प्रज्ञा गजल महोत्सव

नेपाली गजल इतिहासका युवाकवि मोतिराम भट्टको १५६औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागले आज ‘प्रज्ञा गजल महोत्सव–२०७८’ को आयोजना गरेको छ ।
प्रतिष्ठान परिसरमा रहेको मोतिराम भट्टको प्रतिमामा माल्यार्पण गरेर सुरु कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ३० वर्षको छोटो उमेरमै नेपाली वाङ्मयमा मोतिराम भट्टले योगदान गरेको विषयलाई स्मरण गर्न कार्यक्रममा उपस्थित भएको बताउनुभयो । उहाँले एउटा कालखण्डमा मोतिरामका केही योगदान भएको उल्लेख गर्दै त्यसले आधुनिक नेपाली साहित्यको विकास मात्रै नभएर समग्र नेपालकै विकास र समृद्धिमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले युवाकवि मोतीराम भट्टको जीवनी र विशेषता उल्लेख गर्दै मोती जयन्तीको अवसर पारेर गजल महोत्सव आयोजना गरिएको बताउनुभयो । प्राज्ञ डा देवी नेपालले कार्यक्रमको औचित्य तथा युवाकवि मोतीराम भट्टको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो ।
नेपाली कवितालाई शृङ्गारिक धारामा लेख्न सुरु गर्ने मोतीरामलाई गजल नवप्रवर्तक मानिन्छ । कार्यक्रममा गजलकार सुवास अगमले भर्चुअल माध्यमबाट मोतीराम भट्टको गजल गाएर सुनाउनुभएको थियो भने गजलकार सूर्य चापागार्इंले भौतिक उपस्थितिमै मोतीरामको अर्को गजल गाएर सुनाउनुभएको थियो । अन्य गजलकारले पनि गजल प्रस्तुत गर्नुभएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस