संविधानको छ वर्षः कार्यान्वयनमा सचेत हुन आवश्यक


वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गरिने कुरा संविधानको प्रस्तावनामै उल्लेख छ । तर त्यसको कार्यान्वयनमा भने अझै चुनौती देखिएको छ ।

संविधानद्वारा प्राप्त अधिकारको कार्यान्वयनका लागि जनताले संविधान पढ्नु पर्ने विभिन्न व्यक्तिले औँल्याएका छन् । सातौँ संविधान दिवसको अवसरमा विभिन्न व्यक्तिले संविधान जारी भएसँगै जनताको घरदैलोमा सिंहदरबार पुगेको भनिए पनि जनताले अझै संविधानले के के अधिकार दिएको छ भन्ने थाहा नपाएकाले स्थानीय तहले आफ्नो टोलटोलमा जनतालाई संविधानले दिएको अधिकारका बारेमा जानकारी गराउँदै सबै ठाउँमा पूर्णरुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताएका हुन् ।

भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले संविधान माथि विभिन्न तत्वले आक्रमण गरिरहेको भन्दै संविधानको मर्मलाई गलत व्याख्या गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानलाई आन्तरिक र बाह्य शक्तिले पटक पटक चुनौती दिइरहेका छन्, संविधानको गलत व्याख्या गर्ने र निर्णय गर्ने प्रचलन पछिल्लो समयमा भएको छ, संविधानको सही व्याख्या गर्दै कार्यान्वयनमा कडाइ गर्नु आवश्यक छ ।”

संविधान सबैको साझा दस्तावेज भएको भन्दै कहीँकतै विभेद भएको पाइए सच्याएर जान सकिने बताउँदै उहाँले संविधान माथिको प्रहारलाई रोक्नुपर्ने बताउनुभयो । बागमती प्रदेशसभा सदस्य शशीजङ्ग थापाले संविधानको मर्मलाई बुझाउन अझै आवश्यक रहेको भन्दै संविधान कार्यान्वयनमा आएका चुनौतीलाई हटाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका भक्तपुर जिल्ला सचिव किरण न्यौपानेले संविधान कार्यान्वयन पूर्णरुपमा हुन नसकेको आँैल्याउनुभयो । उहाँले संविधान दिवस मनाइरहँदा देशको तल्लो निकायदेखि माथिल्लो निकायसम्म संविधान पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल मजदुर किसान पार्टीका नेत्री कमला गिरीले संविधानले विदेशी हस्तक्षेपलाई रोक्न नसकेको बताउँदै सत्ताधारी दलले संविधानलाई पूर्णरुपमा कार्यान्वयनमा चासो नदिँदा दिवसले मात्रै अर्थ नराख्ने टिप्पणी गर्नुभयो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले स्थानीय तहमा संविधान कार्यान्वयन र संविधानले दिएको अधिकारलाई अपव्याख्या गर्दा समस्या आउने गरेको बताउनुभयो । उहाँले संविधानले प्रदत्त गरेको अधिकारलाई अर्को तहले नस्वीकार्ने प्रवृत्तिलाई हटाउनुपर्ने उहाँको भनाइ छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नेपालकै पालिकामध्ये संविधान पूर्णरुपमा कार्यान्वयनमा ल्याउने पहिलो नगरपालिका मध्यपुरथिमि नगरपालिका मात्रै रहेको दाबी गर्नुभयो । उहाँले संविधानको नाममा स्थानीय तहको अधिकारमाथि प्रदेश र सङ्घले हस्तक्षेप गर्ने गरेको टिप्पणी गर्दै संविधानको पूर्ण कार्यान्वयनमा कर्मचारीतन्त्र बाधक भएको आरोप लगाउनुभयो । उहाँले कर्मचारीतन्त्रमा अहिले पनि पुरानै धङ्धङी बाँकी रहेको भन्दै घुमाइफिराइ कर्मचारीले संविधानअनुसार नगई पुरानै ढर्रामा काम लाद्ने गरेको बताउनुभयो । स्थानीय तहलाई संविधानले दिएको अधिकार खोस्ने प्रयास अझै भएको भन्दै स्थानीय तहलाई पूर्णरुपमा स्वायत्त बनाए मात्रै जनताले नयाँ संविधानको मर्मलाई आत्मासात् गर्न पाउने बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संविधानको कार्यान्वयनसँगै गाउँगाउँमा सिंहदरबार पुगेको बताउनुभयो । उहाँले जनताले संविधान कार्यान्वयनमा आएसँगै आफ्नो अधिकार पाएको महसुस स्थानीय तहबाटै गर्न पाएको बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संविधानले दिएको अधिकारलाई जनताले प्रयोग गर्न थालेको भन्दै स्थानीय तहमै धेरै काम गर्न सकिने भएकाले जनताले संविधानको मर्मलाई स्वीकारेको बताउनुभयो ।

शिक्षाप्रेमी एवं प्याब्सन भक्तपुरका सल्लाहकार श्रीकृष्ण केसीले संविधानले दिएको अधिकारका बारेमा कतिपय जनता अझै अनभिज्ञ रहेको र जनताले अधिकार थाहा नपाउँदा उपयोगमा कठिनाइ आएको औँल्याउनुभयो । जनतालाई अब संविधान पढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope