ढुङ्गा खानी र क्रसर उद्योगको उत्खननले बस्ती जोखिममा


घर नजिकै सञ्चालन गरिएको खानीले तलबाट मेशिन लगाएर खनेको कारण पहिरो नजिकै आइपुगेपछि जानुका भुजेलको परिवार त्यहाँबाट अलि तल बेँसीमा बस्न थालेको छ । उहाँकै घर छेउमा रहेको अन्य दुई घर नजिकै सञ्चालन भएको ‘रुशी खोला खानी’ले खनेको पहिरोमा परेर यही असारमा परेको वर्षाका कारण बगाइसकेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलामा रहेको भुजेल गाउँको बस्तीमा रहेको समुदायको वर्षौंदेखिको पीडा हो यो । पहिरो गएर आफ्नो घर पनि जोखिममा परेपछि खानीवालालाई बेच्न बाध्य हुने अवस्थामा पुगेकाले बैनासमेत गरिसकेको उहाँले बताउनुभयो ।

“अब घर मात्रै बाँकी छ, कमाएर खाने बारीमा छरेको मकै सबै पहिरोले बगाइसकेको छ, केही छैन”, उहाँले भन्नुभयो, “खानीको मनपरीकै कारणले अन्त ठाउँमा गएर घर मात्रै बनाएर बस्न बाध्य छौँ ।” गाउँका अन्य दाजुभाइ पनि खानीवालाकै मूल्यमा बेचेर अन्त ठाउँमा सरिसकेको उहाँले बताउनुभयो । पहिरोको जोखिममा परेपछि आफूहरुको पनि घरबारी सबै खानीवालालाई नै बेच्न भनेर कुरा गरिसकेको र यही साउन १५ गते बैना गर्ने कुरा भएको उहाँले सुनाउनुभयो । “वरिपरि क्रसर र ढुङ्गा खानी भएकाले पल्लो भित्ताबाट पहिरो गयो भने त जोखिम नै हुन्छ, तर आउँदैन होला, त्यही आशामा बसेका छौँ”, उहाँले भन्नुभयो, “पहिरोको जोखिममा परेका कारण बस्तीका केही परिवार घर नै छाडेर हिँड्न बाध्य भए, हामी पनि त्यहाँबाट अन्त सर्नुको विकल्प छैन ।” खानीवालाले किन्ने भनेर भने पनि पैसा अहिलेसम्म हातमा नपरेको र अहिले पनि पहिरोले तानेको छाप्रो र बारी हेर्दै बसिरहनुपरेको पीडा उहाँले सुनाउनुभयो ।

सोही ठाउँका अर्का लोकबहादुर भुजेलले तलबाट खानीले खनेर पाखो नै झारिसकेको कारण घरबारी बेच्नुपरेको बताउनुभयो । अहिलेसम्ममा पाँच÷छ घर विस्थापित भइसकेको र अन्य घरपरिवार पनि विस्थापित हुने अवस्थामा रहेको उहाँले बताउनुभयो । वडा नं १२ का वडाध्यक्ष ईश्वर जङ्गमले एक डेढ वर्ष अगाडि खानीका कारण बस्तीमा पर्न गएको समस्यालाई लिएर आएको र आफैँ बसेर दुवै पक्षलाई राखेर समस्या समाधान गरिदिएपछि अहिले पछिल्लो समयमा कुनै गुनासो आफूकहाँ नआएको बताउनुभयो । खानी सञ्चालनका क्रममा खन्दै जाँदा आफ्नो जग्गा नजिक पुगेपछि बेच्नका लागि दुवै पक्षबीच छलफल हुने गरेको र आपसमा कुरा मिलाएर बिक्री गर्ने गरेको पाइएको वडाध्यक्षको भनाइ छ । वडा नं २ ठकुरी गाउँका गोवद्र्धन भुजेलले भने आफूहरुलाई पहिरोको डर नभए पनि हिलो, धुलो र टिपर चलाएका कारण पसल, बजारमा काम विशेषले आवतजावत गर्न समस्या भएको बताउनुभयो । आफूहरु पहिलादेखि नै बस्दै आएको गाउँमा करिब ४०० मिटरको दूरीमा काठमाडौँ रोडा ढुङ्गा उद्योग र डाइमण्ड रोडा ढुङ्गा उद्योग सञ्चालन गरेपछि बस्तीमा वातावरण प्रदूषण बढेको उहाँको भनाइ छ । यसरी खानीकै कारण गाउँ नै विस्थापित हुनुपरेको यो एउटा उदाहरण मात्रै हो । पनौती नगरपालिका–१२ कलाँतीभूमेडाँडा र वडा नं २ कुशादेवीको सिमानामा रहेको रोशी खोलामा वर्षौंदेखि मापदण्डविपरीतका ढुङ्गा खानी तथा क्रसर उद्योग सञ्चालन गरेका कारण सो ठाउँका धेरै घरपरिवार विस्थापित भइसकेको र अरु पनि विस्थापित हुने अवस्थामा रहेको स्थानीयवासीको भनाइ छ । वडा नं २ नयाँगाउँका स्थानीयवासी गोविन्द आचार्यले खानीले तलबाट जथाभावी खन्ने, खोलामा ढुङ्गामाटो र गेगर फाल्ने तथा मेशिन लगाएर ब्रेकर हान्ने गरेका कारण आफूहरुको गाउँ नै जोखिममा परेको बताउनुभयो । “माथि ठूलो बस्ती छ, तल आधा दर्जनभन्दा बढी ढुङ्गा खानी र क्रसर उद्योग सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो, “खानी सञ्चालन गर्दा खानी चलाउने ठाउँको मात्रै जग्गा खरिद गरेर माथिका बस्तीका समुदायसँग कुनै सल्लाह नै नगरी चलाएको कारण अहिले गाउँ नै विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।” जलाधार क्षेत्र र चरा संरक्षण क्षेत्रसमेत घोषणा गरेको ठाउँमा खानीले जथाभावी उत्खनन गरेका कारण त्यसले ती क्षेत्रलाई प्रभावित पार्ने विषयमा नगरपालिकाले कुनै चासो नदिएको स्थानीयवासीको भनाइ छ ।

वडा नं २ कै घैयाबारीमा खानीले तलबाट जथाभावी खनेका कारण जमिन फुटेर भासिँदै गएको छ । नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा राखेको गुनासोका कारण पनौती नगर प्रमुख भीम न्यौपाने र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको टोलीले अनुगमन गरे पनि खानी क्षेत्रमा जमिन भासिनु सामान्य कुरा हो भनेर फर्केको स्थानीयवासीले गुनासो पोखेका छन् । स्थानीयवासीको गुनासोपछि नगरप्रमुख न्यौपाने र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी पोखरेल नेतृत्वको सुरक्षा निकायको टोलीले एक महिना अगाडि स्थलगत अनुगमन गरेको थियो । “नगरपालिकामा कर तिर्दा पनौती बजार क्षेत्रको जतिकै दरमा तिर्नुपर्ने, तर हामीले आफ्नो जग्गामा बस्नका लागि पनि सुविधाले बस्न नपाउने अवस्था सिर्जना हुँदा पनि नगरपालिकाले उचित सम्बोधन गरेन ।” आचार्यले भन्नुभयो । त्यतिमात्रै नभई त्यहाँ सञ्चालित खानी र क्रसर सञ्चालनको आवाजले बस्तुभाउ नै विरामी भएको र धुलोका कारण अन्नबाली उब्जाउ घटेको स्थानीयवासीको भनाइ छ । विस्थापित हुने अवस्थामा पुग्दासमेत नगरपालिकाले समस्याको उचित सम्बोधन नगरेको वडा नं २ घैयाबारीका स्थानीयवासीको गुनासो छ । त्यहाँका स्थानीयवासी भन्छन्, “कि त यहाँको सबै खानी र क्रसर उद्योग बन्द हुनुप¥यो, कि त खानी क्षेत्र नै घोषणा गरेर हामीलाई अन्त ठाउँमा बस्ने ठाउँको व्यवस्था हुनुप¥यो ।” बस्तीमुनि खोला छेउमा सञ्चालन गरिएको खानी र क्रसर उद्योगका कारण माथिका बस्ती सबै जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।

खानीकै कारण बर्खामा हिलो र पहिरोको चिन्ताले सताउने गरेको छ भने हिउँदमा धुलोका कारण पसल, घट्ट र दूध ढुवानीमा धेरै समस्या हुने गरेको छ । पनौती नगरप्रमुख न्यौपानेले खानीका कारण जमिन भासिएको घैयाबारी क्षेत्रको अनुगमनपश्चात् त्यहाँका विद्युत्को खम्बा सारेर बत्तीको लाइन परिवर्तन गरिसकेको र बस्तीमा पर्ने जोखिमको विषयमा खानी तथा क्रसर सञ्चालकलाई बोलाएर सचेत गराइसकेको बताउनुभयो । “रोशी खोला क्षेत्रलाई जलाधार क्षेत्र र सँगै रहेको महाभारत जङ्गल क्षेत्रलाई चरा संरक्षणको क्षेत्र घोषणा गरी कार्यान्वयनको चरणमा रहेकाले विशेषगरी जलाधार क्षेत्रको शहरी विकासमार्फत परियोजना सञ्चालन गर्न प्रस्ताव गरिसकेकाले कार्यान्वयनको अवस्थामा पुग्ने क्रममा सायद त्यहाँ सञ्चालित खानी तथा क्रसर उद्योग बन्द हुने अवस्थामा हामी पुग्छौँ”, उहाँले भन्नुभयो । सो क्षेत्रमा मात्रै भालेश्वर, रुशीखोला रोडा ढंङ्गा उद्योग, डाइमण्ड, कार्की, पनौती, कोहीनुरलगायत आठ वटा ढुङ्गा तथा क्रसर उद्योग सञ्चालनमा छन् । –––(रासस)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope