तनहुँ जलविद्युत् आयोजनाको कामप्रति जनप्रतिनिधिको चासो


तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामप्रति तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गर्नुभएको छ । आयोजनाको काममा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै सांसद सिग्देलले आज आयोजनाको कार्यालयमा पुगेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुभएको हो । जिल्लाको समृद्धिसँग गाँसिएको आयोजनाको काम समयमा नै सम्पन्न नहुने भएपछि सांसद सिग्देलले कामलाई तीव्रता दिन अनुरोध गर्नुभएको छ ।

आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गरेर काम अगाडि बढाइएको जानकारी दिनुभयो । पूर्वाधार संरचना अन्तर्गत क्याम्प निर्माण, विद्युत् सवस्टेशन, पहुँच मार्ग निर्माण र सेती नदीमा पुल निर्माण कार्य शतप्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो ।

पटकपटक ठेक्का हुने तर काम नहुने भएपछि पछिल्लो पटक सोङदा र कालिका जेभी भियतनामसँग २२ मार्च २०२१ मा सम्झौता भएर ३० अगष्ट २०२१ बाट काम सुरु गर्ने भनिए तापनि कोभिड र अन्य प्राविधिक कारणबाट काम शुरु नभएको आयोजना प्रमुखले जानकारी दिनुभयो ।

“वर्गीकरण गरेर काम गरिएको भए तापनि जग्गा अधिग्रहण, पूर्वाधार निर्माण मात्र सम्पन्न भएको र अन्य मुख्य आयोजना भने सुरु भएको छैन,” उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीले समयमा काम नगरिदिँदा आयोजनाले सोचेअनुरुप गतिलिन सकेन ।”

आयोजनाको मुख्य काम शुरु नभएकाले यसले जनतामा र सरकारमा समेत नराम्रो सन्देश गएको सांसद सिग्देलले बताउनुभयो । “राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ हुँदा यसले सिङ्गो देशमा नै असर गर्दछ,” उहाँले भन्नुभयो । समस्याको नीतिगत समाधानमा आफूले जनप्रतिनिधिको हैसियतमा भूमिका खेल्ने उहाँले बताउनुभयो ।

“सांसदको हैसियतले मेरो सहयोग पूर्ण रुपमा रहनेछ, नीतिगत, आर्थिक र अन्य सहयोगमा मेरो प्रत्यक्ष सहयोग रहनेछ, तर समयमा काम पूर्ण गर्नतिर लाग्नुहोस्,” उहाँले भन्नुभयो । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनामा हालसम्म तीन वटा सुरुङ निर्माण सकिएको छ । ४३७.१ मिटर लामो सर्च ट्र्याङ्क जाने पहुँच सुरुङ साउन १५ गते, २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ असार २ गते र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ जेठ २१ गते पूरा भएको छ ।

आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको कामका लागि आयोजनाले सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभीसँग सम्झौता गरेको थियो । आयोजनाले ती कम्पनीसँग पहिलो प्याकेजका लागि रु १६ अर्ब ६२ करोड (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक)मा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माणकार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्र अस्वीकृत गरी एशियाली विकास बैंकको खरिद निर्देशिकाअनुरुप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

आयोजनाले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत खानेपानी, बाटो निर्माण गरिरहेको छ । साथै विद्युत् सेवा नपुगेका ग्रामीण भेगमा विद्युतीकरणको कार्यक्रम पनि आयोजनाले सञ्चालन गरिरहेको छ । यस्तै भीमाद नगरपालिकामा रहेको जनज्योति क्याम्पसको भवनमा तला थप गर्नका लागि पनि आयोजनाले सहयोग गरेको छ ।

आयोजनामार्फत् नै तनहुँका विभिन्न ठाउँमा विद्युतीकरणको काम समेत अगाडि बढेको छ । आयोजनामार्फत् जिल्लाका घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत् नपुगेका घरधुरीमा विद्युतीकरण गरिनेछ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope