के हो जातीय विभेद ?


दलितनेता भीमराव अम्बेडकर भन्छन्, ‘जात भनेको कुनै भौतिक वस्तु होइन, जस्तो कुनै पर्खालको इँटा होस् वा काँडेतारले छेकेको कुनै सिमाना होस्। यो तधारणा हो,मानसिकता हो, मानसिकताको राज्य हो।’ यसर्थ जात एउटा प्रभुत्व कायम गरिराख्न खोज्ने कृत्रिम सोच हो। सोचमा परिवर्तन ल्याउन सके यो आफैं हराएर जान्छ। विगतमा अमेरिकामा रहँदा श्रीलंकन साथी थियो। उसँगै पसल गएँ। त्यही बेला पसलभित्र एकजना काला जातिका मानिसको प्रवेश भयो। त्यो मानिसलाई देखाउँदै श्रीलंकनले अंग्रेजीमा साउती मारे,‘काले आयो है अलिक होस् गर्नुहोस्।’ आँखा भने श्रीलंकन साथीकै छालामा गयो। काला जातिका मानिसलाई ‘काले’ भन्ने श्रीलंकन साथी त उभन्दा दुई गुणा बढी कालो रहेछ। तर पनि किन उसले आफूलाई उभन्दा गोरो र सभ्य देख्यो ?

स्वतन्त्रताको देश भनिएको अमेरिकामा समेत मान्छेबीच एक किसिमको वर्गीकरण तथा श्रेणीको हिसाब हुँदोरहेछ भन्ने कुरा बुझ्दै र भोग्दै गएँ। स्वेत अमेरिकन हो किएसियन ? भारतीय वा स्पानिस?आदि इत्यादि। कुनै फर्म भर्नु पर्‍यो भने पनि म कुन जातिको हो भनेर ‘अप्सनमा’ ‘टिक’ लगाउने ठाउँमा सबैभन्दा माथि ‘गोरा अमेरिकन’ र सबैभन्दा तल ‘काला जातिको’ श्रेणीगत सूची देखें मैले। लाग्यो यो श्रेणीगत वर्गीकरण त नेपालमा मात्र होइन अमेरिकामा पनि रहेछ। अनि समस्या त छालाको रंगको मात्र होइनरहेछ। यदि हुन्थ्यो त श्रीलंकन साथीले किन आफूभन्दा गोरोलाई आफूभन्दा कालो देख्थ्यो ?

अमेरिकाकै सन्दर्भमा कुरा गर्ने हो भने अझ यो काला र गोरा जातिको विभेद त डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा बढी थाहा पाएँ। ट्रम्प र उनको प्रशासनले गर्ने व्यवहारले धेरै गोरामाथि स्वेत नागरिक हुनुको प्रभुत्वको महसुस गराएको थियो। जसका कारण धेरै अस्वेत नागरिकसडकमाअधिकार खोज्दै आउनु परेको, नाराबाजी गर्नुपरेको थियो। जर्ज फ्लोएडको घटना र त्यसले ल्याएको ‘ब्ल्याक लाइभ्स म्याटर’ले रंगभेद तथा जातीय विभेदलाई बुझ्न अझ मद्दत गरेको थियो। अमेरिकामा रंगभेदको चर्चा गरिएपनि यसको मूल समस्या भनेको जातीय विभेद नै हो। मानिसले मानिसलाई गर्ने विभेद, छालाको रंग, उसको आकृति र बनोट, उसले गर्ने काम र उसकोसामाजिक हैसियतका आधारमा नै हो। यद्यपि जातीय र रंग विभेद एकै होइनन्।

फेरिपनि जातीय विभेद हट्न नसक्नु पछाडिको मूल कारण भनेको कृत्रिम सोच हो। प्रभुत्वको सोच। त्यो सोचले एउटा वर्गको प्रभुत्व बचाइराख्न सहयोग गर्छ। नेपालमा मात्र होइन।  संसारकै हरेक ठाउँमा यो प्रभुत्वको सोच हावी छ। छिमेकी भारतमा होस् वा संसारकै सबैभन्दा शक्तिशाली मानिने देश अमेरिकामा, हेर्दै जाँदा यस्तो लाग्छ यो दबाउने र दबिने प्रथा भनेको त कार्लमाक्र्सको वर्ग संघर्षको इतिहास जस्तै हो। जहाँ भइरहन्छ द्वन्द्व धनी र गरिबबीच, पुरुष र महिलाबीच, पुँजीपति र सर्वहाराबीच, माथ्लो जात र तल्लो जातबीच, छुत र अछुत बीच। जति जति समाज ‘सभ्यतातिर’ लम्किँदै गयो, उति उति समाजमा केहीवर्गले प्रभुत्व जमाउँदै लगे। व्यक्ति, समुदाय, वर्गमाथि शासन गर्ने अभिप्रायले आफूलाई माथि पार्न प्रयास गरिरहे। रंग, वर्ण, जात, लिङ्गको आधारमा आफूलाई कसरी हुन्छ, पहिलो दर्जामा राख्न खोजिरहे। त्यहाँ इष्र्या र वैमनस्यताको लडाईं चलिरह्यो।

यूवाल नोहा हरारीले आफ्नो न्युयोर्क टाईम्स बेस्ट सेलर पुस्तक ‘स्यापियन्स, अ ब्रिफ हिस्ट्री अफ ह्युमन काइण्ड’मा भनेका छन् कि जब समाज विस्तारै परिष्कृत हुँदै गयो। त्यही जीवबाट जन्मेको प्राणीमध्ये एउटा वर्ग केही शक्तिशाली भएर गयो। अलिक कमजोर जस्तो लाग्ने वर्ग माथि प्रभुत्व जमाउन थाल्यो। उसले आफूजस्तै मानिसहरूको वर्गीकरण गर्न थाल्यो, कसै कसैलाई आफ्नै वर्ग भित्र राख्यो भने, कसै कसैलाई छुट्टै वर्गमा राख्न थाल्यो, उनीहरूको रंग, अनुहार, कामको आधारमा। देश, उपदेश, महादेश पार गरेर एक ठाउँबाट अर्को ठाउँ जान थाल्यो, त्यहाँ बस्ती बसाउन थाल्यो। त्यहाँ भएका मानिसमाथि शासन गर्न थाल्यो। उसलाई लाग्न थाल्यो,‘म नै जान्ने मान्छे हुँ। मेरो जस्तो ज्ञान कसैको छैन। यिनीहरूलाई तालिम दिनुपर्छ, सिकाउनु पर्छ।’ अनि ऊ त्यही मिसनमा लाग्न थाल्यो। उसले त्यहाँ पनि रंग, वर्ण, पेसाको आधारमा मानिसलाईतह–तहमा विभाजन गरेर राख्न थाल्यो। ‘तल्लो तह’ भनिने वर्गले ‘माथिल्लो तह’ भनिने वर्गको मातहतमाकाम गर्न थाल्यो र उसैको दासी हुनगयो।  एउटा मानिस अर्को मानिसको दास हुन पुग्यो। वर्गीय समाजको निर्माण भयो। विभिन्न श्रेणीमा समाज विभक्त भयो।
हिन्दू समाज र सभ्यताको कुरा गर्ने हो भने पनि भएकै त्यही हो। सभ्यताको नाममा जन्मिएका विभिन्न ग्रन्थ, उपग्रन्थ र धार्मिक साहित्यले समेत मानवजाति बिचको यो जातीय विभेदलाई खुट्याउन सकेन। बरु उल्टै पानी चल्ने वा नचल्ने, माथिल्लो जात वा तल्लो जातको प्रसंग र पात्रहरूल्याएर जातीय विभेदलाई बढुवा दिइरह्यो। हिन्दूहरूको कानुनी पुस्तक मानिने मनुस्मृतिमा समेत बाहुनजातका मानिसलाई भगवान् ब्रम्हाको मुख, बोलीसँग तुलना गर्दै सबैभन्दा ‘तल्लो जात’लाई भगवान्को खुट्टासँग तुलना गरिएको छ। यस्ता कुराका कारण समाजले धेरै फड्को मारिसक्दा पनि जातीय विभेदको सोच हट्न सकेको छैन। अझै पनि जातीय विभेदको कृत्रिम सोच हावी छँदैछ।

जातीय विभेदको सोचले तल्लो जातलाई गर्ने मूल्यांकन माथिल्लो जातको आँखाबाट मात्र हुन पुग्यो। जसको कारण उनीहरूको जीवनस्तर कहिल्यै माथि उठ्न सकेन। न त तल्लो जात भनिने समुदायले माथिल्लो जात भनिने समुदायको भ्रमलाई नै चिर्न सक्यो।

फ्रेन्च विचारक मिसेल फुको भन्छन्,‘प्रश्न नगर्नु र चलिआएकै अभ्यासलाई स्विकार्नु भनेको नराम्रा अभ्यासहरूलाई निरन्तरता दिनु हो। आफूभन्दा ‘तल्लो जात’ भनिनेप्रति घृणा जन्माइरहनु हो। ‘म माथिल्लो जातको हँु’ भन्नेहरूलाई ‘नार्सिस्टिक’ बनाइरहनु हो। तल्लो जातको जुत्तामा खुट्टा लगाएर हिँड्ने ज्ञान नबाँड्नु हो।तल्लो जात हुनुको महसुस नगर्नु, नगराउनु हो।’ वास्तवमा भन्ने हो भने ‘जात’ अर्थात् अंग्रेजीमा ‘कास्ट’ भने शब्द ल्याटिनको ‘क्यास्टस’ बाट आएको हो, जस्तो अर्थ हुन्छ ‘पवित्र’। खासमा पोर्तुगिज शब्द ‘कास्ता’ बाट त्यो अंग्रेजीमा आएको हो जसको अर्थ ‘वंश’ भन्ने हुन्छ। यो शब्दको प्रयोग सबैभन्दा पहिले सन् १७०० तिर हिन्दूप्रणालीमा रहेको सामाजिक स्तरीकरणलाई सम्बोधन गर्न प्रयोग गरिएको थियो। पछि गएर यसको प्रयोग माथिल्लो वा तल्लो दर्जाको नाममा भएको सामाजिक विभेदलाई सम्बोधन गर्न प्रयोगमा ल्याउन थालियो।

उक्त सन्दर्भ पुलित्जर पुरस्कार विजेता इसाबेल विल्कर्सनले आफ्नो पुस्तक ‘कास्ट, दि ओरिजिन अफ आवर डिस्कनटेन्ट्स’ मा पनि उल्लेख गरेकी छन्। उनका अनुसार जात भन्ने शब्दको उद्गम भारत वा नेपाल होइन। यो त दक्षिण एसियामा मानिसहरूको कामको आधारमा रहेको वर्गीकृत समाजलाई हेरेर पोर्तुगिजहरूले राखिदिएको शब्द हो। यसरी हेर्दा यो शब्द आफैंमा युरोपियनहरूको उपनिवेशीकरणको उपज लाग्छ। यद्यपि भारतीय र नेपाली समाजको वर्गीकरण भने धेरै वर्ष पहिले वर्णको आधारमा भएको हो। त्यही पछि आएर जातीय प्रणालीको रूपमा बुझिन थाल्यो। यसले के देखाउँछ भने जातीय प्रणाली भनेकै प्रभुत्व कायम गर्ने उत्कट मानवीय स्वाभावका कारण उत्पन्न भएको हो।

नेपालको सन्दर्भमा हेर्दा घरिघरि लाग्छ, जसले जातीय विभेद हट्नुपर्छ भन्छ उसैले जातीय विभेद हट्न दिँदैन। कारण यो हुनसक्छ कि जातीय विभेद हट्यो भने एक जातिले अर्को जातिमाथि, एउटा सम्प्रदायले अर्को सम्प्रदाय माथि, प्रभुत्व जमाउँदै आएको एउटा वर्गले शक्तिविहीन अर्को वर्गमाथि शासन गरिराख्न पाउँदैन। अधिकार जमाइराख्न पाउँदैन। जातीय विभेद हुनुहुँदैन भन्ने थाहा पाएर पनि र त्यही कुरा सार्वजनिक रूपमा उठाएर पनि ‘माथिल्लो जात’को भित्री मनले ‘तँ मभन्दा तल्लो जातको नै होस्, तँलाई मभन्दा माथि उठ्न सुहाउँदैन’ भन्ने सोच र त्यही अनुसारको सामाजिक, सांस्कृतिक र नोकरशाही चिन्तन र अभ्यासका कारण जातीय विभेद अझै हट्न सकेको छैन। होइन भने के बाँकी रहेको छ जातीय विभेद हट्न? मुलुकी ऐनमा आमूल परिवर्तन गरिएकै छ।

नेपाल धर्म निरपेक्ष र लोकतन्त्रात्मक गणतान्त्रिक देशको रूपमा उभिएको छ। कानुनले जातीय विभेदलाई अपराधीकरणको रूपमा हेरेको छ। अनि यहाँसम्म आइपुग्दा पनि हामीले देखिराख्नु पर्ने, पढिराख्नु पर्ने, भोगिराख्नु पर्ने जातीय विभेदले ग्रस्त समाजलाई ? जातकै कारण रूपा सुनुवारले काठमाडौंमा समेत कोठा भाडा नपाउनु पर्ने ? जातकै कारण नवराज विके मारिनु पर्ने ? जातकै कारण प्रकाश विश्वकर्मा र मालती रावलले एक अर्कालाई मन पराएर बिहे गर्न खोज्दा पनि हाम्रो ज्यान बचाइदिनु पर्‍यो भन्दै गुहार माग्नु पर्ने?किन अझैपनि हट्न सक्दैन जातीय विभेद ? कहिलेसम्म रहन्छ यो छुवाछुत ?

हामी समाजका उपल्लो दर्जाका मानिसहरू हौं भन्नेहरूले नै समाजको आर्थिक, सामाजिक र राजनीतिक वर्चस्व कायम गरिरहे। उनीहरूले नै ‘तल्लो तथा पिछडिएको जातिका मानिसका’ आवश्यकता, उनीहरूका मानसिक, शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक पक्षका बारेमा वकालत गरिरहे। उनीहरूले नै समाजमा उनीहरूको स्तर के हुने, सामाजिक भूमिका के हुने भन्ने बारेमा परिभाषित गरिरहे। र त्यसको प्रभाव सामाजिक स्तरमा मात्र होइन, संस्थागत स्तरमा समेत रहन गयो। यो जातीय विभेदको सोचले तल्लो जातलाई गर्ने मूल्यांकन माथिल्लो जातको आँखाबाट मात्र हुन पुग्यो। जसको कारण उनीहरूको जीवनस्तर कहिल्यै माथि उठ्न सकेन। न त तल्लो जात भनिने समुदायले माथिल्लो जात भनिने समुदायको भ्रमलाई नै चिर्न सक्यो। जातीयताको सोचको जरो यति गहिरो भएर गाडियो कि जतिनै त्यसलाई निर्मुल पार्न खोजेपनि थोरै ठाउँ पाएको मुनाजसरी पलाउन थालिहाछ।

त्यही सोचको जरो बलियो भएर नै हो प्रभुत्वमा रहेको वर्गले यो विभेद सिर्जना गरिरहने।  जसरी उपनिवेषीकरणका समयमा बाहिरका युरोपियनहरूले हामीलाई केही नजान्ने, असभ्य, जनवारजस्ता भनेर व्याख्या गरे। अर्थात् गोरा जातिका मानिसले काला जातिका मानिसलाई जनवारको रूपमा व्यवहार गरे। आफ्नो प्रभुत्व जमाइरहे त्यसैको प्रभाव एउटै देशभित्र बसोबास गर्दै आएका मानिसबिच पनि पर्न गयो। त्यही एउटा वर्गको प्रभुत्व कायम गर्ने चेतले समाजमा पदानुक्रमको विकास भयो।वर्गीकरणको ‘तँ’ र ‘म’ विकास भयो। जसका कारण ‘हामी’ भन्ने भावना विकास हुन सकेन।

भारतीय विद्वान् लेखिका गायत्री चक्रवर्ती स्पिभाकले भनेजस्तो एउटा वर्गले प्रभुत्व जमाइराख्ने र अर्को वर्गलाई पछाडि नै पारिराख्ने भइरहयो। जसमा अझै पनि महिला, जनजाति, मधेसी र अन्य ‘तल्लो जाति’ पर्न आउँछन्। उनीहरू समाजको केन्द्रमा आउन सक्दैनन्, उनीहरूको आवाजलाई दबाइन्छ। यस अर्थमा ती व्यक्तिहरू‘अछुत’ जातका मात्र नभएर कुनै ‘छुत’  जातको गरिब पनि हुन सक्छ। कुनै धनी किसान पनि हुनसक्छ किनकि ऊ पनि समाजमा हेपिए र दबिएको हुनसक्छ। भोलि यिनीहरू माथि उठ्न पनि सक्छन्। प्रभुत्व कायम राख्ने सोचका कारण ‘अछुत’ जात मात्र होइन। अर्को कुनै छुत तर गरिब पनि समाजको तल्लो श्रेणीमा अपहेलित भएर बस्नुपर्ने हुनसक्छ। प्रभुत्व कायम राख्ने सोचलाई चिन्नु ‘छुत’ वा ‘अछुत’ दुवैको न्यायमा छ।

कसले प्रभुत्व जमाइराख्ने भन्ने कुरा त्यस ठाउँको सामाजिक तथा सांस्कृतिक अभ्यासले निर्धारण गर्दछ। त्यही अभ्यासको निरन्तरता रहेसम्म एउटा वर्गको प्रभुत्व अर्को वर्गमाथि रहिरहन्छ। समाजको संरचना यसरी बनेको हुन्छ, जसविरुद्धमा गएर प्रश्न गर्ने ल्याकत हतपत कसैले राख्दैन। समाज यसरी नै चल्ने हो त्यही भएर म पनि यसरी नै चल्नुपर्छ भनेर अगाडि बढ्छ। त्यसरी बढुञ्जेल जातीय विभेदको सोच रहिरहन्छ। आखिर वास्तविक समाज कस्तो हुने भन्ने सत्यको निर्माण हामी समाजका सबै वर्गको स्वीकृतिमा बनिनु पर्छ।प्रभुत्वकायम गर्ने सोचले व्यक्तिको संसार, समाज र पात्रलाई हेर्ने दृष्टिकोण साँघुरो बनाइदिन्छ।जातीय विभेद तथा प्रणालीलाई बलियो बनाइराख्ने आधार अर्थात् समाजभित्रका असन्तुष्टि भनेका हाम्रै समाजभित्र निर्माण भएका परम्परागत सोच, दर्शन, मान्यता र अभ्यासहरू नै हुन्।

त्यसमा पर्छन्, जातीय प्रणालीलाई ईश्वरको इच्छा र प्रकृतिको नियम भन्ने ठान्नु, त्यसलाई विरासतको रूपमा लिनु र आउने पिँढीले पछ्च्याउँदै जानु, आफ्नै जातभित्र मात्र बिहे गर्ने अभ्यासलाई स्वाभाविक मान्नु, पवित्र र प्रदूषित जात भनेर वर्गीकरण गर्नु, कामको आधारमा तल्लो जात र माथ्लो जातले गर्ने काम भनेर विभाजन गर्नु, आफूभन्दा तल्लो जातलाई होच्याउनु र अमानवीयकरण गर्नु, सानो जातलाई धम्क्याउनु तथा थर्काउनु र निर्दयी व्यवहार गर्नु, अनि म माथ्लो जात र ऊ तल्लो जात भन्ने मानसिकता र सोचलाई प्रश्रय दिनु।

यही प्रसंगमा फेरी इसाबेल विल्कर्सन भन्छिन्,‘जात प्रथा भनेको कृत्रिम संरचना हो, मानवीय मूल्यको स्थिर श्रेणी हो। जसले एउटा वर्गको अनुमानित वर्चस्व अर्को वर्गको अनुमानित हिनतामाथि गर्छ। एउटा जातिले आफू राम्रो जाति हुँ भन्ने गुण जसको कुनै आधार छैन त्यसका आधारमा अर्को जातिमाथि विभेद खडा गरिरहन्छ, जुन विभेद उसकै पुर्खाहरूले निर्माण गरे।


– लेखक साउथ जर्जिया स्टेट कलेज अमेरिकामा अध्यापनरत छन्।

साभार: अन्नपुर्ण पोस्ट


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope