बगरबाट घर खोतलेर बस्न थाले मेलम्चीवासी


गएको असारमा भारी वर्षापछि मेलम्ची खोला गेग्य्रान बोकेर उर्लंदा तहसनहस भएको मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दाले पुरिएका गेगर खोतलेर आफ्ना बास खोजेका छन् । पुरिए पनि कतिपय सग्लै रहेका ती पुरानै थातथलो उनीहरु फर्कन थालेका छन् ।

अहिले नै बस्न मिल्ने अवस्था नरहेको विज्ञको रायका बाबजुद बाढी प्रभावितले आफ्नै प्रयासमा बगर खोतलेर घरको पुनःनिर्माण गरी बस्न थालेका हुन् । केहीले त घरमा बस्न पनि थालिसकेको छन् भने केहीले बगर खोतलेर घरको तल्लो तला खोज्ने कार्य जारी राखेका छन् ।

अस्थायी टहरामा कति समय बस्ने भनेर घर खोजेर आएको उनीहरुको प्रतिक्रिया छ । जाने ठाउँ नै कहीँ नभएपछि बस्न लायक होस् या नहोस्, त्यही घरका बिग्रे भत्केका संरचना निर्माण गरेर आएका हुन् । प्रशासनिक निकायले भने अहिले नै बस्ने बेला नभएको बताउँदै आएका छन् ।

यहाँका घर बस्न लायक छन् कि छैनन् भनेर अझै अध्ययन नहुँदै स्थानीय भने आफ्नो बासमा फर्किएका हुन् । टहराको बास कष्टकर हुनु पनि मुख्य समस्या हो जाडो सुरु हुन लागेकाले थप समस्या पर्ने भन्दै घर नभएकाले भने स्थायी बासको माग गरिरहेका छन् ।

मेलम्ची नगरपालिकाकी मैयाँ दुलालको घर पनि दुई तला पुरिएको थियो । मजदुर र स्काभेटर लगाएर झण्डै एक महिनाको प्रयासमा उहाँले पनि घरको तल्लो सतह फेला पारेपछि अहिले पुनःनिर्माण जारी राख्नुभएको छ । अघिले हप्ताबाट उहाँ घरको माथिल्लो तलामा बस्न थाल्नुभएको छ । अहिले पनि तल्लो तलाको निर्माणको काम जारी रहेको दुलालले सुनाउनुभयो ।

“मर्मतमा मात्रै पाँच÷सात लाख रुपैयाँ खर्च भइसक्यो, अझै कति खर्च हुने हो थाहा छैन”, उहाँले भन्नुभयो, “त्रासका बीच बस्न बाध्य छौँ ।”

उहाँका घरकोे सटर पुरै बिग्रिएको थियो । भित्री भाग पनि कतिपय क्षतविक्षत भएका छन् भने गाह्रो चर्किएको थियो । झ्यालढोका पुरै फुटेका थिए । “के गर्नु अन्त जाउँ ठाउँ छैन, जस्तोसुकै भए पनि बस्नै प¥यो, खोला आए पनि कहाँ जानु, त्यही भएर आफैँले पुनःनिर्माण गरेर बसेको”, उहाँले सुनाउनुभयो । दुई रोपनी खेतसमेत उहाँको बगाएको छ । ठूलो आर्थिक क्षति भए पनि उहाँले पुनःनिर्माण गरेर घर बस्न थालिसक्नुभयो । यहाँका अधिकांशले आफ्नै प्रयासमा घर मर्मत गरिरहेका छन् । इञ्जिनीयरलाई देखाएका छैनन् । घर बस्न लायक छ कि छैन भनेर अध्ययन भएको छैन । घरै नभएका भने अहिले सुकुम्बासी जस्तै बन्न बाध्य छन् ।

दुलालका अनुसार मेलम्चीका रहेका घरका आधाजति मानिस बस्न थालिसकेका छन् । आधा मानिस घर खोतल्दै छन् । धेरैका घर जग्गा बैंकमा राखेको छ । कतिपय ऋणको किस्ता कसरी तिर्ने भनेर चिन्तित छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार प्रारम्भिक आँकडामा नगरक्षेत्रका २४७ घर बाढीले बगाएको छ । कूल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ । उहाँले जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको सुनाउनुभएको छ । अझै क्षतिको विवरण आउनेक्रम छ । “अहिले नै बस्न हुँदैन भनेर सुझाव दिएका हौँ, तर स्थानीय आफैँ खोतलेर घर मर्मत गर्दै बस्न थालेका छन्”, अर्यालले रासससँग भन्नुभयो ।

हेलम्बु गाउँपालिकाको प्रारम्भिक विवरणमा २२७ घर बगेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । कूल दुई हजार १०० रोपनी बढी जग्गा लगेको छ । यहाँको मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय बाढीका कारण मुख्यगरी नगरपालिकाको वडा नं ६, १० र ११ मा ठूलो क्षति भयो । मेलम्ची बजारको खोला तटीय क्षेत्र तहसनहस भएको छ । आसपासका बस्ती विस्थापित छन् । नगरपालिकाले रु ५० लाख हालेर राहत तथा पुनःस्थापना कोष बनाएको र अन्य सङ्घसंस्था र समुदायलाई कोषमा रकम जम्मा गर्न आह्वानसमेत गरेको छ ।

बाढी र पहिराले छियाछिया पारेका मेलम्चीका तटीय बस्ती र अलिक परका गाउँले अझै पनि त्रासमा छन् । माथिल्लो क्षेत्रमा विनावर्षा पनि ठाउँठाउँमा लेदो खस्न रोकिएको छैन । छियाछिया पारेको पहाडबाट सुक्खा पहिरो खस्ने जोखिम कायमै छ । कतै खस्न ठिक्क परेका ढुङ्गा माटोका ढिस्का छन् । खोला किनारको तल्ला तहमा माथिबाट बगाएको बाढीले थुपारेर ठूलो बगर बनाएको छ । खोलाले किनाराका बगर छेउछाउ कटान गर्नेक्रम अहिले पनि जारी छ ।

“तल्लो तटीय क्षेत्र जोखिममा छ, भत्किएको पहाड धेरै बग्न बाँकी नै छ, मेलम्ची र हेलम्बुवासी सुरक्षित छैनन्”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भन्नुहुन्छ ।

कतिपय घर खोलाभित्रै पुरिएका छन् भने कति घर बगाएका छन् । केही ढलेर बसेको र कति घरको चार तलासम्म बगर भरिएको स्थानीय सुनाउँछन् । त्यसको माथिल्लो क्षेत्र हेलम्बुका ठाउँठाउँका खोला किनारसमेत तहसनहस भएपछि विस्थापित अस्थायी टहरामा बसिरहेका छन् । उनीहरु स्थायी बसोबासको माग गरिरहेका छ्न् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मेलम्चीमा पुलका लागि पैसा छुट्याएको छ । खोला बढिरहेकाले काम अघि बढाउन सकिएको छैन । बस्ती पुनःस्थापनका लागि काम भइरहेको छ । घर बनाउनका लागि पहिलो किस्ता निकासा गरिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो तर त्यो सरकारी सानो किस्ता रकम प्रभावकारी हुने देखिँदैन । ठूलो तहसनहस भएकाले माथिल्लो तहदेखि नै व्यवस्थापन नगरेसम्म तल्लो तटीय क्षेत्रमा पुनःस्थापन गर्ने कार्य योजना बनिसकेको छैन ।

“माथिबाट कति बग्छ, कति पुरिन्छ भन्ने कुरा नै यकीन छैन, माथिल्लो तटीय क्षेत्रबाट झरेको र झर्दै गरेको गेग्य्रान तुरुन्तै खनेर हटाउन पनि सम्भव छैन, माथि नै थेग्ने गरी काम गर्ने की फाल्ने हो भन्ने कुरा अध्ययन मैै छ”, पोखरेलले भन्नुभयो ।

उहाँका अनुसार पुरिएका घर बस्न मिल्ने छ कि छैन भन्ने कुरा टुङ्गोमा पुगिसकेको छैन । पोखरेलले थप्नुभयो, “सम्भवतः त्यो बस्न मिल्ने अवस्थामा छैन होला, अध्ययन नगरी बस भन्ने अवस्था छैन ।” ठ्याक्कै कुन ठाउँसम्म बस्न मिल्ने हो भन्ने यकीन भएको स्पष्ट पार्नुभयो तर स्थानीय भने बस्न थालिसकेका छन् । विज्ञले जुनसुकै बेला खोला आउनसक्ने भन्दै सचेत गराएका छन् । मेलम्चीमा खोलाको सतहभन्दा २५÷३० फिट माथिसम्म बगर भरिएको छ ।

मुख्यगरी गएको असार १ र १६ गते आएको भीषण वर्षापछिको बाढीले यहाँ तहसनहस पारेको हो । यसपाली औसतभन्दा बढी नै वर्षा हुँदा सिन्धुपाल्चोकसहित मुलुकका ७१ जिल्ला प्रभावित भएको छ । जेठ २८ मा भित्रिएर ३० गतेदेखि देशैभरि मनसुन सक्रिय भएको थियो । त्यसको अर्को दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो ।

सुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो । असार १ र असार १६ गते पुनःभारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भएको हो । गत वर्ष पनि सिन्धुपाल्चोक यसैगरी प्रभावित भएको जिल्ला हो ।

बाढीपहिराका कारण सिन्धुपाल्चोकमा अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन् । मुलुकभर यसपटक बाढी, पहिरो र डुबानबाट यो वर्ष १३४ जनाको मृत्यु भएको छ भने ४६ जना हराइरहेका छन् । मनसुन अझै सकिएको छैन । यही असोज तेस्रो सातामा मनसुन बाहिरिने मिति रहेपछि कुन दिन जान्छ यकीन नभएको मौसमविद्ले बताएका छन् । यद्यपि पछिल्लो समयमा भने मनसुन कमजोर देखिएकाले घमाइलो बढेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope