धमाधम जोर्नी प्रत्यारोपण गरिँदै


राजधानी काठमाडौँ र विदेश धाउन नपर्ने गरी यहाँको भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण भइरहेको छ । डा श्रवणकुमार थापाको नेतृत्वमा जोर्नी प्रत्यारोपण भइरहेको हो ।

हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ रहनुभएका डा थापाले विगत छ वर्षदेखि उक्त अस्पतालमा जोर्नी प्रत्यारोपण गर्दै आउनुभएको छ । यस अवधिमा अस्पतालमा मात्रै ८० भन्दा बढीको प्रत्यारोपण भइसकेको छ । साँझ, बिहान र बिदाका दिनमा उहाँले चौबीसकोठीको मौलाकालिका अस्पतालमा यो सेवा दिँदै आउनुभएको छ । मौलाकालिकामा मात्रै २० भन्दा बढी जोर्नी प्रत्यारोपण गरेको उहाँको भनाइ छ ।

कोरोना सङ्क्रमणका कारण नियमित यस्ता शल्यक्रिया कम भएका भए पनि पछिल्लो समय नियमित गरिएको छ । घुँडा, पुठो, कुहिनोलगायतको प्रत्यारोपण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रत्यारोपणका लागि विभिन्न धातुको मिश्रणबाट बनेको मेटल एलोए प्रयोग गरिँदै आएको छ । त्यसको मूल्य महँगो पर्ने हुँदा प्रत्यारोपण खर्चिलो हुने गरेको थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जोर्नी प्रत्यारोपण गर्दा अमेरिकामा बनेका मेटल एलोएलाई रु दुई लाख हाराहारी र भारतमा बनेकालाई रु एक लाख ५० हजार हाराहारी पर्दछ ।”

यसका अतिरिक्त सरकारी अस्पतालमा शल्यक्रिया शुल्क केही सस्तो हुन्छ भने निजीमा केही महँगो पर्दछ । यो मुख्य (मेजर) शल्यक्रिया गरेर प्रत्यारोपण गर्ने गरिन्छ । उहाँको भनाइमा बढी सङ्ख्यामा ६५ वर्ष नाघेका वृद्धवृद्धालाई यो समस्या पर्ने गर्दछ । जोर्नी खिइएर, बाथ रोगका कारण, चोटपटक लागेर, क्षयरोगजस्ता सङ्क्रामक रोगका कारण र वंशाणुगत कारण यो समस्या देखिने गर्दछ । कतिपय बालबालिकामा जन्मजात यो समस्या देखिने गरेको उहाँको भनाइ छ । अत्यधिक मदिरा र स्टेरियड औषधिका कारण पनि जोर्नीमा समस्या आउने गरेको छ ।

थापाले हाडजोर्नी तथा नसामा स्नातकोत्तर गरेपछि तीन महिना जोर्नी प्रत्यारोपणसम्बन्धी दिल्लीको एपोलो अस्पतालमा तालिम लिनुभएको छ । यस्तै भारतकै बैङ्लोरमा मरेका मानिसमा गरिने काडा भेरिक शिक्षा पनि उहाँले लिनुभएको छ ।

यस्तै भारतकै मुम्बई र हैदारावारमा रानावत कन्फ्रेन्ससँगै उहाँले प्रत्यारोपणको काम अघि बढाएको जानकारी दिनुभयो । यस खालका तालिम नेपालमा पनि हुने गरेका छन् । ती अधिकांश तालिममा थापाको सक्रिय सहभागिता हुने गरेको छ ।

नेपालमा प्रत्यारोपणमा विज्ञ चिकित्सक कम भएको जनाउँदै उहाँले समस्या लिएर धेरै बिरामी आउने गरेका बताउनुभयो । उहाँको भनाइमा सरकारले अन्य जटिल रोगमा झै जोर्नी प्रत्यारोपणमा पनि सुविधा दिएमा धेरैले राहत पाउने थिए । आर्थिक अभावकै कारण प्रत्यारोपण गर्न परेर पनि यो सुविधा पाउन नसक्ने धेरै भएको डा थापा बताउनुहुन्छ ।

एक पटक प्रत्यारोपण गरेपछि १५ देखि २५ वर्षसम्म काम गर्ने गरेको उहाँको अनुभव छ । विदेशमा भन्दा कम खर्चमा यही उपचार हुने भएकाले नेपालमै उपचार गर्न उहाँ सुझाव दिनुहुन्छ । दीर्घरोगबाट बच्न, योगा, व्यायाम गर्न, अत्यधिक मदिरा सेवन नगरेमा केही हदसम्म जोर्नीको समस्या कम गर्न सकिने थापाको भनाइ छ । नेपालमा जोर्नी प्रत्यारोपणसम्बन्धी सचेतना कार्यक्रम कम भएको चिकित्सक बताउँछन् । विदेशमा साना साना जोर्नी प्रत्यारोपण र रोबटिक प्रविधि हुने गरेको भन्दै उहाँले नेपालमा यसको थालनी भइनसकेको बताउनुभयो ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope