कोरोना सङ्क्रमित देशबाट भित्रिनेबाट सङ्क्रमण हुने जोखिम


कोरोना भाइरस सङ्क्रमणको समस्या रहेको भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको थप जोखिम देखिएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले चाडपर्व नजिकिएसँगै कोरोना सङ्क्रमित देश भारतबाट भित्रिने नेपाली बढ्दा कोरोना भाइरसको जोखिम पनि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व नजिकिएसँगै पछिल्ला दिनमा सीमानाकाबाट भित्रिने बढ्दै जाँदा जोखिम थप बढेकाले थप सचेत हुनुपर्ने देखिएको छ ।”

त्रिनगर सीमानाका (कैलाली)मा सञ्चालित हेल्थ डेस्कका अहेब गणेश साउदले पछिल्ला दिनमा भारतबाट घर फर्किने नेपालीको भीड ह्वात्तै बढ्दा भित्रिनेलाई लामबद्ध गराएर नमूना परीक्षण गराउन केही असहज पनि भइरहेको बताउनुभयो । दसैँ तिहारजस्ता मुख्य चाड पर्व मनाउन भारतका विभिन्न सहरमा काम गर्दै आएका नेपाली केही समयको बिदामा घर फर्किन गर्दछन् ।

सुदूरपश्चिमका बासिन्दाको रोजगारीको मुख्य गन्तव्यस्थल भारत रहेको छ । हाल दैनिक बढीमा ८०० को सङ्ख्याका नेपाली कैलालीको त्रिनगर सीमानाकाबाट भित्रिने गरेका छन् । “सीमानाकाबाट भित्रिनेको एन्टिजेन पद्धतिबाट नमूना परीक्षणको काम गरेर सकेसम्म आवागमन सहजीकरण गरिरहेका छौँ”, साउदले भन्नुभयो, “लक्षणसहित पोजेटिभ नतिजा देखिनेलाई सेती प्रादेशिक अस्पतालमा र लक्षण नदेखिने तर नतिजा पोजेटिभ देखिनेलाई धनगढीको कनरीस्थित आइसोलेसनमा पठाउने गरेका छौँ ।”

कुनै व्यक्तिमा कोरोनाको जस्तो लक्षण देखिने भए पनि नमूना परीक्षण गर्दा नतिजा नेगेटिभ आउने र लक्षण नदेखिए पनि कुनै व्यक्तिको नमूना परीक्षणमा नतिजा पोजेटिभ देखाउँदा अन्योल सिर्जना भइरहेको साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तो खालको नतिजा कुनै कुनै व्यक्तिको हकमा देखिँदा अन्योल सिर्जना भइरहेको छ ।” त्रिनगर नाकाबाट दैनिक भित्रिनेमध्ये ६० देखि ८० प्रतिशत नागरिकको एन्टिजेन पद्धतिबाट नमूना परीक्षण भइरहेको छ ।

हेल्थ डेस्कमा सबै व्यक्तिको नभई कोरोनाका शङ्कास्पद समूहका व्यक्तिको मात्र नमूना परीक्षण गर्ने गरिएको छ । दसैँ तिहारजस्ता मुख्य चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीडभाड बढेको भए पनि सङ्क्रमणबाट जोगिन मास्क र स्यानिटाइजर प्रयोग गर्नेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालनमा बेवास्था भइरहँदा पनि जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

सहरी क्षेत्रमा कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेको देखिए पनि ग्रामीण क्षेत्रमा अधिकांश व्यक्तिले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेको देखिँदैन । गत वैशाख र जेठमा यो रोगको सङ्क्रमण उच्च रहेको कोरोना सङ्क्रमण दर असार सुरु भएसँगै घट्दै गएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा प्रदेशमा एक हजार ६३२ को नमूना परीक्षण गर्दा २३ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएका तीन लाख ५६ हजार ८६० व्यक्तिमध्ये ४७ हजार ३७९ मा कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये ४६ हजार ७१० जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । पछिल्लो महिनामा कोरोना भाइरससँग मिल्ने लक्षण देखिए पनि धेरै सर्वसाधारणले आफ्नो नमूना परीक्षण गराउन डराउन थालेका छन् ।

नमूना परीक्षण गराउँदा आउने पोजेटिभ नतिजाले मानसिक तनाव हुने भन्दै धेरै नागरिकले आफ्नो नमूना परीक्षण गराउन नमानेको अहेब भक्तबहादुर विष्ट बताउनुहुन्छ । “पोजेटिभ नतिजा आउनेमध्ये कतिपयले डर मान्ने मानसिकता देखिन्छ”, विष्टले भन्नुभयो, “बलियो आत्मबल भएकामा भने यस्तो समस्या देखिँदैन ।”

यसैबीच सीमानाकाबाट भित्रिने दैनिक बढ्न थालेपछि बढेको कोरोना सङ्क्रमणको जोखिमका बीच नेपाल–भारत सीमानाकामा आवागमन गर्नेको लागि मापदण्ड तोकिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलालीका सीमानाका हुँदै नेपाल प्रवेश गर्न चाहने नागरिकका लागि मापदण्ड तोकिएको हो । नेपाल प्रवेशका लागि जिल्लाका त्रिनगर र खक्रौला नाका तोकिएका छन् ।

तोकिएको मापदण्डबमोजिम नेपाल प्रवेश गर्न चाहने भारतीय नागरिकका हकमा निजले प्रवेश गर्नुअघिको ७२ घण्टाभित्रको कोरोना भाइरसको नमूना परीक्षणको नेगेटिभ नतिजाको प्रमाण देखाउनुपर्ने, प्रवेश गर्ने कुनै पनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएमा त्यस्तो व्यक्तिको एन्टिजेन परीक्षण गरी नतिजा नेगेटिभ आएमात्र प्रवेश दिइनेलगायत मापदण्ड तोकिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope