राष्ट्रिय बाघ सर्वेक्षण : बाघको सङ्ख्या बढाउन चुनौती


यही मङ्सिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ ।

निकुञ्जले चितवन–पर्सा कम्प्लेक्सको गणनामा क्यामेरा र गणक परिचालन गर्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार देशभर बाघ पाइने निकुञ्जलाई तीन कम्प्लेक्समा विभाजन गरी बाघ गणना अघि बढाइने जानकारी दिनुभयो । पहिलो कम्प्लेक्समा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा २० दिनमा गणना गरी सक्ने जानकारी दिनुभयो । निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रभन्दा बाहिर राष्ट्रिय वन क्षेत्रमा समेत बाघ भेटिएको भन्दै आचार्यले सर्लाहीसम्म बाघ गणना गर्न क्यामेरा ट्यापिङ गरिने बताउनुभयो ।

बाघ गणनाको समयमा मङ्सिर १९ देखि २० गतेसम्म मध्यवर्ती वन क्षेत्र र क्यामेरा ट्यापिङमा राखिएको राष्ट्रिय वनमा घाँस, दाउरा काट्न लागि नजानसमेत आचार्यले आग्रह गर्नुभएको छ । “बाघ एकदमै लजालु जनावर हो”, आचार्यले भन्नुभयो, “क्यामेरा ट्यापिङको क्रममा मानिसको मुभमेन्ट भयो भने बाघ नदेखिन सक्छ ।”

बाघ गणनाका क्रममा प्रत्येक स्थानमा एक जोडी क्यामेरा राखिँदैछ । एकजोडी क्यामेराको दूरी आठदेखि १६ मिटरसम्म रहने तर दुवै क्यामेराले एउटै बाघको एकैपटक फोटो खिच्ने आचार्यले बताउनुभयो । “बाघ गणनाको क्रममा निकुञ्जलाई ग्रिड (बाघको क्षेत्र निर्धारण गर्दै वर्गाकार बनाउने)मा विभाजन गर्नेछौँ”, उहाँले भन्नुभयो, “एक जोडी क्यामेराबाट अर्को जोडी क्यामेराको दूरी एकदेखि दुई किलोमिटर रहनेछ ।”

जमिनबाट करिब ४५ देखि ६० सेन्टीमिटरको उचाइमा क्यामेरा राखिँदैछ । बाघ हिँड्ने बाटोलाई केन्द्रमा राख्दै गणनाका लागि चारदेखि आठ मिटरको दूरीमा क्यामेरा राखिनेछ । यसपटक बाघको मात्रै गणना हुने भएकाले गणना सकिएर नजिता प्रकाशन भएपछि पुनः अन्य जनावरको गणना गरिने आचार्यले बताउनुभयो ।

“अघिल्लो पटक बाघ र अन्य जनावरको एकैपटक गणना गरिएको थियो”, उहाँले भन्नुभयो, “अहिले जङ्गलमा झाडी भएका कारण अन्य जनावरको गणनामा समस्या हुन भएकाले मार्चपछि मात्रै गणना गर्छौँ ।”

क्यामेरा नष्ट हुने डर

बाघ गणनाका लागि प्रयोग भएका क्यामेरा चोरी हुने तथा नष्ट हुने डर रहेको निकुञ्जले जनाएको छ । यसअघिका गणनामा केही क्यामेरा चोरी भएका तथा केही हात्ती र बाघले नष्ट गरेको पाइएको आचार्यले बताउनुभयो । “बाघको फोटो खिच्न राखिने क्यामेरा बाघको फोटो खिच्नबाहेक अन्य काममा प्रयोग गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “बाघ गणनामा स्वचालित क्यामेरा प्रयोग हुनेछ, त्यसले बाघको मात्रै फोटो खिच्ने गरी निर्माण गरिएको हुन्छ, अन्य कुनै पनि प्रयोजनमा काम लाग्दैन ।”

बाघको सङ्ख्या बढाउन चुनौती

सन् २०१० मा रसियाको सेन्ट पिटरवर्गमा भएको बाघ पाउने १३ मुलुकको सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले सन् २००९ मा नेपालमा १२१ बाघ भएकामा सन् २०२२ सम्म २५० बाघ पु¥याउने प्रतिबद्धता जनाएअनुसार संरक्षणको काम भइरहेको जानकारी दिनुभयो । “हरेक पाँच वर्षमा बाघ गणना गरिँदै आएको छ”, उहाँले भन्नुभयो, “सन् २०१३ मा बाघको सङ्ख्या १९८ पुग्यो, सन् २०१८ को गणनामा बाघको सङ्ख्या २३५ पुगेको छ ।”

अघिल्लो गणनामा बाघको सङ्ख्या २३५ पुगेको भए पनि अबको गणनामा बाघको सङ्ख्या २५० पुग्नेमा चुनौती रहेको साहको भनाइ छ । “कुनै पनि वन्यजन्तुको सङ्ख्या वृद्धि भइरहँदैन”, उहाँले भन्नुभयो, “निश्चित विन्दुमा पुगेपछि स्थिर वा घट्ने क्रम सुरु हुन्छ, नेपालका संरक्षित क्षेत्रमा समेत बाघको सङ्ख्या वृद्धि गर्नु अब चुनौती बन्दै गएको छ ।” यस पटकको गणनामा १५ बाघ थपिएको अवस्थामा सङ्ख्या दोब्बर पु¥याउने नेपाल पहिलो देश हुने उहाँ बताउनुहुन्छ ।

“बाघको सङ्ख्या वृद्धिका लागि हामीले बासस्थान व्यवस्थापन, चोरी सिकारी नियन्त्रण, संरक्षण शिक्षालगायतमा जोड दिँदै आएका छौँ”, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले भन्नुभयो, “सरकारी संयन्त्रका साथै समुदायको साथ र सहयोगबाट बाघको सङ्ख्या वृद्धि हुनेमा हामी आशावादी छौँ ।” चितवन राष्ट्रिय निकुञ्जमा सन् २००८ को तुलनामा २०१३ मा बाघको सङ्ख्या वृद्धि भएको देखिए पनि सन् २०१८ मा भने बाघको सङ्ख्या घट्दा चुनौती थपिएको आचार्यको भनाइ छ ।

चितवन निकुञ्जमा सन् २००९ मा ९३, सन् २०१३ मा १२० र सन् २०१८ मा ९३ मात्रै बाघ भेटिएका थिए । त्यस्तै शुक्लाफाँटामा पनि सन् २०१३ र २०१८ को गणनामा बाघको सङ्ख्या स्थिर देखिएको आचार्यको भनाइ छ । शुक्लाफाँटामा सन् २००९ मा आठ, २०१३ मा १७ तथा २०१८ मा १६ वटामात्रै बाघ भेटिएका थिए । पछिल्ला गणनामा पर्सा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको सङ्ख्या बढेको थियो । सन् २००९ को गणनामा पर्सामा चार, बर्दियामा १८ बाघ पाइएकामा सन् २०१३ मा पर्सामा सात, बाँकेमा चार तथा बर्दियामा ५० बाघ भेटिएका थिए । त्यस्तै सन् २०१८ मा पर्सामा १८, बाँकेमा २१ तथा बर्दियामा ८७ बाघ भेटिएका थिए । सन् २००९ मा बाँकेमा बाघ गणना गरिएको थिएन ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बाघ लजालु जनावर भए पनि मानवीय कारणले हिंस्रक बनाएको बताउनुभयो । “कुनै नयाँ कुरा देखेपछि बाघ तर्किएर हिँड्छ”, उहाँले भन्नुभयो, “हाम्रै कारणले बाघ हिंस्रक बन्दैछ, हामीले बाघको क्षेत्रमा अवरोध पु¥याउँदा उसले मानिसमाथि आक्रमण गर्न सुरु गरेको हो ।” बासस्थान संरक्षण, आहाराका कारण बाघको जनसङ्ख्यामा प्रभाव पर्ने उल्लेख गर्दै ढुङ्गानाले बाघका कारण सिङ्गो पर्यावरण नै प्रभावित हुने बताउनुभयो ।

नेपालमा बाघ पाइने क्षेत्रमध्ये चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स, बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जलाई दोस्रो कम्प्लेक्स तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कञ्चनपुरको पुर्नवासमा पर्ने लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघ गणना हुँदैछ । चितवन–पर्सा कम्प्लेक्सलाई पनि तीन क्लस्टरमा विभाजन गरेर बाघ गणना गरिनेछ । बाघ गणनाको नजिता भने सन् २०२२ को मार्च महिनाभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाइँदै छ । a


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope