घर डुबानमा परेपछि नगरपालिकामा तालाबन्दी


स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी गरिदिएका हुन् ।

अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो । नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट मुक्ति दिन नसकेको जनाउँदै पानीको निकास दिन आफूहरुले नै काम गर्ने बताएका छन् । गैँडाकोट–४ का तीर्थ पौडेलले निरन्तर परेको पानीका कारण घर डुबानमा परेपछि घरमा खान, बस्न, सुत्न समस्या हुँदा समेत स्थानीय सरकारले चासो नदिएको गुनासो गर्नुभयो । अव्यवस्थितरुपमा बस्ती बसाइएको र पानीको निकास नगरिँदा आफ्नो घर तथा पसल डुबानमा परेको उहाँले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको राजमार्गको उत्तरतर्फ पर्ने गैँडाकोट–४ मा घर तथा पसल डुबानमा परेका हुन् । उहाँका अनुसार डुबानका कारण स्थानीयवासीका लाखौँ रुपैयाँ बराबर नोक्सान भएको छ । आफूहरुलाई बर्खे पानीको निकास चाहिएको रे जनप्रतिनिधिले निकासमा वास्ता नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको उहाँले बताउनुभयो । पानी निकासका लागि नगरपालिकाले वडा कार्यालयलाई देखाउने वडा कार्यालयले नसक्ने भनेपछि स्थानीय रुष्ट भएका स्थानीयवासी अमिन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अघिकांश एक तले घर डुबानमा परेपछि खाना बस्नका साथै शौचालय जान पनि नसकिने अवस्था रहेको छ । यस क्षेत्रमा बर्खाको बेलामा प्रत्येक वर्ष एउटै समस्या दोहोरिने गरेको भए पनि यसको दीर्घकालीन समाधान भने हुन नसकेको उहाँको गुनासो छ ।

गैँडाकोट–४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडाले मात्रै निकास दिन नसक्ने भएकाले सबैको समन्वयमा मात्र काम गर्न सकिने स्पष्ट पार्नुभयो । नगरप्रमुख छत्रराज पौडेलले सो स्थानमा बर्सेनि समस्या दोहोरिने गरेको र अस्थायी रुपमा भए पनि पानीको निकास गरिने बताउनुभयो । “जेसिभी लगेर नाला निर्माण गरेर अस्थायी रुपमै भए पनि पानीको निकास गर्नेछौँ”, उहाँले भन्नुभयो, “यो ठाउँमा सडक विस्तारको काम भइरहेकाले पनि पानीको उचितरुपमा निकास गर्न सकेका छैनौँ ।”

जेसिभीलगायतका उपकरणको प्रयोग गरी नगरभित्र जमेको पानीलाई नारायणी नदीतर्फ निकास गर्ने काम तुरुन्त सुरु गरिहाल्ने नगर प्रमुखपौडेलले बताउनुभयो । अस्थायीरुपमै भए पनि जमेको पानी हटाउनतर्फ नगरपालिकाको पहल रहने उहाँको भनाइ छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope