१६५ चेपाङ बालबालिकालाई पालनपोषण र शिक्षा


शिक्षा–दीक्षा र पालनपोषण महङ्गो हुँदै गएपछि धेरैले एक वा दुई सन्तान मात्रै जन्माउन थालेका छन् । बालबालिकालाई हुर्काउन, बढाउन र पढाउन निकै खर्चिलो हुँदै गएको छ । यस्तो परिवेशमा पनि यहाँका एक व्यक्तिले चेपाङ समुदायका १६५ बालबालिकालाई पाल्दै पढाउँदै गरिरहेका छन् ।

रत्ननगर नगरपालिका–१३ सुब्बाचोक निवासी केपीकिरण शर्माले सोही नगरपालिकाका वडा नं ११ मङ्गलपुरमा गामबेँसीको चेपाङ संरक्षण केन्द्र खोलेर बालबालिकालाई पालनपोषण र पढाउँदै आउनुभएको छ । चितवन, धादिङ र मकवानपुरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने अतिविपन्न चेपाङ समुदायका बालबालिकालाई केन्द्र खोलेर उहाँले संरक्षकत्व दिँदै आउनुभएको हो । गोरखाको गण्डकी गाउँपालिका–५ मा विसं २०२८ साउन ११ गते जन्मिनुभएका शर्माको बाल्यकाल गाउँमै बिते पनि उच्च शिक्षा काठमाडौँको सरस्वती क्याम्पसबाट भयो । सोही क्याम्पसबाट स्नातक गरेपछि तीनमहिने पत्रकारिता तालिम लिनुभएका उहाँको आफ्नै कहानी छ । “तत्कालीन समयमा पत्रिकामा लेख्ने रहर जाग्यो”, उहाँले भन्नुभयो, “विसं २०५८ मा मैले कान्तिपुर पब्लिकेशनको गेटमा रहेको पत्रमन्जुषामा ५० वटा जति लेख छिराएँ तर एउटा पनि प्रकाशित भएन ।”

साहै्र दुःख लागेपछि विदेश गएर पैसा कमाउने र यहाँ फर्किएर आफँै पत्रिका खोल्ने जोश उहाँमा जाग्यो । त्यसलगत्तै विसं २०५९ मा दुबई पुग्नुभएका उहाँ छ वर्षको बसाइपछि नेपाल फर्किनुभयो । दुबईको पैसाले घडेरी र घर मात्रै जोड्नु भएन पत्रिका प्रकाशनका लागि क्यामेरा, ल्यापटप, प्रोजेक्टरजस्ता उपकरण बोकेर विदेशबाट फर्किनुभयो । विसं २०६५ साउन १८ गते काठमाडौँ झर्नुभएका शर्मा भोलिपल्टै चितवन आउनुभयो । उहाँकी श्रीमती अम्बिका खनाल चेपाङ गाउँमा पढाउने हुँदा घर आएको भोलिपल्ट क्यामेरा बोकेर पहाडी गाउँ सिद्धी उक्लिएको उहाँ बताउनुहुन्छ । एक दिनको त्यहाँको बसाइमा उहाँले धेरै तस्बीर लिनुभयो ।

ती सबै तस्बीर मन छुने खालका थिए । तस्बीर त लिनुभयो कहाँ प्रकाशित गर्ने छटपटी भयो । गाउँबाट फर्किएर दुई दिनभित्र उहाँले गामबेँसीको खबर नामक साप्ताहिक पत्रिका दर्ता गर्नुभयो । सो पत्रिकामा चेपाङ बस्तीका दुःखका समाचार र तस्बीर प्रकाशित भए । साइकलमा आफँैले जिल्लाका शहरी क्षेत्रमा पत्रिका बाँड्नुभयो । अलिअलि विज्ञापन उठ्यो । त्यसपछि उहाँले बचेको पैसाले ११ जना चेपाङ छात्रालाई रु एक हजार ५०० का दरले छात्रवृत्ति दिनुभयो । त्यसको दुई वर्षपछि विसं २०६८ मा छात्रवृत्ति पाएकालाई भेट्न जाँदा केही परिवर्तन भएको उहाँले पाउनुभएन । “श्रीमतीसँग अब म परिवारको आश पनि गर्दिनँ, मैले कमाएर दिन पनि सक्दिनँ भनेर चेपाङ संरक्षण अभियानमा लागेँ”, शर्माले शुरुआती दिनको स्मरण गर्दै भन्नुभयो । त्यही गाउँ बस्तीबाट २५ बालबालिका लिएर उहाँ शहर झर्नुभयो । विसं २०६८ को वैशाखमा हालको कालिका नगरपालिकाको खोलेसिमलमा रहेको विन्देश्वरी माविमा ती बालबालिकालाई छात्राबासमा राख्नुभयो ।

त्यसैबेला कान्तिपुरका पत्रकार विमल खतिवडासँगै सङ्गत भयो । शर्मासँगै पहाड उक्लिनुभएका खतिवडाले बन्दीपुरे चेपाङको कथा लेख्नुभयो । शर्माले भन्नुभयो, “यो कथा कान्तिपुरमा आएपछि तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई रात बिताउन चेपाङको घर आउनुभयो ।” त्यतिबेला शर्माले त्यहाँको कथा, व्यथा, पीडा सबै प्रधानमन्त्री भट्टराईलाई सुनाउने अवसर पाउनुभयो ।

त्यसपछि प्रधानमन्त्री भट्टराईले बाख्रापालनका लागि रु ९० लाख बजेटको व्यवस्था गर्नुभयो । त्यसमा हेफर, सपना भिलेजलगायतका संस्थाले थप सहयोग गरे । शर्माले विगत सम्झँदै भन्नुभयो, “गएको दशैँमा म त्यो गाउँ पुग्दा रु आठ करोड ५० लाखको खसी बोका बिक्री भएभन्दा खुशी लाग्यो ।”


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope