भोजपुरका किसानलाई उत्पादित दूध बजारसम्म लैजान किन समस्या


भोजपुर पशुपालनका लागि उपयुक्त जिल्ला मानिन्छ ।

वन जङ्गल तथा प्रशस्त घाँसेमैदान भएको कारण पनि यो जिल्ला पशुपालनका लागि राम्रो रहेको पशुविज्ञको भनाइ छ । भोजपुरमा दूध तथा दुग्धजन्य वस्तुको भने अभाव नै रहन्छ । कारण हो, बजारीकरण, प्रोत्साहन तथा व्यावसायिक धारणाको अभाव ।

व्यावसायिक रुपमा केही किसानले दूध उत्पादनको लक्ष्य लिएर व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् तर ती कृषक पनि लगानी तथा मिहिनेतअनुसारको आम्दानी लिन नसकेको गुसानो गर्छन् । उनीहरुलाई उत्पादित दूध सहज रुपमा बजारसम्म लैजाने वातावरण छैन । सदरमुकाम आसपासमा पर्ने बोखिम, दावा, पोखरे, खुरिला, ढुङ्गेलगायत ठाउँका मानिस पराम्परागत रुपमा भए पनि पशुपालन व्यवसाय गरिरहेका छन् तर उनीहरुमध्ये बजारमा ल्याएर दूध बिक्री गर्न कमै मात्र उत्सुक देखिन्छन् ।

ग्रामीण भेगमा प्रशस्त मात्रामा दूधको उत्पादन भए पनि सडक तथा अन्य विविध कारणले किसानले बिक्री गर्न असम्भव छ । बजारमा लैजान समस्या हुने भएपछि ती भेगका मानिस खास व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छैनन् । स्थानीय सरकारले उपयुक्त वातावरण मिलाइदिए व्यावसायिक रुपमा लाग्ने किसान बताउँछन् ।

बजारसम्म दूध ल्याएर बेच्न किसानलाई सडकको समस्या छ । केही समय बजारमा ल्याएर दूध बेच्न थालेका किसान पछिल्लो समयमा आएर बेच्न छाडेको अनुभव सुनाउँछन् । एकदेखि डेढ घण्टा लगाएर बिक्री गरेको दूधको खास आम्दानी नहुने भोजपुर नगरपालिका–५ बोखिमका भैँसीपालक कृषक रुपनारायण फुयाँलले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले केही समय बजारमा लगेर दूध बेचँे । आउँदा र जाँदा एक जनाको बिहान बित्छ । बजारका होटलमा लग्यो नियमित रुपमा लिँदैनन् । डेरीहरुले पनि असार पन्ध्र, तीज लगायतका समयमा भने जति पनि लिन्छन् अरू बेला यो वा त्यो बहाना बनाएर किसानलाई दुःख मात्र दिएको देख्छु । त्यही भएर पनि मैले दूध बिक्री गर्न छाडे । हाम्रो टोलमा व्यावसायिक नभए पनि एक घरमा आठ÷दस लिटर दूध उत्पादन हुन्छ ।”

व्यावसायिक रुपमा दुग्ध व्यवसाय सञ्चालन गरेकाहरुले दही, घ्यू, पनिर, छुर्पी लगायतको मूल्य बर्सेनि बढाए पनि दूधको मूल्य बढाएर दिन नमान्ने समस्याले पनि दूध बिक्री गर्न छाडेको अर्का स्थानीय कृषक हर्कलाल लुइँटेलको भनाइ छ । उहाँको प्रश्न थियो, “हामी कृषकले उद्योगमा लगेर बिक्री गर्दा रु ४५ देखि ५५ पाउँछाँै । मैले बिक्री गर्न थाल्दा यही मूल्य थियो । उद्योगले प्रतिकेजी आठ सयमा बिक्री हुँदै आएको घ्यूको मूल्य रु एक हजार दुई सय, पनिर आठ सय र रु ८० मा बेच्दै आएको दही रु ९० पुगेको छ । तर दूधको मूल्य बढाउन व्यवसायी मान्दैनन् । हामी किसान मारमा छौँ । यो कसले सुनिदिने ?”

दूधको बजारको व्यवस्थापन गर्न विभिन्न ठाउँमा कलेक्सन केन्द्र स्थापना गर्ने भन्दै चिलिङ भ्याट राखिएका छन् ती लाखौँका सामग्री प्रयोगविहीन भएका छन् भने उत्पादन भएको दूध खेर गइरहेको किसान बताउँछन् । दुग्ध उद्योग क्षेत्रकोे विकासका लागि प्रदेश सरकार तथा पशु र कृषि कार्यालयले प्रोत्साहन गर्दै आएका छन् । तर अनुदान लिएका उद्योगी तथा व्यवसायीले यस क्षेत्रको विकास र विस्तारमा लगानी गर्न नसकेको स्थानीयवासीको भनाइ छ ।

सरकारले अनुदानको कार्यक्रम सञ्चालन गर्दा अनुगमन तथा प्राथमिकतालाई कडाइका साथ पालन गराउनु पर्ने आवश्यक रहेको उनीहरुको ठहर छ । उद्योगको विकास विस्तार गर्नुको सट्टामा व्यवसायी अनुदानमुखी बन्दा उद्योगको विकासभन्दा पनि व्यक्तिलाई मात्र लाभ पुगेको सरोकारवाला पक्षले बताउने गरेका छन् । समय÷समयमा यहाँका दुग्ध उद्योग तथा व्यवसायीहरुले विभिन्न ठाउँबाट अनुदान सहयोग पाएका छन् तर ती उद्योगहरुले खास उपयुक्त ढङ्गले यस क्षेत्रको विकासमा लगानी नगरेको स्थानीयवासीको भनाइ छ ।

बजारमा विभिन्न समयमा दूधको अभाव हुनुमा व्यवस्थापन राम्रो नभएको कृषकको भनाइ छ । यहाँ उत्पादन भएको दूधलाई बजारीकरणका लागि सहजता प्रदान गर्न सके बजार धान्न समस्या नहुने किसान रामबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही व्यवसायीहरुले नाफालाई मात्र ध्यान दिएर यहाँको उत्पादनलाई प्राथमकिता दिन छाडेर बाहिरबाट दूध ल्याएर बेच्छन् । नियमित रुपमा दूध लिन नमानेपछि किसानले बजारमा दूध ल्याउन छाडेको अवस्था पनि छ । स्थानीय सरकार तथा अन्य पक्षले बजारीकरणमा ध्यान दिँदै दूधको बिक्रीको सुनिश्चिता गर्न सकेमा यहाँको उत्पादन बाहिरसम्म पठाउन सकिन्छ ।”

करिब १० वर्षअघिबाट भोजपुर बजारमा गणेशथान दुग्ध उद्योग सञ्चालन गर्दै आउनुभएका ज्ञानबहादुर कार्कीले बजारमा माग धान्न नसकेको बताउनुभयो । किसानमा दूध बिक्री गर्ने धारणा अझै विकास हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो ठाउँका किसानमा दूध बिक्री गर्ने बानीको विकास हुन सकेको छैन । सबै किसानले बिक्रीका लागि ल्याउने हो भने बजारको मागलाई पूरा गर्न सकिन्छ । उनीहरुमा अझै पनि बिक्री गर्नुभन्दा आफैँले घ्यू बनाएर बेच्दा फाइदा हुने धारणा छ । जसका कारण हामीले धनकुटाबाट दूध–दही ल्याएर बजारको माग पूरा गर्नुपर्ने अवस्था छ ।”

किसानले बजारसम्म दूधलाई ल्याउन नमानेपछि आफैँले मोटरसाइकलबाट ६ किलोमिटर टाढाबाट दूध ल्याउने गरेको कार्कीले बताउनुभयो । “किसानमा दूध बिक्री गर्नुपर्ने खास धारणाको विकास भएको छैन । उनीहरुलाई बिक्रीका लागि बानी पार्न दैनिक त्यहाँको सङ्कलन केन्द्रमा पुगेर दूध ल्याउँदै आएको छु”, उहाँले भन्नुभयो । नगरक्षेत्रको बाटो भएपनि मोटरसाइकलमा धेरै जोखिम मोलेर दूध बोक्ने गरेको कार्कीको भनाइ छ । “बाटो खराब भए पनि किसानसँग गरेको सम्झौताअनुसार मैलै दैनिक सङ्कलन केन्द्र पुग्नुपर्ने हुन्छ । हामीजस्तो व्यवसायी तथा स्थानीयवासीको समस्यालाई ध्यानमा राख्दै त्यो कच्ची सडकलाई नगरपालिकाले मर्मत गरी दिए धेरै राम्रो हुने थियो”, उहाँले भन्नुभयो ।

भोजपुर नगरपालिका–४ दावाका किसान गणेश विष्टले पनि मोटरसाइलमा ल्याएर दैनिक बजारमा ३५ देखि ४० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । उहाँले इलामबाट उन्नत जातको गाई ल्याएर पालन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक रुपमा गाईपालन गरेर बजार ल्याएर दूध बिक्री गर्दै आएको छु । कच्ची सडक हिलाम्य बन्दा पिठ्यूँमा बोकेर मुख्य सडकसम्म लैजानुपर्ने अवस्था छ ।”
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope