एकल सपनाको सपना


सप्तरीकी सपना शर्माको उमेर अहिले २० वर्ष पुगेको छ । कानुनअनुसार उनको बिहे गर्ने उमेर भर्खर भएकोे छ । सोह्र वर्ष नपुग्दै सुनसरी जिल्लाको इनरुवा नगरपालिका–३ का राम शर्मासँग विवाहबन्धनमा बाँधिएकी सपना दुई वर्षअघि नै विधवा भइन् ।

फर्निचर पसलबाट काम गरेर मोटरसाइकलमा घर फर्कँदै गर्दा विसं २०७६ साउन २२ गते साँझ इनरुवाको सुनसरी पुल नजिक तरकारी लिएर आएको भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा रामको घटनास्थलमै मृत्यु भयो । श्रीमान्को मृत्यु हुँदा उनी १८ वर्षकी थिइन्, काखमा थिइन् छ महिनाकी छोरी राधिका ।

श्रीमानको मृत्युपछि उनको जीवनमा ठूलो बज्रपात प¥यो । सासु पवित्री सुतिहार शर्माले पोइ टोकुवा भनेर सराप्नाका साथै कुट्नसमेत थालिन् । दाइजो मागेर हैरान पारेका सासु र जेठाजुले श्रीमान्को मृत्युपछि काजकिरीया र भोजमा भएको खर्चसमेत माग्न थाले । दुर्घटनामा घाइते भएकी आमालाई हेर्न माइत जान पनि उनीहरूले रोके । एक दिन आफू कोठामा नभएका बेला गरगहना झिकेर लगेको पनि सपनाले बताइन् ।
काखे छोरीमा समेत हेलोहोचो र लैङ्गिक विभेद हुन थाल्यो । सबै यातना सहे पनि दुधे शिशुप्रति रुखो व्यवहार भने सहन नसकेर छोरी च्यापेर माइत आइन्। युवावस्थामा टेक्न नपाउँदै आमा बनेकी सपनालाई छोरीको लालनपालनमा निकै सास्ती भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह गोडियारी टोलस्थित माइतीको शरणमा बस्दै आएकी सपनाको विवाह दर्तासमेत भएको थिएन । आमा सरिता शर्माको पहल र अधिकारकर्मीको सहजीकरणमा विवाह दर्ता, नाता प्रमाणित र छोरीको जन्मदर्ता पनि गराइएको छ ।

विवाह पछि छुटेको पढाइलाई पुनः निरन्तरता दिन चाहेकी उनी सीप सिक्नाका साथै रोजगार हुुने योजनामा छिन् तर घरपरिवारले अझैसम्म नागरिकता बनाइदिन मानेका छैनन् । विवाह भइसकेकाले स्व श्रीमान्कै नामबाट नागरिकता बनाउनुपर्ने अवस्था आएको छ । विवाह दर्ता, नाता कायम र छोरीको जन्मदर्ताका लागि ठूलै सङ्घर्ष गर्नुपरेकामा अब नागरिकताका लागि सङ्घर्ष गर्दै आइरहेकी सपनालाई मृतक श्रीमान्को हक, छोरी र आफ्नो भरणपोषण, एकल महिलाले राज्यबाट पाउने सेवासुविधा र रोजगारीका लागि पनि नागरिकताको आवश्यकता भएको हो ।

“छोरी सानै छ । एसएलसी पास हुनासाथ विवाह भएकाले थप पढ्नुपर्ने भएको छ, सीप सिक्नुपर्ने छ र रोजगारी खोज्नुपर्ने छ नत्र हुर्कँदै गरेकी छोरीलाई कसरी पाल्नु”, गुनासो गर्दै सपनाले भनिन् “थाहै नपाएर कलिलै उमेरमा बिहे भयो । बिहे गर्ने उमेर नपुग्दै विधवा हुनुप¥यो । अब कसरी बाँच्ने ।”

आफ्नी छोरीको भविष्य उज्ज्वल बनाउनका लागि भए पनि काम गर्न चाहेकी सपनालाई थप पढ्न नपाएकामा पछुतो भएको छ । ढिलै भए पनि पहिले कक्षा १० सम्म पढेको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित रोयल सेकेण्ड्री स्कूलमा उच्च माविमा अध्ययन गर्नाका साथै सोही विद्यालयको प्राथमिक तहमा पढाउनसमेत थालेकी उनले सिलाइकटाइको छ महिने तालिम पनि पूरा गरेर महिलाले लगाउने म्याक्सी, कुर्ता सुरुवाल, गाउन, ब्लाउज, पेटिकोट सिलाउने कमसमेत गर्दै आएकी छिन् । सपनाले भनिन्, “म अब आफ्नोभन्दा छोरीका लागि उच्च शिक्षा हासिल गर्न र स्थायीरूपले रोजगार हुन चाहन्छु तर नागरिकता छैन के गरुँ रु” कम्तीमा स्नातक तहसम्मको अध्ययन पूरा गर्ने लक्ष लिएकी उनले भनिन्, “योग्यता, क्षमता जति बढाए पनि नागरिकता नपाएसम्म रोजगारी पाउन असम्भव छ । श्रीमान् भएका भए बनाइदिनुहुन्थ्यो तर सासु र जेठाजु नागरिकता बनाइदिन तयार छैनन् । ”

आफ्नो चार वर्षकै उमेरमा बुबाको मृत्युपछि आमाले गरेको सङ्घर्षको प्रत्यक्ष अनुभव गरेकी सपना भन्छिन् “नाबालकमै बुवाको मृत्युले बाध्यतावश आफ्नो सानैमा विवाह भए पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउँछु, अनिमात्र विवाहको कुरा अघि बढाउँछु।”


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope