रत्नेचौर खेलमैदानमा पूर्वाधार निर्माण

बेनी नगरपालिका–१ रत्नेचौरमा धौलागिरि क्षेत्रकै ठूलो खेलमैदान बनाउन पूर्वाधार निर्माण भएको छ । बेनी नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौरस्थित बुढोचौर खेलमैदान सम्माएर प्याराफिट, स्टेज, भवन र घेराबार निर्माण गरेका हुन् । पछिल्लो चार वर्षमा रु ९० लाख लगानी भएको खेलमैदान स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट थप रु दश लाख विनियोजन भएको वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिनुभयो ।
गत वर्ष विनियोजन भएको रु सात लाख बजेटबाट निर्माण भएको खेलमैदान परिसरको दुईकोठे सामुदायिक भवन आइतबार सांसद भूपेन्द्र थापाले शुभारम्भ गर्नुभयो । “भवनको एक÷एक कोठा आइतबार रत्नेचौर जागरण समूह र रत्नेचौर युवा क्लबको कार्यालय सञ्चालनका लागि हस्तान्तरण गरिएको छ”, उहाँले भन्नुभयो, “धौलागिरि क्षेत्रकै ठूलो र व्यवस्थित खेलमैदान बनाउन क्रमागत योजनामा समावेश गरेर बजेट व्यवस्थापन भएको छ ।”
गत वर्ष प्राप्त रु दश लाख बजेटमध्ये रु सात लाखले दुई कोठे भवन, रु एक लाख ५० हजारले नाली निर्माण र रु एक लाख ५० हजारले खेलमैदान सम्माउने काम भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा रु ५० लाख बजेटबाट खेलमैदानको डिलतर्फ पाँच तह भएको ६० मिटर लम्बाइ र २।७० मिटर चौडाइको प्याराफिट बनाइएको थियो ।
प्याराफिटमाथि १० फिट अग्लो तारजालीसमेत लगाइएको छ । आव २०७५÷७६ मा रु २० लाखको लागतमा खेलमैदान परिसरमा मञ्च निर्माण भएको थियो । आव २०७४÷७५ मा बेनी नगरपालिकाको रु दश लाख लागतमा २०० मिटर तारजाली लगाइएको थियो । “यस वर्ष पनि रु दश लाख विनियोजन भएको छ”, सांसद थापाले भन्नुभयो, “पर्याप्त जग्गा भएकाले रत्नेचौर खेलमैदानलाई रङ्गशाला बनाउन प्रस्ताव गरिएको छ ।” हाल १६० मिटर लम्बाइ र १०० मिटर चौडाइ भएको खेलमैदानलाई अझै विस्तार गर्न सकिने जग्गा छ ।
सो खेलमैदानमा ११÷११ खेलाडीलाई फुटबलका साथै एथलेटिक्स र दौड प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । बागलुङ, म्याग्दी र पर्वतको पायक पर्ने ठाउँ भएकाले रत्नेचौर खेलमैदानमा पूर्वाधार भएमा ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने जनाइएको छ । –––
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस