डोटीमा बालविवाह न्यूनीकरण गर्न मतदान

दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ । उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो ।
बालविवाहबारे सचेत गर्ने उद्देश्यले मतदानको प्रक्रिया अपनाइएको हो । ‘गुड नेभर्स इन्टरनेशनल, नेपाल’ र सामुदायिक विकास केन्द्रको आयोजनामा विद्यालयमा मतदान गरिएको हो । विद्यार्थी उत्साहित भएर मतदानमा सहभागी भएका सुनादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज पाठकले बताउनुभयो । बालविवाह उचित नभएको कक्षा १० की छात्रा गङ्गा कडायतको भनाइ छ ।
उहाँले भन्नुभयो, “बालविवाह गर्नु गलत हो भन्ने सबैले बुझेका छन्, तर अभिभावकको दबाबका कारण बालविवाहले प्रश्रय पाएको छ ।” मतदानमा १४५ छात्र र १४२ छत्रासहित २८७ विद्यार्थी सहभागी थिए । महिला र पुरुषको उमेर २० वर्ष नपुगी विवाह गर्नुहुँदैन भन्ने कानूनी व्यवस्था छ । तर अभिभावकको करकापले अधिकांश बालबालिकाले २० वर्ष उमेर नपुगी विवाह गर्दै आएका छन् ।
बालविवाह अन्त्यका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहल जारी छ । “बालविवाहको असरबारे अभिभावकलाई ज्ञान हुन जरुरी छ”, सामुदायिक विकास केन्द्रका सूचना अधिकारी एकराज बडुले भन्नुभयो । उच्च शिक्षा अध्ययन गर्न नसकेपछि यहाँका बालबालिका बीचमै ढाइ छोड्न बाध्य छन् । उनीहरु कोही विदेश जान्छन् भने कतिपयले विवाह गर्ने चलन बढ्दै गएको उहाँको भनाइ छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस