विभागलाई सूचक प्रदान

‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ ले काठमाडौँ महानगरपालिकाका विभागलाई सूचक प्रदान गरेको छ ।कामपाको यही मङ्सिर ८ र ९ गते आयोजित अभिमुखीकरण कार्यक्रममा विभागलाई सूचक प्रदान गरेको हो ।
जिम्मेवारी दिएपछि कामपाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले स्वमूल्याङ्कनमा उच्चतम प्रतिफल ल्याउन सबै विभागले लक्षित समयमा जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।स्वमूल्याङ्कनमा स्थानीय सरकार सञ्चालन ऐनका व्यवस्थालाई सूचकका रूपमा राखिएको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थीले, स्वमूल्याङ्कनले स्थानीय तह कुन ठाउँमा छ ? सुधार गर्नुपर्ने ठाउँ कहाँ र कति रहेछन् भन्ने तथ्य प्राप्त हुने अपेक्षा गर्नुभयो ।
बागमती प्रदेश सरकारको सुशासन केन्द्रबाट आएका प्रतिनिधिको सहजीकरणमा कामपाले आव ०७६÷०७७ मा सम्पादन गरेका कामको स्व–मूल्याङ्कनमा ७८ अङ्क प्राप्त गरेको थियो । कार्य विधिअनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहका सूचकका आधारमा मूल्याङ्कन हुनेछ । यी सूचकमा क्रमशः २१, ३४ र ४५ प्रतिशत अङ्क भार राखिएको छ ।
त्यस्तै १० वटा विषय क्षेत्रमा वर्गीकरण गरिएको छ । यी सूचकमा नौ पूर्णाङ्कको शासकीय प्रबन्ध, आठ पूर्णाङ्कको सङ्गठन तथा प्रशासन, ११ अङ्कको वार्षिक बजेट तथा योजना व्यवस्थापन, ११ अङ्कको वित्तीय एवं आर्थिक व्यवस्थापन, १० अङ्कको सामाजिक समावेशीकरणलगायत क्षेत्र छन् । सोह्र अङ्कको सेवा प्रवाह, सात अङ्कको न्यायिक कार्यसम्पादन र १३ अङ्कको भौतिक पूर्वाधार क्षेत्र छन् । नौ अङ्कको वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, छ अङ्कको समन्वय सहकार्यमा मूल्याङ्कन हुनेछ ।
स्थानीय तहका कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीका बारेमा जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न यसप्रकारको स्व–मूल्याङ्कनको प्रबन्ध गरिएको हो । स्थानीय तहको तुलनायोग्य सूचक तर्जुमा गरेर प्रतिस्पर्धात्मक सुधार हुने यसको अपेक्षा गरिएको छ ।
–––
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस