इन्द्रेणी खुसी

आज सखारै
सधैँ-सधैँ भन्दा बेग्लै
उज्यालिएको थियो पूर्व दिशा
मन्त्रमुग्ध पार्ने गीत गाएर
चराहरूले
झिसमिसे मै स्वागत गरेथे नयाँ उज्यालोलाई !
सधैँ आँखीझ्यालबाट हामफालेर
मेरो शरीरमा छरिने
र काउकुती लगाउने घामका किरणहरू
आज मेरो काखमा
ममताको मूल फुटाउँदै लुटपुटिइरहे
ओहो !
यो के हुँदै छ आज !
म आश्चर्यको घुम्टो ओढेर
शून्यतामा हराइरहें
स्नेहको ढुकढुकीमा चलमलाइरहेँ
तर जब स्पर्श गर्दै
बिस्तारै साउती मार्यो शीतल सिरेटोले
तब पो झल्याँस्स भएँ
मेरो अपूरो संसारले
आज पूर्णता पाउँदै थियो
एक अँगालो खुसीको इन्द्रेणी बोकेर
मेरो मुटु आउँदै थियो !
प्रतीक्षाको यो चञ्चल घडीमा
हटेजस्तै गरी तातो हाँडीको टोपी
बसाईँ सरेको छ
मेरो मुहारबाट उदासी
बस् ! तिमी आउने खबरले मात्र पनि
समयले जिन्दगीमा
प्रियताका रङहरू भरेको छ !
हेर है
तिमी आएपछि
आकांक्षाको मेरो आकाशमा
आशङ्काको बादल फाट्नेछ
म उभिने धरातलमा
त्रासको हुस्सु हट्नेछ
अब मेरो जीवनमा
जूनले चहक मात्रै बर्साउनेछ
हो ठूले !
‘तिम्रो आगमनमा
मेरो जिन्दगीले पूर्णता पाएको छ
यो ‘आमा मन’
सम्पूर्ण खुशीले रमाएको छ !
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस