घुम पहाडमा ‘गो ब्याक !’ (हाइबुन नियात्रा)


‘घुम पहाडको रेल्वे स्टेसन सबैभन्दा उचाइको रेकर्डवाला स्टेसन हो सर !’

 ‘यहाँ घामहरूको डल्लै रेस चल्छ क्या !!’

मित्र कैलाश पाण्डे बोलिरहँदा मेरा आँखामा आख्यानकार वाङ्देलको ‘लङ्गडाको साथी’ मुस्कुराउँदै थियो । प्रकाश कोविद र युधीर थापाहरूका सन्दर्भ सम्झनै परेन मैले । ठीक यही बेला सेता सिरकहरू बोकेर नचिनेका आकृतिहरू बाटाभरि छरिएका थिए । हामीले झ्यालबाट हरिया मुस्कानसँग आँखा मिसाउँदै गरेको पल हाम्रो रबरखुट्टे यान फन्का मारिरहेको थियो साना–ठूला पहाडहरूको ।

आहा ! यात्रा भन्नु जीवनको परिभाषा पनि रहेछ मित्र ! पर पुग्यो, अनि आमासँग रिसाएको बालकजस्तै फन्किएर परपर पुगिसक्दा रिसाएको छु भन्ने नै बिर्सिएर हाँस्दै फर्किएजस्तो यी बाटाहरू पनि फरक्कै फर्कन्छन् अनि फेरि ढुङ्गाकै आड लिएर कतै, रुखकै आड लिएर कतै फेरि परसम्म पुग्छन् र कुइँक्कै बटारिन्छन्, ओली सरकार र काङ्ग्रेसी प्रतिपक्षको संसदीय अभ्यासजस्तै नि !

गति–वेदान्त

भुजङ्गप्रयाण हो

 गो ब्याक प्लिज !

ससाना प्रसङ्गमा मुखे जुठो नगर्ने एकमात्र क्यापे साथी जे.बी. साँच्चै ‘क्यापेबल’ लाग्नुभो जब ‘गो ब्याक’ को रहस्यले दासढुङ्गा र नारायणहिटीजस्तो हुनै परेन ।

निकै जटिल पहाडी उकालो भूगोलमा सडकको सञ्जाल पु¥याउने योजनामा खटेका फुस्रीकान्त छालावाला सडक–पण्डित मिस्टर अलराउन्डर इन्जिनीयर ठाडो उकालोको जुलुस कटाएर सडक सयचुली पारि पु¥याउन जति जुक्ति लगाए पनि सफल भएनछन् र  झोलीतुम्बी पोको पारेर घरतिर टाप कसेछन् । यता उनको खोजी हुनुअघि नै छ महिनामा घर आउने खसम कसम तोडेर चाँदी–कटाइ सडक–परियोजना नै छोडेर आउँदा तिनकी फुस्री पत्नी रिसाइछन् निक्कै । एकछाक र एकरातको राहतसम्म दिएर भोलिपल्ट भुक्भुके बिहान नहुँदै सिरानेको झट्टी हान्दै भनिछन् अङ्ग्रेजीमै— ‘ह्वाट् इज योर् प्रोब्लम्, ननसेन्स् ?’ ऊ पनि थर्थरीराम हुँदै बोलेछ— ‘नो आइडिया माइ डियर, हाउ टु डु ?’ कन्पारो तातिसकेसि पत्नीले आउँदो  रात र पाक्दो छाकबाट वञ्चित गर्दै खप्की दिइछन्— ‘यु गो ब्याक, यु मस्ट गो ब्याक न्याउ, आर यु लिसनिङ मी ? गो ब्याक, स्टुपीड !’

तेस्का बाजे, बुद्धले घर छोडेसि उत्रो तपस्याबाट पाएको सम्बोधी ता स्वास्नीको मारबाट बच्न शौचालयमा लुकेको खैरे इन्जिनीयरले तत्कालै पो पाएछ अचम्म !! अरू सबै बिर्सिएछ डरले । बिहानै राम राम भन्ने बेला त ‘गो ब्याक गो ब्याक ‘मुखभरि छ बा ! चारचोटि दोहो¥याएछ सुस्तरी, ‘गो … ब्याक, गो…ब्याक !’ आहा ! उसमा त हाम्रा डोरप्रसाद काकालाई देउता चढेझैँ भएछ पो त ! ‘ओके माई डियर, आइ विल हार्ट्ली ट्राइ टु अप्लाई योर आइडिया’ भन्दै धाइफल ठोकेछ । स्वास्नी पनि छक्क र मख्ख पर्दै ‘अल द बेस्ट’ भन्दै घरभित्र छिरिछ । अनि त परियोजनामा फुस्रे विशेषज्ञको चक्चकी नि गाँठे ! ठाडीनाके उकालामा बाटो अलि परसम्म पु¥यायो फेरि फर्कायो कुइँक्क पारेर, अनि फेरि परसम्म पु¥यायो, फर्कायो कुइँक्कै, अनि गो, अनि ब्याक, अनि गो फेरि ब्याक ।

प्रकृतिको राजधानी प्रकृतिकै देशभित्र, जहाँ मान्छेका अनुहारहरू मात्र पुग्छन् आँखा बोकेर । मान्छेले हात नचलाएसम्म, मान्छेले मुख नचलाएसम्म विश्वकी रानी बनिरहन्छिन् प्रकृति । जब रिसाउँछिन् तिनी, पहिरो र बाढीको त्रूmरावतार अहह ! उनलाई विधवा नपारी मान्छे बाँचिरहोस् उनकै मायामा ।

जिन्दगानीमा

ए रानी, हाँसिराख,

राजधानीमा

जे.बी. उवाच— त्यसैले पहाडी क्षेत्रका बाटाहरू सबै ‘गो ब्याक डिजाइन’ का हुन्छन् । हामीले हाम्रा दाँत सप्पै देखाएर हाँस्न पायौँ । खर्साङ र दार्जिलिङबीचको यात्रामा थुलुङ सरले हालेको गो ब्याकको स्वस्थानीले हामीलाई धरान–धनकुटा, चारआली–ताप्लेजुङ र दुनियाँका सप्पै चुच्चे पहाडको नाक काटेर गो ब्याकवादले कसरी टायर–साम्राज्य स्थापित गरेको रहेछ भन्नेमा मग्न बनायो । यात्रामा बादलजस्तै मडारिरहने बादलको पेट अझ मडारियो हो, तर छताछुल्ल चाहिँ भएन वर्षातझैँ । ‘गो ब्याक’ का अनेक प्रयोगहरूमा हामी घुम पहाडको प्रदक्षिणा सकेर अघि बढिसकेका थियाँै । जति बोले पनि, जति हाँसे पनि हामीले लिक छाडेकै थिएनौँ । साँच्चै ता हाम्रो गुडीयानका छेवैतिर अधिकतर रेलको लिक पनि हिँड्थ्यो सुलुलुलु सुलुलुलु  …. । जय होस् गो ब्याकमाता फुस्री गुरुमाको !


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope