गुरु (कथा)


रक्सी पिउँदै पाँच जनाबीच चलेको रक्सी गफले छेवैमा बसेर रक्सी पिउँदै गरेको जितेन्द्रलाई के कारणले हो छोयो । धेरै भयो जितेन्द्रले पनि पिउन थालेको । स्कुलमा पढाउन थालेपछि त रक्सी पिउने क्रम अझ बढ्यो । तलब थापेको दिन त होशै गुम्ने गरी पिउँछ ऊ । उसलाई आनन्द लाग्छ रक्सी पिउँदा । जिन्दगीका छट्पटी बिर्सिन्छ ऊ केही क्षणलाई । राती अबेर कोठामा पुग्दा सधैँझैँ स्वास्नी, छोराछोरी सबै सुतिसकेका हुन्छन् ।

आज पनि जितेन्द्र कोठामा पुग्दा सबै सुतिसकेका थिए । उसले बत्ती बाल्यो । सबै मस्त निद्रामा थिए । छोराछोरीको अनुहारमा एक नजर दियो । थुप्रै प्रश्नहरू मुख आँ गरेर खाउँलाझैँ गरी छोराछोरीको अनुहारभरि बसेझैँ लाग्यो उसलाई । खाना खाने कुरै भएन, रक्सीले पूरै पेट ओगटेको थियो । बेडमा पल्टियो ऊ । छोराछोरी अनि श्रीमतीका प्रश्नहरूको जुलुसले उसलाई सुत्नै दिएन । लखेटिरहे ती प्रश्नहरूले जितेन्द्रलाई ।
‘होमवर्क गर्न गाह्रो भो बुवा, खै किताब किनिदिएको ? जुत्ता च्यात्तिएर लाउनै मिल्दैन, नयाँ जुत्ता खै ? एउटै कापीमा सबै विषयको होमवर्क गर्नुपर्छ । सरले विषय अनुसारको अलगअलग कापी चाहिन्छ भन्नुहुन्छ, खै कापी किनिदिएको ? एक कक्षादेखि बोकेको ब्याग सानो भैसक्यो किताब बोक्नलाई, खै नयाँ स्कुलब्याग किनिदिएको ? मेरो फ्रक पनि छोटो भैसक्यो । लाउनलाई अप्ठेरो भयो । नयाँ फ्रक चाहियो । कहिले सिलाई दिने ?’

दिमाग कोतर्ने र उसलाई लाचार बनाउने छोरीका बग्रेल्ती प्रश्नहरूले जितेन्द्रको निन्द्रालाई भगायो । छोराका गुनासाहरू पनि त्यति नै छन् । उमेर अनुसारका उसका पनि रहरहरू छन् । किसिम किसिमका खेलौनाका माग छन् । छिनछिनमा थरीथरीका खानेकुरा चाहिन्छ उसलाई । दोकान लग्यो कि कम्तीमा पाँच सयको चिजबिज माग्छ । तर बाउको खल्तीले दस रुपैयाँभन्दा बढी खर्च गर्ने हैसियत राख्दैन छोराले जति नै कसरत गरे पनि । जितेन्द्रकी श्रीमतीको रहर, आवश्यकता अनि असन्तुष्टि बगरका ढु्ङ्गा सरि अनगिन्ती छन् । पछिल्लो समयदेखि ती चुपचाप तर कुनै दिन बिस्फोट हुने पर्खाईमा थन्किएका छन् ।

प्राइभेट स्कुलको तलबले सबै धान्नु छ जितेन्द्रले । अरु पनि धेरै छ उसले दैनिक जीवनमा मिलाउनु, जुटाउनु पर्ने ।

विवाह अघि पनि दैनिक आवश्यकता पूरा गर्न हम्मे हम्मे थियो उसलाई । त्यसैैले विवाह भन्नासाथ ऊ भागेर हिँड्थ्यो, डराउँथ्यो । मर्नुअघि जितेन्द्रको बिहे हेर्ने उसको बाउको रहर अनि ढिपीका अघि कसैको केही लागेन । परिवारले दुलही खोजी विवाह गराई दिए जितेन्द्रको अनिच्छाका बाबजूद । जिन्दगीदेखि सधैं रिसाइरहने जितेन्द्र विवाह पछि झन् विरक्तियो । त्यसै बेलादेखि रक्सी प्यारो हुनथालेको हो उसलाई ।
स्नातक तहको पढाई पूरा गरेको थियो उसले । जागिरका लागि निकै भौँतारियो । बाक्लो बेरोजगारी, लाख कोसिस गर्दा पनि जागिर मिलेन । उसका धेरै साथीहरू विदेशतिर लागे । अहम्ले उसलाई विदेश जान रोक्यो । केही पुँजी लगाएर सानोतिनो व्यापार गर्न थाल्यो उसले । गम्भीर राजनीतिक संक्रमण गहिरिँदो थियो देशमा । वास्तवमा व्यापारको उचित माहोल नै थिएन । नेपाल बन्द ‘रुटिन’ बनेको थियो । दैनिकी नै असहज थियोे । व्यापार डुब्यो, त्यो सँगै ऊ पनि । डुबान गहिरो थियो । व्यापारको लागि भनेर बैंकबाट लिएको कर्जा तिर्नै पथ्र्यो, बैंकले छोडेन । भएको सानो टुक्रा जग्गा बेच्न बाध्य भयो ऊ । केही गर्छु भनेर सोचेको थियोे तर भयो अर्कै । बाउले दुःखले कमाएको सम्पत्ति हेर्दाहेर्दै सकियो । परिवरको ढाड भाँचियो । बाउ त त्यसैको पिरले परमधाम भए । परिवारमा परेको बज्रपातले जितेन्द्रलाई गहिरो निराशामा धकेलिदियो ।

जिन्दगी संघर्ष हो, संघर्ष गर्दै अघि बढ्नुपर्छ भन्ने चेत नै गुमायो उसले । ऊ झन्झन् पुरियो, गुम्सियो निराशाको बाक्लो कालो बादलमा । परिवारलाई खेदेको खेदेकै गर्यो नियतिले । केही समयपछि आमा पनि खसिन् । दिदीले पनि घर खान सकिनन् । तर पनि ढलेन जितेन्द्र । मात्र हाँस्न बिर्सियो उसले । हमेशा निराशाका बादल बोकी बाँकी जिन्दगी घिसार्न थाल्यो । रक्सी झन्झन् प्यारो बन्यो । भएको घरबारी दिदीलाई छोडेर शहर पस्यो । के गर्छु ? कसरी चल्छु शहरमा ? ऊसँग कुनै योजना थिएन । केही साथीहरू सानोतिनो जागिर गर्दै शहरमा बस्थे । उनीहरूको सहयोगमा एउटा बोर्डिङ स्कुलमा पढाउन थाल्यो । अनि, श्रीमती र छोराछोरी पनि तान्यो शहरी भीडमा । त्यसपछि स्कुले जागिरले चार जनाको जीवनलाई घिसार्न थाल्यो जसोतसो ।

बिगत मेटिएको रहेनछ, धमिलिएको रहेनछ । ती सबै एकपछि अर्को गरी उसका आँखामा प्रष्ट आए । आजको रक्सीको गतिलो नसामा । र त्यसले उसलाई रुवायो पनि । अमिलो आँसुले उसका दुवै आँखा पुरिए । मुस्किलले निदायो त्यस रात जितेन्द्र ।
श्रीमतीले सधैं सम्झाउँछिन् जितेन्द्रलाई— “रक्सी नखानु । रक्सीखाने पैसाले धेरै कुरा टर्छ । आफ्नो स्वास्थ्य पनि बिग्रिँदैन । अझ शिक्षक पो तपार्इं त । आफ्नो इज्जतको ख्याल गर्नुपर्छ ।”

अब त छोरी पनि ठूली भइसकेकी छिन् । धेरै कुरा बुझ्छिन् । छोरीले पनि आफ्नै तरिकाले जितेन्द्रलाई सम्झाउँछिन् ।
सबै थाहा छ जितेन्द्रलाई । सुन्छ ज्ञानी बालकझैं र भन्छ— “तिमीहरूको सुझावले मलाई छुँदै छुँदैन जति रक्सीले छुन्छ । रक्सी मेरो दर्दको दबाई हो । साथी हो । तिमीहरूले के बुझ्थ्यौं । मेरो छट्पटीलाई यसले बिर्साई दिन्छ ।”

यसरी ऊ रक्सीलाई धेरै माया गर्छ । छोड्नै सक्दैन । परिवार हार खान्छन् ।

रक्सी खाए पनि परिवारलाई जेनतेन पालेको छ उसले । रक्सी खाने बानीबाहेक शिक्षकमा हुनुपर्ने लगभग सबै गुण छ जितेन्द्रमा । विद्यार्थीले अब्बल गुरुका रुपमा उसलाई आदर गर्छन् । विद्यार्थीलाई सम्झाई बुझाई पढाउने अद्भूत कला छ उसमा । विद्यार्थी पढाउन उसलाई बढो आनन्द लाग्छ । आफ्नो पेशाप्रति कुनै पूर्वाग्रह छैन । असन्तुष्टि छ त केवल उसले पाउने तलबदेखि जुन सारै थोरै छ । परिवारका सामान्य आवश्यकता पनि पूरा गर्न हम्मेहम्मे पर्छ उसलाई । दिन प्रतिदिन परिवारका आवश्यकता र माग बढ्दै गएका छन् । उसको तलबको आकार ज्यूँकात्यूँ छ । प्राइभेट स्कुल शोषक लाग्छ उसलाई । श्रम शोषण गर्छ स्कुलले भन्छ ऊ । असन्तुष्टि, निराशा, छट्पटी उसको जिन्दगीमा थपिँदै जान्छन् समयसँगै । तिनै थुप्रो लागेका निराशा, असन्तुष्टिले डो¥याउँछ उसलाई सम्साँझै रक्सी भट्टी । तिनै नियतिले दिएका चोटलाई भुलाई दिन्छ रक्सीले केही छिनलाई भए पनि । थाहा छ रक्सीका बेफाइदाहरू उसलाई । कति बाध्यता छन् । कति उसका कमजोरी छन् । मिलाउन खोज्छ जिन्दगी । तर मिल्दै मिल्दैन या मिलाउन जान्दैन ऊ । विवश बन्छ । निराश बन्छ । अनि लम्किन्छ फेरि उही रक्सी भट्टीतिर । निराशाकाबीच जिन्दगी चल्दैछ जसोतसो । ठान्छ, जिन्दगीलाई ऊ ठीक ठाउँमा ल्याउन सक्दैन । त्यसै छोडिदिएको छ जिन्दगीलाई । झन्झन् असङ्गत बन्दै छ उसको जिन्दगी ।

क्रमचल्दो छ— स्कुल जाने, पढाउने, आउने, रक्सी भट्टी जाने, पिउने, अबेर राती कोठा फर्किने । केही परिवर्तन छैन ।

आज महिनाको पहिलो हप्ता । तलब बुझेको दिन । साँझ पनि पर्यो । लाग्यो मन बहलाउन भट्टीतिर जितेन्द्र । भट्टी पसले सिकिस्त बिरामी परेछ । सधैँको भट्टीपसल बन्द । रन्थनिएर अरु कुनै भट्टी पसल खोज्न थाल्यो । अलिक पर भेट्यो अर्को रक्सी पसल । छिर्नासाथ एक बोतल रक्सी माग्यो सितनका साथमा । मीठो रहेछ रक्सी । दुई बोतल सिध्याएको थाहै पाएन । थप एक बोतल रित्यायो । विचारशून्य गहिरो नसामा डुब्यो ।
समय पनि निकै बितेछ । कोठा जाने तर्खर गर्यो । बिल तिर्न काउन्टर पुग्यो । पैसा तिरिसकेको मात्र के थियो— “ए, सर पो हुनुहुँदो रहेछ । रक्सी खानु हुँदैन । रक्सी शरीरको लागि हानिकारक छ भन्दै आजै पढाउनु भएको होइन ? तर आफैँ रक्सी खानुहुँदो रहेछ त !” उसैले पढाउने विद्यार्थीको रक्सी पसल पो रहेछ । अहो, कस्तो नियति ! कस्तो विडम्बना ! कस्तो असंगति ! कस्तो लाचारी ! खाएको रक्सीको सबै नसा एकैचोटि उत्रियो । पैसा तिरेर रन्थनिँदै कोठातिर हानियो ।

सधैँझैँ सबै सुतिसकेका थिए । ऊ ओछ्यानमा पल्टियो । अघिको विडम्बना आँखा अगाडि आएर नाँची दियो । हाँसी दियो । ‘खुच्चिङ’ भनी खित्खिताई दियो । जिन्दगीले लाचारभन्दा लाचार बनायो उसलाई । बेकार लाग्यो जिन्दगी । पूर्व पश्चिम उत्तर दक्षिण कहीँ कतै नमिलेको, बेढङ्गको । यसै, विना अढेस झुन्डिएको । त्यसै अल्झिएको । प्वालै प्वाल परेको । छि ! बेकारको । कामै नलाग्ने । खोटैखोट । घीनलाग्दो । दिक्दारलाग्दो जिन्दगी ! उकुसमुकुस भयो जितेन्द्र ।

केही सुरताल भेटेन । आजको घटना जिन्दगीकै कहालीलाग्दो घटना बन्यो उसका लागि । आँखा वरिपरि फनफनी घुमे ती घटना । धैरै कुरामा तालमेल नभेटेको उसले आज पढाउने कुरामा पनि तालमेल भेटेन । पढाउनु छ एक थोक, गर्नु छ अर्कै । यस कुराको हेक्का आजसम्म जितेन्द्रलाई महसुुस भएकै थिएन । आजको घटनाले बल्ल बोध भयो उसलाई । आत्मग्लानीले भत्भती पोल्न थाल्यो । रिगँटा छुटेझैँ भयो । गिदी खल्बलियो । कहिल्यै यति सारो विवश अनि लाचार बनेको थिएन जितेन्द्र ।

“कुन मुखले भोलि विद्यार्थीलाई पढाउने ? स्कुलमा पढाउँदिन अब म । छोडिदिन्छु पढाउने काम । रक्सी खाँदै कसरी पढाउनु ? विद्यार्थीबाट आदर्श गुरुको मान–सम्मान कसरी थाप्नु ? के एक रक्स्याहा गुरु बन्न सक्छ ?” घोच्न थाल्छन् जितेन्द्रलाई तिखा तिखा प्रश्नहरूले ।
स्कुलमा नपढाए अर्को विकल्प के छ त ? रोजगारको अवसर खै ? व्यापारै गर्नलाई पनि पुँजी खै ? व्यापार गर्ने वातावरण खै ? भएको जागिर छोडेर, खाने के ? गर्ने के ? अनि परिवार पाल्ने कसरी ? आजदेखि पढाउने काममा मोहभङ्ग भए पनि विवशताले कहाँ सजिलै त्यसो हुन दिन्छ र उसलाई ।

ठूलो कसरत पर्छ दिमागलाई ठण्डा राख्न । रात कति बित्यो, उसलाई के मतलब । दिमाग ठेगानमा राख्नु छ । जेनतेन भए पनि परिवार पाल्नु छ । असङ्गत जिन्दगीलाई सकिन्छ भने केही मात्रामा भए पनि मिलाउनु छ । रातभर स्कुल पढाउने वा नपढाउने दोधारको ठुलो कुस्ती चल्छ । अन्ततः एउटा मेसो ठम्याउन पुग्छ ऊ ।

भोलिपल्ट जितेन्द्र सबेरै स्कुल पुग्छ । अफिसमा एक्लै व्यस्त थिए प्रिन्सिपल । अफिसभित्र पस्दै अभिवादनका साथ प्रिन्सिपललाई जितेन्द्र बिन्ती गर्छ— “सर, नैतिक शिक्षा विषय पढाउन नसक्ने भए । त्यस विषयको साटो अरु कुनै विषय पढाउँछु । विषय चेन्ज गरिदिनु पर्यो ।”

(अध्यापन पेशामा संलग्न दिवश टेलिभिजन कार्यक्रम प्रस्तोता समेत हुन् । कथा पठन र लेखन दुवैमा उनको गहिरो रुचि छ ।)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope