बार्दली र बा (कविता)

मैले बार्दलीबाट बोलाएपछि
उनले सुनिन् कि सुनिनन् ?
उनले बुझिन् कि बुझिनन् ?
यी सबै कुरा गर्न त्यो पर्दैन।
म त बा पो त
छोराछोरी ,नातिनातिना ,
सबैको बा।
मेरो सम्बोधन बालुवाटारबाट नभएर के भो?
बालकोटको बार्दलीबाट त गरेकै छु नि
मैले त अमेरिकासँग हस्ताक्षर गरेकै छु
भारतीय “र”लाई भेटेकै छु
चीनलाई मनाएकै छु
नेपाली जनतालाई ताते गराएकै छु
म त सबैको बा पो त
बाको आदेश नमान्ने
देशप्रेमी होइन
म जस्तै संसद बिघटन गर्ने
कानुन अर्थ्याउने
बार्दलीमा कराउने हुनुपर्छ।
‘बा अब उठ्नुस’ भन्दै कराउँछ बैगुनी केटो
उ फकाउँछ
चिमोट्छ
पिलिक्क बत्ती बालिदिन्छ
बार्दलीबाट देखिने पल्लो घरबाट
आमै कराउँछिन्
बालाई नजिस्काऊ
बैगुनी केटो आमै फकाउन पुग्छ
आमै भन्छिन्- बैगुनी केटो अब त्यो पर्दैन।
( प्रदेश नं १, सुनसरीका कवि नवराज मैनाली अत्यन्त सक्रिय सामाजिक अभियन्ता पनि हुन्। उनको ‘नयाँ युगको खोजी’ कविता कृति प्रकाशित छ। )
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस