रोग बनेर आए

विक्षिप्त भै संकटमा डरायो
नेपालको गौरव लर्बरायो ।
नेतृत्वको शोषण फेरिएन
नयाँ व्यवस्थापन झल्किएन।१।
गए बिराला अझ श्वान अाए
उन्मत्त भै शोषण गर्न पाए।
भए सबै सिंहसमान स्याल
गर्ने भए स्याल अझै कमाल।२।
सुरा कुरा गर्न सबै जुटाए
सडे गले डुङ्ङ अझै गनाए।
यस्ता फटाहा पनि उच्च मान्छे
भन्दै बन्यौ कि मतियार भान्से।३।
संघीयता वा गणतन्त्र कस्तो?
सुन्दा सुनौलो तर काम यस्तो।
कल्याणका कार्य सबै हराए
समाजका रोग बनेर आए ।४।
खाए पिए मद्य यतै रमाए
ठूलाबडा देश चिथोर्न थाले।
उन्मत्त छौ डस्न चिथोर्न थाल
यो देशको गर्नु छ देखभाल ।५।
(इन्द्रावती ५,सिन्धुपाल्चोकका कवि आचार्य छन्दोबद्ध कविता रचनामा सक्रिय छन्। उनका ‘प्रतीक्षाका पाइला’ र ‘काव्य संवाद’ कविता सङ्ग्रह प्रकाशित छन्।)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस