गोधूलि र सँघार (कविता)


जब हावाका झोँकाहरू
फूलका थुँगाहरूलाई
पगालेर पानी पानी बनाइदिन्छन्
जब मथिङ्गलका हुँकारहरू
पवनका सान्निध्यहरूलाई
बिथोलेर आँधी आँधी बनाइदिन्छन्
जब समयका लप्काहरू
सामीप्यका न्यानोहरूलाई
डढाएर खरानी खरानी बनाइदिन्छन्
अनि म आफूलाई
अभिलाषा र अभीष्टको
गोधूलिमा पाउँछु ।

आँसुका ढिक्काहरू जमेर मोती नै बने पनि
हाँसोका लहरहरू फुटेर ज्योति नै बने पनि
मोतीले ज्योतिलाई अँगालेझैँ
आँसु र हाँसोको सङ्गम नभइदिँदो रै’छ ।
दुःखमा आँसुले र सुखमा हाँसोले
आफ्नो धर्म नछाड्दो रै’छ ।

जब पीडाका घोलहरू
हर्षका गुच्छाहरूलाई
थिग्राएर आलसतालस बनाइदिन्छन्
जब असन्तोषका लवजहरू
आनन्दका महलहरूलाई
टुक्र्याएर तहसनहस बनाइदिन्छन्
जब परिस्थितिका चक्रव्यूहहरू
पुरुषार्थका गर्जनहरूलाई
दबाएर ठस्ठस् कनाइदिन्छन्
अनि म आफूलाई
समर्पण र प्राप्तिको सँघारमा पाउँछु ।

न म उँभौली भएँ, न त उँधौली
त्यसैले मेरो परिचय बन्यो ‘गोधूलि’
न म वार भएँ, न त पार
त्यसैले मेरो नियति बन्यो ‘सँघार’।

(कविता सङ्ग्रह ‘अजम्मरी अक्षरहरू’ बाट)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope