१७ घरले पाए अन्तिम किस्ता

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डनको तीनधारामा निर्माण भइरहेको ‘तीनधारा एकीकृत नमुना तामाङ बस्ती’को १७ घरले अन्तिम किस्ता पाएका छन् । निर्माण सुरु गरेको करिब चार वर्षपछि १७ घरपरिवारले अन्तिम किस्ता पाएको एकीकृत नमुना तामाङ बस्ती निर्माण उपभोक्ता समितिले जनाएको छ ।
यसअघि करिब दश महिना अगाडि नै सम्पन्न गरे पनि पुनःनिर्माण प्राधिकरणबाट रकम प्राप्त नहुँदा अरू घर निर्माण हुन सकिरहेको थिएन । कारितास नेपाल नामक गैह्रसरकारी संस्थाले निर्माण गर्ने भनिएको उक्त बस्तीको काम संस्थाको परियोजना अवधि समाप्त भएपछि बीचैमा छाडेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई नै जिम्मा लगाएपछि थालनी गरेको बस्ती निर्माणको काम रकम अभावले रोकिएको थियो । २०७४ सालदेखि तीनधारा एकीकृत नमुना तामाङ बस्ती निर्माणको प्रक्रिया सुरु गरिएको २७ घरमध्ये पूर्णरुपमा निर्माण भइसकेको घरको किस्ता प्राप्त भएको हो । उपभोक्ता समितिले डीपीसी गरेका घरहरुको निर्माण कार्य सम्पन्न भएपछि बाँकी घरको डीपीसी सुरु गर्ने गरेका कारण सबै काम एकै पटक सुरु गर्न ढिला भएको जनाइएको छ ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष आइतमान तामाङका अनुसार सुरुमा पहिलो किस्ताबापत रु ५० हजार लिएपछि अहिलेसम्ममा सबै खर्च उपभोक्ता समितिले नै ऋण गरेर निर्माण कार्य सम्पन्न गरेको हो । “त्यसरी काम गर्दा एकातिर गैह्रसरकारी संस्थाले दिएको जिम्माको काम पुनःनिर्माण प्राधिकरणमा सबै विवरण नबुझाएका कारण प्रक्रिया मिलाउन ढिला हुनु, अर्कोतिर काम गरेर पनि पुनःनिर्माण प्राधिकरणले दोस्रो र अन्तिम किस्ताबापतको रकम उपलब्ध गराउन ढिला भएर काम रोकिराखेकोमा अब बाँकी काम सुरु गर्ने तयारीमा छौँ”, उपभोक्ता समितिका अध्यक्ष तामाङले भन्नुभयो, “बल्ल १७ वटा घरको किस्ताबापतको रकम प्राप्त भयो, अब बाँकी काम छिट्टै सुरु गर्छौं ।”
अब बाँकी नौ वटा घरको डीपीसी अब छिट्टै सुरु हुने उहाँको भनाइ थियो । यसअघि नै २७ वटा नै घरका लागि पुग्ने सामग्री जस्ता, छडलगायतका सामग्री खरिद गरेर लगिसकेको भए पनि बाँकी सामग्री जुटाउन र कामदारलाई दिन रकम नभएपछि अहिले निर्माणको काम रोकिएकोमा अब सुरु हुने तामाङले बताउनुभयो । १३ जना जग्गादाताबाट आवश्यक जग्गा व्यवस्थापन गरी करिब ३५ रोपनीमा निर्माण अगाडि बढेको सो एकीकृत नमुना तामाङ बस्तीसँगै तामाङ संस्कृति झल्कने सांस्कृतिक सङ्ग्रहालय निर्माणाधीन अवस्थामा रहेको छ । जसका लागि बस्ती छेउमा सांस्कृतिक सङ्ग्रहालय (सामुदायिक) भवनसमेत निर्माण भइरहेको छ ।
सो बस्ती निर्माणका लागि अहिलेसम्ममा मण्डनदेउपुर नगरपालिकाले पटक÷पटक गरी रु १८ लाख रकम विनियोजन गरिसकेको छ । करिब ५५ घरधुरी रहेको सो बस्तीमा भूकम्पपछि केही परिवार तल बेँसी हल्देटारमा झरिसकेका कारण अहिले २७ घर परिवारका लागि सो नमुना बस्ती निर्माण भइरहेको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन समिति) काभ्रेपलाञ्चोकका सूचना विज्ञ सुरेन्द्र यादवले भने निर्माण सम्पन्न भएका १८ वटा घरको सबै किस्ता पठाइसकेको बताउनुभएको छ । “उहाँहरुले माग गरेअनुसारको नै घरहरुको हामीले सबै किस्ता पठाइसकेका छौँ”, उहाँले भन्नुभयो, “अब बाँकीको माग भएपछि त्यहीअनुसारले पठाउने व्यवस्थापन गर्नेछौँ ।”
निर्माणाधीन बस्ती घरबास (होमस्ट) को परिकल्पनासहित बनाइएको अवस्थामा छ । त्यहाँ रहेका सबै तामाङ समुदाय भएकाले तामाङ संस्कार, संस्कृति र रितिरिवाज झल्किने गरी बस्ती निर्माण हुनेछ । बस्तीहरुसँगै एउटा सामुदायिक भवन र अर्को सांस्कृतिक भवन समेत निर्माण हुनेछ । जसको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई(भवन)को आर्थिक तथा प्राविधिक सहयोगमा र अर्को सांस्कृतिक भवन बागमती प्रदेश सरकारको लगानीमा निर्माण हुँदैछ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस