ब्लक जग्गाको नापजाँच सुरु

रुपन्देहीको सैनामैना नगरपालिकामा आजदेखि पुनः गाउँ ब्लक जग्गाको नापजाँच सुरु भएको छ । सैनामैना नगरपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको नापी विभाग रुपन्देहीको सहकार्यमा नगरपालिकाको वडा नं ५ बुद्धनगरबाट नापजाँच सुरु भएको हो ।
जग्गा नापजाँचको शुभारम्भ गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले साविक दुधराक्ष गाबिस र हालको वडा नं ५, ६, ७, ८ र ९ का सम्पूर्ण पुराना थारु समुदायका गाउँ बस्तीहरुमा रहेका गाउँ ब्लक (डि–ब्लक) जग्गाहरुको नापजाँच सुरु गरिएको बताउनुभयोे । उहाँले जग्गा आवासका लागि योग्य भएको र सबैजसो जग्गामा अहिले पुरानो बस्ती बसिरहेको बताउनुभयो । जग्गाको नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने गरी तीव्र रुपमा काम गरिने प्रमुख कार्कीले बताउनुभयो ।
साविक पर्रोहा र सालझण्डीमा रहेका गाउँ ब्लक जग्गा मापनको काम यसअघि नै सम्पन्न भइसकेको बताउँदै कार्कीले साविक दुधराक्ष गाविसमा प्राविधिक कारणले केही ढिला हुन पुगेको उल्लेख गर्नुभयोे ।
उहाँले दुई महिना भित्रमा वडा नं ५, ६ ८ र ९ को पूर्व पश्चिम राजमार्गको उत्तर भेगमा पर्ने गाउँ ब्लकहरुको जग्गा नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमार्ण पूर्जा वितरण गरिने बताउनुभयो ।
नगरपालिकाका अनुसार करिब दुई महिनामा राजमार्गदेखि दक्षिणतर्फ पर्ने गाउँ ब्लक जग्गाको नापजाँच गरी जग्गाधनी पूर्जा उपलब्ध गराइने छ ।
नापी विभाग रुपन्देही प्रमुख अजित कुँवरले रुपन्देहीमा गतवर्षको एक हजार ३५० गाउँ ब्लक जग्गामध्ये एक सय गाउँ ब्लक जग्गाको काम भइरहेको बताउनुभयो । उहाँले विशेषगरी दक्षिण भेगतर्फ गाउँ ब्लक जग्गाको नापजाँचको काम जनशक्तिको अभावका कारण हुन नसकेकोे उल्लेख गर्नुभयो । कुँवरले सैनामैनामा वितरण गर्न बाँकी रहेको साविक दुधराक्षको ३७ विघा १२ कठ्ठा ६ धुर जग्गाको पूर्जा वितरणका लागि नगरपालिकाको पहलमा नापी विभागले काम सुरु गरेको बताउनुभयो ।
उहाँका अनुसार अहिले सैनामैनामा ८ ब्लकको नापजाँच गरिने भएको छ । जसअन्तर्गत करिब चार सय गाउँ ब्लक जग्गाधनीहरु रहेका छन् । पहिले नापी गर्दा छुट भएको कित्तालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ । –
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस