बाक्लै देखिन थाले बाघ


मङ्गलबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नुभयो ।

निकुञ्जको कसरासम्म पुगेर सौराहा फर्किने क्रममा जर्नेली पोष्ट नजिकै उहाँ चढेको जिप र बाघको जम्काभेट भयो । बाघको गतिविधिलाई उहाँले नजिकबाट नियाल्ने अवसर पाउनुभयो । उहाँसँगै उक्त जिपमा रहेका अरुले पनि यो अवसर प्राप्त गरे । एकसिङ्गे गैँडाका लागि प्रख्यात निकुञ्जमा भाग्यमानीले मात्रै बाघ देख्न पाउने भए पनि यतिबेला निकुञ्ज घुम्न जाने धेरैले बाघ देखेको बताउने गरेका छन् ।

घिमिरेले भन्नुभयो, “अहिले निकुञ्ज घुम्न जाने धेरैले बाघ देख्ने अवसर पाउँछन् ।” विगतको भन्दा बाघको चहलपहल अहिले बढेको उहाँको भनाइ छ । निकुञ्जभित्र पर्यटकीय जिपका चालक वीरजङ्ग मुसहरले दसैँको बेला एकै दिन दुई ठाउँमा बाघ देखेको बताउनुभयो ।

असोज २८ गते आफू र जिपमा रहेका पर्यटकले भिम्ले पोष्ट नजिकैको नन्दभाउजु तालमा पानी खान जाँदै गरेको बाघ देखेको बताउनुभयो । त्यसै दिन रानीखोलाको बीच बाटोमा पनि बाघ देखिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन÷चार वटा जिपमा रहेका पर्यटकले बाघ देख्न पाउनुभयो ।” निकुञ्जभित्र झाँडी र गर्मी बढेकाले बाघ खुल्ला ठाउँमा आएको उहाँको भनाइ छ । विगत १९ वर्षदेखि निकुञ्जमा जिप चलाउँदै आउनुभएका मुसहरले यतिबेला बाघ हेर्ने राम्रो अवसर भएको बताउनुभयो ।

सौराहा नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा गत महिना एक व्यक्तिलाई बाघले खाएपछि समाउने क्रममा राखिएको क्यामराको ट्यापिङमा पाँच वटा बाघ देखिएका थिए । वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले मानिस खाने बाघ समाएपछि पनि घुम्न जानेहरुले बाघ देख्ने गरेको बताएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हात्तीमा घुम्न जानेले बाघ देखेको बताएका छन् ।” उच्च सावधानी अपनाएर घुम्न वनले अनुरोध गरेको छ । सो वनमा जिप र हात्तीमा सफारी गर्ने गरिन्छ । पैदलरुपमा पनि पर्यटक वन र निकुञ्जमा घुम्ने गर्दछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले केही दिनयता बाघ देखिएको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो ।

दसैँ अगाडि माडी जाने निकुञ्जभित्रको हुलाकी सडकमा मानिसले तीन÷चार वटा बाघ देखेको जनाएपछि हिँड्डुल गर्नेलाई सावधानी अपनाउन भनिएको छ । केही दिन धेरै सवारी जम्मा भएपछिसँगै वारपार गराइएको पनि उहाँले बताउनुभयो । निकुञ्जमा सन् २०१८ मा गणना गर्दा २३५ बाघ भेटिएको थियो । तीमध्ये यस निकुञ्जमा मात्रै ९३ वटा बयस्क बाघ भेटिएका थिए । गणनापछि बाघको सङ्ख्या बढेको हुनसक्ने यसले देखाएको छ । लामो समयपछि निकुञ्ज खुलेका कारण वन्यजन्तुको चहलपहल पनि पर्यटकीय मार्गमा बढी देखिएको हो । निकुञ्जभित्र झाडी भएकाले बाटो नजिक मात्रै वन्यजन्तु देखिने गरेको छ । अबको एक महिनामा टाढाटाढासम्म खुल्ला हुने प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो ।

यस निकुञ्जमा मुख्य रुपमा एकसिङ्गे गैँडा हेर्न पर्यटक आउने गर्दछन् । पछिल्लो समय बाघ बढी सङ्ख्यामा देखिन थालेको हो । यससँग चितुवा, भालु, हरिण, गौरीगाई, चित्तल, गोही, बँदेललगायतका जनावरसँगै चराचुरुङ्गी हेर्न यहाँ पर्यटक आउने गर्दछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope