मिक्लाजुङमा दूर चिकित्सा सेवा सञ्चालन


सुविधासम्पन्न अस्पताल पुग्न लामो समय लाग्ने यहाँको मिक्लाजुङ गाउँपालिकामा दूर चिकित्सा (टेलिमेडिसिन) सेवा सञ्चालनमा आएको छ ।

मिक्लाजुङ –४ रवि बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट दूर चिकित्सा सेवा सञ्चालनमा आएको हो । उक्त सेवाअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीले विशेषज्ञ चिकित्सकसँग भिडिओ संवादमार्फत उपचार तथा परामर्श सेवा प्राप्त गर्नेछन् । चिकित्सकबाट उपचार तथा परामर्श लिन यहाँका बिरामीले सदरमुकाम फिदिम, इलाम वा झापाका अस्पताल पुग्नुपर्ने बाध्यता हटाउन जर्मन विकास नियोगको सहयोगमा यो सेवा सञ्चालनमा आएको हो ।

उक्त सेवाअन्तर्गत मोरङको विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालका चिकित्सकले भिडिओ संवादमार्फत बिरामीको उपचारको सहजीकरण गर्नेछन् । यसका लागि जर्मन विकास नियोगको ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम (रेरा)ले सहयोग गरेको थियो । उक्त सेवा सञ्चालनका लागि नियोगले रु ७२ लाख तथा मिक्लाजुङले रु ३७ लाख ७७ हजार लगानी गरेका छन् । उक्त लागतमा प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री तथा उपकरण खरिद, विद्युत्का लागि सौर्य ऊर्जा प्रणाली जडान र स्वास्थ्यकर्मीको क्षमता विकास तालिम सञ्चालन गरिएको प्राथमिक स्वास्थ्य केन्द्र रविका प्रमुख डा बालकुमार सुब्बाले जानकारी दिनुभयो ।

नियोगका विकास सहायता उपप्रमुख साइमन हेन्केलेले तथा ग्रामीण क्षेत्रका लागि नवीकरण ऊर्जा कार्यक्रम (रेरा)का प्राविधिक सल्लाहकार क्रिश्चियन लिड्केले स्थलगत निरीक्षण गरी कार्यक्रमको प्रभावकारितामा जोड दिनुभएको छ । हालै उक्त सेवाको अनुगमन गर्दै उपप्रमुख हेन्केलेले दूर चिकित्सा सेवाले बिरामीले प्रत्यक्षरुपमा चिकित्सकलाई भेट्टाएर सेवा लिएसरह सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । कोभिड–१९ सङ्क्रमणको सङ्कटले नेपालजस्ता विकासशील देशको ग्रामीण क्षेत्रमा स्वास्थ्य अवस्थाको सवलीकरण चुनौतीपूर्ण बनेको भन्दै हेन्केलेले दूर चिकित्साजस्ता कार्यक्रमको प्रभावकारिताले जनस्वास्थ्यलाई सन्तुलित राख्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले दूर चिकित्सासहितका स्वास्थ्य सेवा विस्तारका लागि प्रदेश तथा सङ्घीय सरकारमा पटक–पटक पहल गरे पनि सहयोग नपाइरहेको अवस्थामा दातृ निकायको सहयोगले कार्यक्रम विस्तार गर्न पाउँदा खुसी लागेको वताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र रविका प्रमुख डा सुब्बाले विशेषज्ञ चिकित्सकबाट परामर्श तथा उपचार सेवा पाउँदा दुर्गम क्षेत्रका सेवाग्राहीलाई ठूलो राहत मिल्ने बताउनुभयो । कोशी प्रादेशिक अस्पतालका चिकित्सक डेनप्रकाश आचार्यले सेवाग्राहीसँग सहज संवाद हुनसके, सिफारिस गरिएका औषधिको उपलब्धता भए र प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले सहज सेवा दिनसके धेरै रोगको उपचार गर्न सकिने बताउनुभयो । हालसम्म १०० भन्दा बढी बिरामीले उक्त सेवा लिइसकेका छन् ।

एक चिकित्सकसहित २४ स्वास्थ्यकर्मी कार्यरत रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा मिक्लाजुङ, तुम्बेवा र फाल्गुनन्द गाउँपालिका तथा इलामको फाकफोकथुम र माङसेबुङ गाउँपालिकाका सेवाग्राहीले समेत सेवा लिने गरेका छन् । मिक्लाजुङबाट उपचारका लागि अस्पताल पुग्न लामो समय लाग्दछ । वर्षायामको समयमा भने सडकको समस्याका कारण बिरामी अस्पताल पुग्न निकै कठिन पर्छ । जिल्लामै पहिलोपटक यहाँ सञ्चालनमा आएको दूर चिकित्सा सेवालाई प्रभावकारी बनाई सहज स्वास्थ्य सेवाको प्रवाहमा सहजीकरण गरिने मिक्लाजुङका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले बताउनुभयो । जर्मन सहयोग नियोग र रेरा कार्यक्रमले मिक्लाजुङमा नवीकरणीय ऊर्जाका लागि दुई वर्षअघिबाट सहयोग गर्दै आएका छन् ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope