगको सिकार छौँ । यसले सजिलै हाम्रो व्यक्तिगत मानसिकता र अभिप्रायहरूमा प्रत्यक्ष हस्तक्षेप गर्छ । तसर्थ प्रविधि प्रयोगका निम्ति उद्देश्य बनाउनु आवश्यक छ । विनाउद्देश्य प्रविधि चलाउन विस्तारै कम गर्दै लैजानुहोस् ।

डिजिटल मिनिमलिजम अन्तर्गत दैनिक जीवनमा लागू गर्न सकिने केही उपायहरू जानौँ । तपाईं टेक्नोलोजी प्रयोगको लतमा नफस्नुहोस् र टेक्नोलोजीलाई इच्छा अनुरूप मात्र प्रयोग गर्नुहोस् । हामी धेरैजना प्रविधिको बाध्यकारी प्रयोगको सिकार छौँ । यसले सजिलै हाम्रो व्यक्तिगत मानसिकता र अभिप्रायहरूमा प्रत्यक्ष हस्तक्षेप गर्छ । तसर्थ प्रविधि प्रयोगका निम्ति उद्देश्य बनाउनु आवश्यक छ । विनाउद्देश्य प्रविधि चलाउन विस्तारै कम गर्दै लैजानुहोस् । अर्को सहज उपाय भनेको आफ्नो स्मार्टफोनमा आउने नोटिफिकेशनलाई नियन्त्रण गर्नु हो । तपाईंले चलाउने कुन एप्लिकेसन अत्यावश्यक वा महत्वपूर्ण छ छुट्याउनुहोस् र अन्य एप्लिकेसनबाट आउने नोटिफिकेसनलाई बन्द गर्नुहोस् । सकेसम्म नोटिफिकेसनबाट आउने आवाजलाई पनि बन्द गर्नुहोस् । यसले तपार्इंको ध्यान बहकिनबाट जोगाउँछ । अब तपार्इंले सदस्यता लिनुभएका कैयौं ईमेल न्यूजलेटरहरूलाई अनसब्स्क्राईब गर्नुहोस् । आवश्यक बाहेक अन्य सम्पूर्ण न्यूजलेटरहरूबाट सदस्यता खारेज गर्नु भएपछि तपाईंको ईमेलमा क्लटरहरू कम हुन्छन् । त्यसपछि तपाईंको इनबक्समा आवश्यक ईमेल मात्र हुनेछ । हामीले चलाउने धेरैभन्दा धेरै एप्स वा वेबसाइटहरूमा बग्रेल्ती विज्ञापनहरू आइरहेका हुन्छन्, जसले तपाईंको ध्यान विचलित गर्छन् । त्यस्ता अनावश्यक र  अप्रासङ्गिक विज्ञापनहरूलाई हटाउन ‘एडब्लकर’ को प्रयोग गर्नुहोस् । अब तपाईंले आफ्नो स्क्रिन टाईमलाई ट्रयाक गर्नुहोस् । यो फिचर तपाईंको स्मार्टफोनमै भेट्नु हुनेछ । यदि छैन भने पनि ‘एक्सन ड्यास’ जस्तो एप प्रयोग गर्न सक्नुहुन्छ । यसबाट तपाईंले स्मार्टफोन कति समय चलाउँदै हुनुहुन्छ र कुन एपको स्क्रिन टाईम कति छ भन्ने कुराको स्पष्ट जानकारी पाउनुहुनेछ । प्रत्येक दिन आफूले स्मार्टफोनमा विभिन्न एप्लिकेसन चलाएको विवरण अनुगमन गर्नुहोस् र तपाईंलाई त्यो कतिको फाइदाकारी छ विचार गर्नुहोस् ।

राति सुत्नुअघि स्मार्टफोन प्रयोग गर्न बन्द गर्नुहोस् । निदाउनुभन्दा करिब एक घण्टाअघि आफ्नो स्मार्टफोन ओच्छ्यानभन्दा कतै पर राख्नुहोस् । सिरानीमुनि स्मार्टफोन राखेर सुत्ने बानी त्याग्नुहोस् । बिहान उठ्नेबित्तिकै पहिले स्मार्टफोन चेक गर्ने बानी आजैबाट हटाउनुहोस् । त्यसको विकल्पमा सिरानीमा एक पुस्तक राख्नुहोस् र बिहान उठेर पुस्तकको एक पाना भए पनि पढ्नुहोस् । सक्नुहुन्छ भने एक अध्याय नै पढ्नुहोस् । त्यसपछि जति बेर सक्नुहुन्छ ध्यान वा योग गर्नुहोस् । यसले तपाईंको स्वास्थ्य पनि राम्रो हुन्छ र केही दिनमै तपाईंको स्मार्टफोनको लत पनि कम हुन्छ । खाना खाने बेलामा स्मार्टफोन किचनमा नलैजानुहोस् । परिवारसँग टेक्नोलोजी रहित समय बिताउनुहोस् । हप्तामा एक साँझ छुट्याउनुहोस् जहाँ तपाईं टिभी नहेरी वा स्मार्टफोन नचलाई परिवारसँग बोर्डगेम खेल्नुहोस् वा गफगाफ गर्नुहोस् । कहिलेकाहीँ साथीभाइहरूसँग टेक्नोलोजी रहित हाइकिङ वा साईकल÷बाईक राइडमा जानुहोस् ।

यसरी दैनिक ससाना कुराहरूले तपाईंको टेक्नोलोजी प्रयोगको लतलाई घटाउन सक्छ । महत्वपूर्ण कुराहरूमा मात्र टेक्नोलोजीको प्रयोग गर्न थाल्नुभयो भने तपाईंको जीवनमा अन्य विभिन्न महत्वपूर्ण कार्यहरूलाई समय उपलब्ध हुन्छ । यसले तपाईंलाई उत्पादनशील र सृजनशील बन्न सहयोग गर्छ । डिजिटल मिनिमलिजमले तपाईंको जीवनमा भारी डिजिटल ओभरलोडले निम्त्याउने असरहरूबाट जोगाउँछ । यसले हाम्रो डिजिटल जीवनमा भएको आक्रामक वृद्धिलाई पनि घटाउँछ । अन्ततः डिजिटल मिनिमलिजमले तपाईंको अव्यवस्थित जीवनमा सन्तुलन ल्याउन मद्दत गर्दछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope