५३ वर्षपछि उस्तै विपत्ति, उत्तिकै क्षति


पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ खोलाखर्ककी रत्नमाया राईलाई १५ वर्षकी छँदा विसं २०२५ कात्तिकमा एक सातासम्म बेमौसमी वर्षा भएको याद ताजै छ ।

सो समय सात दिनसम्म अविरल वर्षा भएपछि खोला खोल्सीमा बाढी आयो, गाई वस्तुलाई घाँसपानी गर्नसक्ने अवस्था पनि भएन । “गाई र भेडा गोठबाट निकालेर छाडेका थियौँ”, राईले सम्झनुभयो । त्रिपन्न वर्षपछि यस वर्षको कात्तिकमा समेत उस्तै वर्षा भयो तर तीन दिन भएको वर्षापछि गाउँभरि पहिरो गयो । सुरक्षित मानिएको ठाउँमै पहिरो गएर घरबारविहीन हुनुपर्ला, छरछिमेकी गुमाउनुपर्ला भन्ने रत्नमायालाई लागेको थिएन । “त्यत्रो ठूलो पानीले केही नबिगारेको हाम्रो गाउँमा यसपालि यस्तो होला भन्ने सोचेकी थिइनँ”, पहिराले बगाएको घरका संरचना देखाउँदै रत्नमायाले भन्नुभयो, “कहिल्यै नसोचेको कुरा पनि भोग्नुपर्ने रहेछ ।”

खोलाखर्कका रविन बानुछा राई विगतमा सुरक्षित ठानिएको गाउँमा चारैतिर पहिरो जाँदा अचम्मित हुनुहुन्छ । स–साना पहाडका बीचमा घेरिएको खोलाखर्क सबैलाई लोभ्याउने बस्ती थियो । खेतीपातीका लागि राम्रो माटो र आकर्षक मौसम हुने हुनाले सबैजना खोलाखर्कप्रति आकर्षित थिए तर बेमौसमी वर्षापछि खोलाखर्कमा चारैतर्फ पहिरो झरेको छ । “यस्तो आनन्दको ठाउँ अहिले बस्न नै जोखिमपूर्ण होला भन्ने कल्पना पनि गरेका थिएनौँ”, पहिराले घर बगाएपछि छिमेकीको शरणमा बस्नुभएका स्थानीयवासी विराज राईले भन्नुभयो, “बेमौसमी वर्षाले ल्याएको विपत्तिमा भाग्यले बाँच्न पायौँ ।”

मिक्लाजुङ–६ कन्याटारमा पहिराले ठूलो क्षति नपु¥याए पनि बाढीले सबैलाई त्राहिमाम बनायो । विसं २०२५ मा कात्तिक महिनामै बेमौसमी वर्षाले बाढी र पहिरो आए पनि त्यसपछि यसपालिको जस्तो विपत्ति कहिल्यै नआएको स्थानीयवासी ढालनाथ भट्टराई सुनाउनुहुन्छ । “हाम्रो ठाउँ धेरै पानी पर्ने स्थानमै पर्छ तर यसपालि जस्तो विपत्ति कहिल्यै परेको थिएन”, भट्टराईले भन्नुभयो, “५३ वर्षपछि विपत्ति दोहोरियो ।” बेमौसमी वर्षा र यसले पु¥याएको क्षति कल्पनाभन्दा बाहिरको विषय भएको उहाँको भनाइ छ ।

गत कात्तिक १ गतेदेखि ३ गतेसम्म अत्यधिक वर्षा भई बाढी र पहिराले क्षतविक्षत बनाएपछि पाँचथरको मिक्लाजुङ गाउँपालिकाका स्थानीयवासी पुराना दिन सम्झिरहेका छन् । सो समय पनि अत्यधिक बेमौसमी वर्षा हुँदा टोलैपिच्छे पहिरो जानुका साथै खोला खोल्सीमा आएको बाढीले ठूलो क्षति पु¥याएको यहाँका ज्येष्ठ नागरिक स्मरण गर्छन् । आधा शताब्दीपछि उस्तै विपत्ति मात्रै आइलागेन, केही दिन त स्थानीयवासीले सोही समयमा याद दिलाउने समय व्यतित गर्नुप¥यो । बाढी र पहिराले सडक, विद्युत्, खानेपानी, टेलिफोन, इन्टरनेटलगायत अवरुद्ध हुँदा मानिसले पुरानै दिनहरु याद गरे । “केही दिन त अन्धकारजस्तै अवस्थामा सयम बिताउनु प¥यो”, मिक्लाजुङ–७ लेखगाउँका सञ्जय राईले भन्नुभयो, “टेलिफोन र इन्टरनेट सञ्चालनमा आएपछि मात्रै हाम्रोबारे अरुले थाहा पाए ।”

धान नाच्ने क्रममा लिम्बु समुदायले पालाम गाउँदा ‘पच्चिस सालको पैरो, निङ्वा मैरो’ भन्ने पङ्क्ति गाउँदछ । जसको अर्थ हो– २०२५ सालमा आएको पहिराले मन हरायो, विरह चलायो । तर यसपालिको वर्षापछि आएको पहिराले आँशु नै हराएको मिक्लाजुङ–५ चिसापानी पञ्चमीका पदमशेर लावतीको भनाइ छ । शिक्षकसमेत रहेका छोरा विष्णुबहादुर लावतीसहित एकै घरमा बसेका ११ जनाको पहिरामा परी मृत्यु भएपछि रुँदारुँदै आँशु सकिएको पदमशेरको भनाइ छ । “त्यो समय ठूलो वर्षापछि बाढीपहिरो गएकैले पालाममा गाइएको होला भन्ने मलाई लाग्छ”, पदमशेरले भन्नुभयो, “यसपालि त आँशु नै सुकेको छ ।”

आधा शताब्दीपछि विनाशले विकासको गतिमा अगाडि बढेको मिक्लाजुङमा निकै ठूलो क्षति पुगेको छ । सडक, विद्युत्, खानेपानी, सिँचाइ, भौतिक संरचनालगायतमा भएको क्षतिको पुनर्निर्माणमा धेरै ठूलो लगानी आवश्यक पर्ने गाउँपालिका अध्यक्ष अमरराज माखिमको भनाइ छ । “यसपालिको विनाशलाई निकै ठूलो लगानीले मात्रै पुरानो अवस्थामा फर्काउन सकिन्छ”, माखिमले भन्नुभयो, “हामीलाई सबै पक्षबाट ठूलो सहयोग चाहिएको छ ।” विशेषतः घरबारविहीन बनेका, पुनःस्थापना गर्नुपर्ने अवस्थामा रहेका र जोखिमयुक्त स्थानमा बसेका सर्वसाधारणको पुनर्वास मिक्लाजुङमा अत्यावश्यक देखिएको छ । यसका लागि सरकारले ठोस प्याकेज निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ । बाढी र पहिराले यो गाउँपालिकामा मात्रै २२ जनाको ज्यान जानुका साथै तीन जना बेपत्ता छन् । यहाँका सयौँ घर बसोबास गर्न नसकिने अवस्थामा पुगेका छन् भने भौतिक संरचना क्षतविक्षत बनेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope