यलम्बर उद्यान निर्माणमा अवरोध


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण सुरु गरिएको यलम्बर उद्यानको काममा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । आफ्ना दश पुस्तादेखिका पुर्खाको समाधिस्थल भत्काएर १०० फिट अग्लो किराँती प्रथम यलम्बरको कृत्रिम शालिकसहितको उद्यान निर्माण गर्न खोजिएको भन्दै उनीहरुले अवरोध गरेका हुन् ।

यलम्बर उद्यान निर्माणस्थल पञ्चदोबाटोमा ठेकेदारले स्काभेटर प्रयोग गरी खन्न थालेपछि मानव कङ्कालसमेत निस्किएको छ । करिब तीन हजार ५०० को हाराहारीमा किराँती पुर्खाको चिहान भएको यलम्बर उद्यान निर्माणस्थल पञ्चदोबाटोबाट मानव कङ्काल निस्किएपछि त्यसको चौतर्फी विरोध भएको छ । निर्माणस्थलमा अहिले पनि २८७ वटा आफ्ना पुर्खाको चिहान स्थानीय युवाले चिनो (नम्बर मार्किङ) गरेर राखेका छन् । ऐतिहासिकस्थलमा यलम्बरको उद्यान बन्ने भएपछि स्थानीय बासिन्दाले आफूहरु विकासविरोधी नभएको भन्दै समाधानका लागि उपयुक्त बाटो खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । पञ्चदोबाटोमा प्रदेश नं १ सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत गरी रु १० करोड २७ लाखको लागतमा यलम्बर उद्यान निर्माणको काम थालिएको थियो । निर्माणको प्रारम्भिक चरणमै स्थानीयले अवरोध गरेपछि यलम्बर उद्यान बन्नेबारे अन्योल भएको छ ।

यलम्बर उद्यान निर्माणस्थल पञ्चदोबाटो बुइपास्थित तम्रुङ, गैरीगाउँ, खालिङटोल, डङ्कुरा, बीचगाउँ, बरबोटलगायतका गाउँको संयुक्त समाधिस्थल भएकाले यसलाई जोगाउनुपर्ने स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र)का नेता डार्विन राईले बताउनुभयो । “हामीले यलम्बरको मूर्ति बनाउन नै हुँदैन भनेका छैनौँ”, उहाँले भन्नुभयो, “समाधिस्थललाई सुरक्षित राखेर मूर्ति बनाइनुपर्छ भन्ने माग हो । यसमा केठेदारले सहमति उलङ्घन गरेका छन् ।”

निर्माण व्यवसायीले यलम्बरको मूर्ति बनाउनुअघि आफूहरुसँग गरेको सहमति उल्लङ्घन गर्दै स्काभेटर लगाएर पुराना समाधि ध्वस्त पार्न थालेकाले रोक्न बाध्य भएको स्थानीयको भनाइ छ । स्थानीय र निर्माण कम्पनीबीच समाधिस्थलमा भएका चिहानको संयुक्त आत्माघर बनाउने, त्यहाँ भेटिएका पुरातात्विक वस्तुलाई सङ्ग्रहालयमा राख्नेलगायत सहमति भएको थियो । यलम्बर उद्यान निर्माणको काममा विवाद भएपछि बुइपाका वडाध्यक्ष दिनेश राईले सहमतिअनुसार काम नभएको स्वीकार्दै अब सच्याएर निर्माणको कामलाई अगाडि बढाइने बताउनुभयो ।

“सुरुमा स्थानीय बासिन्दासँग गरेको सहमतिअनुसार काम नभएकै हो”, उहाँले भन्नुभयो, “सहमतिअनुसार काम नभएपछि उहाँहरूको भावनामा चोट पुगेको छ । आगामी दिनमा सच्याएर काम अघि बढाउँछौँ ।”

निर्माण कम्पनी उमा–तुवाचुङ–अन्सुली जेभीका प्रतिनिधि एवं तुवाचुङ कन्सट्रक्शन प्रालिका प्रबन्ध निर्देशक सुनिल राईले आफू नहुँदा कामदारले अन्धाधुन्द संरचना भत्काएको र अब त्यसो नहुने बताउनुभयो । “अब सहमति अनुसार नै काम हुन्छ । उहाँहरुको भावनामा चोट पुग्न दिँदैनौँ”, उहाँले भन्नुभयो । पञ्चदोबाटोमा निर्माण सुरु गरिएको यलम्बरको शालिकसहितको उद्यान चोभारको मञ्जुश्री पार्क शैलीमा निर्माण सुरु गरिएको थियो । निर्माणको काम सुरु गरेलगत्तै विवाद भएपछि अठार महिनाभित्र निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको काम तोकिएको समयमा सम्पन्न नहुने देखिएको छ । नगरपालिकाले गौरवको आयोजनाअन्तर्गत राखेको यलम्बर उद्यानको आम्दानी ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश नं १ मा जम्मा हुने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर उद्यान पर्यटकका लागि आवतजावत गर्नसमेत सहज हुने गरी निर्माणस्थल छनोट गरिएको हो । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण सुरु गरिएको उद्यानमा हलेसी आउने पर्यटकलाई समेत घुमाउन सकिने निर्माण उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताउनुभयो । यलम्बर उद्यानबाट किराँती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजना बनाइएको छ । सरकारले निर्धारण गरेको १०० पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन यलम्बर उद्यानलाई महत्वका साथ हेरिएको छ । किराँत ऐतिहासिकस्थल बुइपामा यलम्बरको विश्वकै अग्लो र ठूलो शालिकसहितको उद्यान निर्माण सुरु भएपछि यहाँको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीको विश्वास छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope