पण्डित

जाने घुम्न भनेर ती वचनले सोध्थ्यौ सदा मन्दिर
भन्थे पायक पर्छ यो नगरमा जाने भए मस्जिद ।
बोक्ने काँध जनै हरेक शिरले राखी शिखा मुण्डित
तिम्राे पालन मौलवी नगरमा मेरा सबै पण्डित ।।१।।
बुर्का शासन गर्छ ती अधरमा कालो तिमी औसत
मेरो मोटर घुम्न जान्छ दिनमा जोखेर ती फुर्सद ।
हाम्रो वेद ऋचा सुनेर जहिले भन्छौँ पढौ खण्डित
तिम्राे पालन मौलवी नगरमा मेरा सबै पण्डित ।।२।।
हाम्रो वेद र ती कुरान वरमा खोज्दैछु दूरी सदा
मेरो यो अनुयोग दुष्ट कविता श्रोता तिमी सर्वदा ।
कान्ता संस्कृत भाव पढ्नु जहिले उर्दू स्वयं मण्डित
तिम्राे पालन मौलवी नगरमा मेरा सबै पण्डित ।।३।।
सन्ध्या पूर्ण गरी नमाज कसरी पढ्ने भनी खोज्दछु
खोजीको कविता तथा गजलका पन्नाहरू रोज्दछु ।
राम्रो वाचन गर्दछौ स्वनिमले शार्दूलविक्रीडित
तिम्राे पालन मौलवी नगरमा मेरा सबै पण्डित ।।४।।
पूजा पूर्ण गरी नमाज घरमा पढ्ने भनी सर्थ भो
खेला हुन्छ भनेर पूर्ण मनले थाहा दियो अर्थको ।
मान्दैमा रमजाम पञ्चक दुवै माया भयाे खण्डित
तिम्राे पालन मौलवी नगरमा मेरा सबै पण्डित ।।५।।
अल्ला दैवत प्रेम पूर्ण हुनुमा इस्लाम हिन्दू दुवै
बद्रीनाथ घुमेर साथ मदिना घुम्ने छ आशा खुबै ।
हामी मिल्न सदा विवाह प्रणले रोज्ने गरौँ दण्डित
तिम्राे पालन मौलवी नगरमा मेरा सबै पण्डित ।।६।।
(लेटाङ-२, मोरङका युवा कवि सोमनाथ दाहाल छन्द कविता सिर्जनामा रमाउने सर्जक हुन्। उनका कवितामा लालित्य र युगबोध घनीभूत पाइन्छ ।)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस