अविश्वास

क्लाइन्टको मागबमोजिम एउटा केटी खोजेर पठाइदिएँ ।
एक घण्टापछि केटी फिर्ता आई ।
क्लाइन्टलाई फोन गरेँ— “के भयो दिदी, फिर्ता पठाउनु भएछ केटीलाई ।”
“अर्को भेटे पठाउनु, भाइ ! यसको हातको पन्जा हेर्नुस् त, कस्तो घीनलाग्दो कालो छ । अलि बाङ्गो पनि छ । त्यस्तो हातले सफा गरेको भाँडामा कसरी खानु ?”
चार दिनपछि अर्की केटी पठाइदिएँ । ऊ पनि दुई घण्टामा फिर्ता आई ।
“भाइ, यो केटीको आँखा ज्यादै चनाखो छ, हेर्नुस् त पल्याकपुलुक पप्ल्याकपुलुक । त्यस्ता केटीहरू त टिपटापे चोर हुन्छन्, मेरो सामान हरायो भने को जिम्मेवार ?”
केही दिनमा अर्की केटी पठाइदिएँ, त्यो पनि फिर्ता आई । यसपालीकी केटीको स्वर ज्यादै कर्कश भयो रे, आवाज नै सुन्न मन परेन रे ।
किचकिचे क्लाइन्टलाई चित्त बुझाउनै गाह्रो परिरहेको बेला अर्की केटी भेटिई ।
केटीलाई हीराकै औँठी किन्नलागे झैँ होसियारीपूर्वक नियालेँ । यो केटीको हात नराम्रो थिएन, अनुहार जस्तै गोरो थियो । आँखा चञ्चल थिएन, बरू जुध्यो कि त्यहाँबाट निस्किनै गाह्रो हुनेखालको मोहनी आँखा थियो । स्वर कर्कश थिएन । बरू केही बोली रहोस् जस्तो मधुरवाणी थियो । केटी केटी थिइन, क्लाइन्टलाई मनपर्ने गुणको ‘प्याकेज’ नै थिई !
केटीलाई कामको बारेमा सविस्तार सम्झाएँ— “बिहान जानुपर्छ, लोग्नेस्वास्नी दुई जनामात्र छन् घरमा । कपडा धुने, भाँडा माझ्ने, बढारकुढार पार्ने, पुछपाछ गर्ने र साँझ फर्किने ।” र क्लाइन्टकहाँ पठाइदिएँ ।
उफ् ।
यसपाली पनि केटी फिर्ता आई ।
फोन गरेँ— “दिदी, कस्तो खोज्नु हो काम गर्ने केटी ? यो केटीको सबैथोक राम्रै थियो त !”
“राम्रो थियो भाइ, सबथोक मेरोभन्दा धेरै राम्रो थियो । त्यही भएर मेरै बूढाको मति भाँडिएला भन्ने डर लागेर राख्ने आँट आएन । पाए अर्को पठाउनुस् ल ।”
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस