समाचार बन्नुअघि (हाइबुन)

जीवन पैतालाहरूको गाथा रहेछ । मनले चाहेपछि तनलाई जतनसँग मनेलु वतनसम्म पु¥याउने इमानी पैतालाले कहिल्यै स्याबासीचाहिँ पाउँदैनन् । अझ आजका मान्छेका सप्रेका पेट देखेर थर्थरीराम पैतालाको आराधना सुनेर विज्ञानदेवीले चीलगाडी र चलगाडीका अवतार ग्रहण गरेपछिका त कुरै बेग्लै नि ! पेटका लागि मनले चिताएका ठाउँसम्म नपुगोस् मान्छे, तर आँखाका लागि पुगेरै छाड्छ । प्रकृतिका काखमा ढल्केर आकाशको नीरवता र पूmलको सुषमा–सुवास एकसाथ चपाउँछ ऊ आँखाले र अघाउँछ मुटुभरि । हो, खुट्टाको यही कीर्तिकथा लेख्नु छ मैले आज परेलीभरि, यात्राका हरतरेलीभरि । यादहरूको महाकाव्य कालिदासले लेख्नै भ्याएनछन् सायद, अब बिजुली–कलम बोकेर चामलदास चम्कनु बनेको छ । भोलि २०७६ को वैशाख २८ अर्थात् यस यामकै वसन्तको अन्त्येष्टिसँगै मेची कटेर टिस्टाहुँदै पहाडकी छोरी दार्जेलिङ–सुन्दरीका कोमल र मायालु हातहरूको अविस्मारक स्पर्शका पलहरू अहिले नै पलपल गमिरहेछ मन । शरीर ब्युँझनुअघि नै ब्युँझिएर मनका भुराहरू चकचक गर्न थाल्छन् हजुर !
जीवनयात्रा
आँखा, मुटु र दृश्य
वसन्तपर्व
अचम्म, सहरमा भालेहरू कथा हुन थाले अब । विस्थापित गरिदियो प्रविधिले हजुरबाका जमानाको चरी–घडी । मोबिलोमा ककको साटो क्लक मुख तिखारेर बसिरहन्छ । जतिबेर कराउन लाउनुछ त्यतिबेर कराएस् है भनिदिएपछि कराउन मात्र होइन कान समाएर उठाई नै दिन्छ किरिङ … किरिङ । हो, ऊ र म सँगै उठ्यौँ आज । ऊ अर्थात् मेरो क्लके केटो नि !
पोक्याएर नाना केही, हिँड्ने हतारोमा छु । अल्लि हतार भएपछि मेरो स्टेसनमा तनाव हुन्छ, अनि एकान्तागार नगई हुँदैन । बस्, स्याउको शरीर बिगारेसि दाँतले, खुट्टा मोजामा र मोजा जुत्तामा पसे, जुत्ता परेडका निम्ति जुटे । साँचाहरू उठे हत्केलामा, एउटा गेटतिर अर्को भटभटेका निधारमा ठुङ मार्नलाई । यतिका समय साथ दिने सङ्गिनीले पनि छोडिन्, ठीक यही समय जब मैले आसन र श्रीपेच ग्रहण गरेँ । मुखमा नातो कसेर, उसैमाथि बसेर, उसकै कानमा थिचेर, हातखुट्टाको नापो मिलाउँदासम्म चुपचाप छ मेरो चारखुट्टे गुडीघोडा । म एक्लै छैन आज । मसँग दुनियाँका भगवान् बुद्ध छन् । भट्टेकै पुछारमा बुद्धलाई राख्नु रहर नभएर बाध्यता बन्यो । सुताएर ढाडैनेर मेरो, म हिँड्नुअघि उनले भनिन्, ‘अब त बुद्ध पनि सुरक्षित !’ हामी मौन थियौँ । हामी दुवै अर्थात् बुद्ध र म । उनी मेरै ढाडको आडमा सुते । बुद्ध अर्थात् बुद्धको १२० मिलिमिटरको प्रतिमाको कुरा हो यो । म सिङ समाएर होन्डा साइन–सिंहको ढाडमा जोे सवार थिएँ । मेरो सरकार बिस्तारै ओरालो लाग्छ अब पक्का, किनभने समयसँगै चल्न नसक्दा म कहाँ रहन्छु र !
माया गरीगरी सुम्सुम्याएँ, बारबार नरम हातले पालैपालो बुद्धलाई, बुद्धको ओभरकोटलाई । हामी दुवै बिस्तारै राँकिन थाल्यौँ । सडक चुपचाप थियो, पैतालामुनि । पैतालामुनि परेपछि वाचालहरू पनि मौन रहन विवश हुन्छन् । मौनताको प्रथम गुरु सडक, श्मशान र सत्ता सायद ।
मनवनको
मौन कोयल अहा !
मूर्तिबुद्ध ऊ
घाम ब्युँँझनुअघि नै थोेते मकैजस्तो चारकोसे जङ्गल नापियो । धरान र इटहरीका सिंहदरबार ह्वास्स धुवाँ गन्हाए सेउती पुल नपुग्दै । आतङ्ककारी दुर्गन्धलाई मास्कले किन छेक्थ्यो र ?
सम्झँदै बाँकी चार–पाँच दर्जन ‘घन्टा’, मौन सम्वादमा रहँदा पनि गतिशील आँखाहरूमा थुप्रै आकृतिहरू नाचिरहे, बजिरहे घन्टाहरू उस्तै मौन आवाजमा । आत्मीयता सद्भावको भान्जो रहेछ । सद्भाव सुकर्मको सगोत्री । हर्कमान तामाङका ढाकाटोपीका बुट्टाभरि बेले धिमालहरू नाचिरहे । आखिर अक्षर–तरुल पनि कलमका कुटेले नखनी ननिस्कने रहेछन् । मेलोमा पर्व पनि कति आनन्दको हुन्छ है ! बाँचेका रुखहरूले छ–लेनको विकासे डोजरबाट भयभीत भएर नै होला सायद मलाई मलिन भएर हेरे । मैले तिनका पुुर्खाहरूको सघन चारकोसे सम्झेँ । अनि कल्पना गरेँ, सखुवाका नातिले पनि भूपी काकालाई चिन्छन् कि ः ‘बन्दैन मुलुक दुई चार सपूत मरेर नगए’ ।
हाम्रो सम्वादको समय थिएन । तरहरा बन्नका लागि बिग्रेको छ यो बेला । कपाल काटेर व्रतबन्धका लागि तयार छन् बाटे–केटाहरू यतातिर । धुलोले नाकमा र हिलोले जुत्तामा हान्नु यस बेलाको तरहराको विशेषता हो । ‘पूर्वी पृतना’ पुगेपछि त सुरक्षाको अनुभव नहुने कुरै भएन । बुटाका बुटीहरू मासेर इटहरी किन हाँस्थ्यो र ! युवा वृक्षहरूको हत्यामा शोकमग्न चोक चाँडै शोकलाई सामथ्र्यमा बदल्ने सुरसार गर्दैछ । म र बुद्धसँग उसको न अपेक्षा छ न उपेक्षा !
टिप्परका अनुहार देख्नासाथ साँढेसँग बाछाहरू डराएझैँ बिचरा भटभटेहरूको सातो जाने समय हो यो । मेरो साइने–बाछो पनि लुम्सो हुन्छ यी यमराजका दूतहरूदेखि । तर्कंदै तर्कंदै दगुर्नु पर्छ, नत्र त साढे छ बजेको कान्तिपुर एफ.एम.को समाचारले फुकिदिने छ, ‘आज बिहान इटहरीबाट पूर्वतर्फ जाँदै गरेको को ३४ प ६४२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको नम्बर नखुलेको टिप्परले ठक्कर दिँदा बाइकचालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ ।’
समय सत्य
आऊ प्रेम गरौँ है
मृत्यु उवाच
अहह, आफ्नैँ मृत्युको समाचारको प्रुफ रिडिङ गर्दै दगुर्दै छु म । मैले एक हातले चालक अनुमतिपत्र छामेँ र ढुक्क बनेँ । साँझसम्ममा सनाखत भएको समाचार आउने छ । भोलि कलेजमा शोकसभापछि साथीहरूलाई दिनभरि क्रिकेट हेर्ने फुर्सद मिलाउनबाहेक केही उपती गर्न सकिएन जिन्दगीमा ।
मनै चिसो हुने गरीको कल्पना किन आउँछ नि ! आखिर यो दुनियाँमा सबैभन्दा बढी मलाई माया लाग्ने भनेको मेरै त हो । ‘शुभ होस्’ भन्ने कल्पँदा कल्पँदै म ड्याम्मै ठोकिएँ । छाती निकै शीतलो भयो । धन्न यो पटक चाहिँ मसँग बजारिन आइपुगेको टिप्पर नभएर बिहानको ताजा हिमधारे हावा रहेछ ।
——————
(दर्जन बढी पुस्तकका लेखक डा. भीम खतिवडाको ‘गो ब्याक’ हाइबुन कृतिबाट साभार ।)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस