अहिले बजारमा नेपाली उपन्यास ‘मोचन’ चर्चाको बिषय
अहिले बजारमा नेपाली उपन्यास ‘मोचन’ चर्चाको बिषय बनेको छ । उक्त उपन्यासका लेखक हुन् तुलसी आचार्य ।
पारिजातको ‘शिरीषको फूल’लाई प्रस्थानबिन्दु बनाएर न्यून पात्रहरूको उपस्थापनमा जीवन भोगाइका अनेक आयाम अभिरेखित यो उपन्यासले जीवनका अक्करिला बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित गरेको छ ।
नेपाल र अमेरिकाको परिवेश र जीवन पद्धतिको रोचक वर्णनले कथानक जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ खुराक समेत पस्किएको छ । यो संघर्षशील एक पात्रको यस्तो जीवनयात्राको आलेख हो जसले पाठकलाई पात्रसँगै सानिध्य गराउँछ; दुःखि बनाउँछ, खुसि बनाउँछ, हँसाउँछ र रुवाउँछ पनि ।
जीवनदर्शन, ध्यान, योग र अध्यात्मका अलावा वैवाहिक र विवाहेत्तर रतिराग र प्रेम प्रणयको चित्ताकर्षक वर्णन मूलतः वयस्क पाठकलाई अझ बढी अर्थपूर्ण र उपयोगी छ । कथानकको संरचना र प्रस्तुतीले पाठकलाई यसरी लट्ठ्याउँछ कि उपन्यास समाप्त नहुँदासम्म पाठकले न परिणामको आँकलन गर्न सक्छ न पठनलाई विश्राम नै दिन सक्छ ।
यस उपन्यासमा एक पुरुष पात्रको प्रेम, माया र सम्बन्धको अन्तरङुग प्रस्तुत छ । पारिवारिक उत्साहका साथ विवाह गरेर ल्याइएकी श्रीमतीसँग सम्बन्धको बढुदो टकराब र चिसोपनले ऊ पारपाचुके नै नगरी अलग्गिन्छ र अर्कै युवतीसँग विवाह गर्छ । स्थापित सम्बन्धको बिग्रह र नयाँ सम्बन्धको थालनीबीचको दुर्दान्त पीडा, मानसिक तनाव, जिजीविषा, विजिगीषा र प्राप्त ज्ञान ‘इपिफेनी’ नै यो उपन्यासको कथ्य हो ।
उक्त पात्रले सहजताबाट असहजतातर्फ, अपरिपक्वताबाट परिपक्वतातर्फ, प्रेम–घृणा–प्रेमबाट प्रगाढ र प्रेमिल सम्बन्धतर्फ, भौतिकताबाट अध्यात्मतर्फ र देखिएको जीवनबाट भोगिएको जीवनतर्फको यात्रा गरेको छ । प्रेम र आत्मीय सम्बन्ध साँचो अर्थमा के हो ? यसलाई आत्मसात गर्न नसक्ता जीवन कसरी क्षतबिक्षत हुन्छ ? उपन्यास दृष्टान्त छ ।
भावना, घृणा र संवेदनाको अन्तर्य प्लावित यस उपन्यासले अस्तित्ववादी चिन्तन र शून्यवादी दर्शनको छनकका साथ सम्बन्धको उच्चता र गहिराइको मर्मलाई अत्यन्त मार्मिक ढङुगले प्रस्तुत गरेको छ ।
उपन्यास सार्वजनिक भएको लगतै यसले निकै चर्चा पाएको थियो । उक्त उपन्यास चर्चित आख्यानकार तथा सम्पादक राजन मुकारुङ, समालोचक तथा कवि महेश पौड्याल, प्राध्यापक ज्ञानु अधिकारीको र सञ्चारकर्मी टिकाराम यात्रीले संयुक्त रूपमा प्रज्ञाप्रतिष्ठानको सभाहलमा सार्वजनिक गरेका गरेका थिए
उक्त कार्यक्रमा बोल्दै प्राध्यापक ज्ञानु अधिकारीले यो उपन्यास पाठकमैत्री उपन्यास रहेको बताएकि थिइन् भने उपन्यासमा पुरुष मनोद्वन्द्वलाई राम्रोसँग केलाएको बताउँदै पुरुष पात्र नायक भए पनि उपन्यासमा नारी पात्रलाई आँटिली र संघर्षशील बनाएको उल्लेख गरेकी थिइन् ।
त्यसैगरी साहित्यकार तथा सम्पादक राजन मुकारुङले हामीले लेख्ने मात्रै आर्दश हो तर वास्तविक जीवन निकै डाँवाडोल रहेको उल्लेख गर्दै लेखकले इमानदारीपूर्वक जीवनका संगति र विसंगति प्रस्तुत गर्दै पात्रहरूको जटिल मनोविज्ञानलाई सरल भाषामा लेखिएको बताएका थिए ।
त्यसैगरी समालोचक महेश पौड्यालले उपन्यासमा गालीको भरपूर प्रयोग भए पनि उपन्यास निकै पठनीय रहेको बताएका थिए भने उनले भनेका थिए, “यदि सम्बन्धमा दुई पात्र मिल्न सकेनन भने कस्तोसम्म हुन सक्छ भन्ने बारेको शक्तिसाली आख्यान हो ।”
लेखक आचार्यको यो नेपाली भाषाको पहिलो उपन्यास हो भने अंग्रेजी उपन्यास ‘रनिङ फ्रम दि ड्रिम्ल्याण्ड’ पछिको दोस्रो हो। उनको अंग्रेजी गैरआख्यान पुस्तक ‘सेक्स, जेण्डर र डिसेबिलिटि’ भन्ने पुस्तक पनि प्रकाशित छ। उल्लिखित उपन्यास फिनिक्स बुक्सले बजारमा ल्याएको हो।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस