मृत्यु हुनु भनेको ‘घाम अस्ताएको होइन’

आफ्नो नजिकको मानिसको मृत्युले ल्याउनसक्ने वियोग र त्यसलाई सहन गर्नसक्ने मानवीय जिजीबिषा, र आत्मसन्लाप हो डा. ब्यन्जना शर्माको ‘घाम अस्ताएको होइन’। आफू अष्ट्रेलियामा हुँदा नेपालमा रहेकी आमाको मृत्युको खवरले मर्महात हुन पुग्नुभएकी लेखकले कसरी आफूभित्र आत्मविश्वास, बलियो आस र सास जोगाएर जीवनलाई उर्जाशील र गतिशील बनाउन सक्नुभयो भन्ने दरिलो प्रमाण भेटिन्छ यस कृतिमा। फरक शैलीमा, फरक ढंगले, फरक बिषयलाई, फरक दृष्टिकोण दिनु यो पुस्तकको सकारात्मक पक्ष रहेको छ ।
प्राय: जीवन र उत्सवका बारेमा मात्र चलेका कलमहरूका सन्दर्भमा, यो कृतिले खास अर्थ राख्दछ किनभने यो पुस्तक मृत्युका सन्दर्भका बारेमा छ। यो संसारमा प्राय: धेरैले मान्ने एउटै सत्य ‘मृत्युका बारेमा छ । अर्थात ‘मृत्यु’ जो सत्य छ भन्ने थाहा पाएरपनि मानिस डराउँछ, मृत्युलाई स्विकार्न सक्दैन, हो त्यसका बारेमा छ। प्राय: मृत्युका बारेमा चर्चा कम गरिन्छ तर यदि यसको बारेमा चर्चा गरिने हो र यसले पुर्याउने मानवीय तथा सम्बेदनात्मक क्षती र यसलाई सहन गर्नसक्ने कलाको बारेमा परिचर्चा गर्ने हो भने, मानिस सायदै त्यति दुखी होला जति उ यी सबै कुरा थाहा नपाएर हुन्छ । त्यही भएर यो पुस्तकको महत्व छ। यसले जीवन बाँच्ने कला पनि सिकाउँछ । मृत्यु जस्तो गहन र अपरम्पार विषयलाई लेखकले उठाउने साहास र प्रयास गर्नु यो पुस्तकको सफलता मान्न सकिन्छ ।
परोलक पुगिसकेकी आमाको सम्झनामा चिट्ठीको माध्यमद्वारा संवाद गर्नु, कल्पनामा भेट गर्नु, हरेक दिन दैनिकी लेखेझैँ आमालाई चिट्ठी लेख्नु र आमाको सामिप्यमा रहिराख्नु (भौतिक उपस्थिति नभएपनि आध्यात्मिक, मनोबैज्ञानिक र मानसिक उपस्थिति पाईराख्नु) आमाको मृत्युले दिएको पिडाबाट मुक्ति पाउनु हो । यो लेखन लेखकको लागि ‘थेरापी’ त छंदैछ तर त्यो भन्दा बढी यो पढेर पिडामा रहेका पाठकले समेत आफूलाई फुल्याउन, भुल्याउन र मृत्युलाई स्विकार्न सक्ने उत्तिकै देखिन्छ। कृतिको अर्को बलियो पक्ष हो यो ।
त्यसैगरी, मृत्युका बारेमा भनिएका वा लेखिएका अधिकांस लेख , रचना तथा पुस्तकलाई उद्धरण गर्नु तथा नाम चलेका प्रसिद्द लेखक, गायक तथा सेलिब्रेटीहरुको सन्दर्भलाई जोड्नु यो पुस्तकको अर्को बलियो पक्ष हो। जसको कारण यो पुस्तक विस्वस्निय लाग्छ र प्रेरणादायी ‘मोटिभेसनल’ पनि।
आफ्ना नजिकका मानिस गुमाएका वा पिडामा बाँचेका पाठकका लागि भने यो पुस्तक निकै नै काम लाग्ने देखिन्छ। यो पुस्तकले मलाई घरी- घरी भारतीय लेखक आर. के. नारायणको उपन्यास ‘दि इन्ग्लिश टिचर’को सम्झना गराउँछ। उक्त पुस्तकमा प्रमुख पात्र कृष्णकी श्रीमती सुशिलाको मृत्युले दुखमा परेको कृष्णले कसरी आध्यात्मिक बाटोको साहारा लिएर परलोक गईसकेकी सुशिलासँग सम्बाद गर्छ भन्ने कुरा देख्न सकिन्छ।
यी त भए यो कृतिका बलिया पक्षहरू (यति छोटो समीक्षामा अरु धेरै कुराहरू छुट्न सक्लान्)। यती हुँदा-हुँदै पनि अरू केही कुराहरू समेट्न सकेको भए यो कृति अझ गज्जबको हुन्थ्योकी भन्ने लाग्यो। जस्तो यो कृतिलाई अझ बढी पाठकीय बनाउन सकिन्थ्यो। घरी- घरी लाग्छ यो कृतिको पाठक केवल लेखकको आमा मात्र हो र उहाँको लागि मात्र लेखेको हो वा लेखकले आफूलाई त्यो पिरबाट मुक्ति पाउन आफ्नै लागि मात्र लेखेको हो यद्दपि मृत्युका बारेका विभिन्न सन्दर्भहरूलेपनि यो कृतिलाई केहि हदसम्म पाठकीय नै बनाएको छ।
लागिरह्यो लेखक बसेको ठाउँको, त्यहाँको परिवेशको केहि चित्र आए हुन्थ्यो, मानवीय सम्बेदनामा भएका उथलपुथल सँगै बाहिरको वाताबरण र प्रकृतीको केही ‘कनट्र्यास्ट’ देखाउन पाएको भए हुन्थ्यो, आदि-इत्यादी । केहि ठाउँमा केहि खास नामहरू, सूचीहरू खुलाएर लेखिदिएको भए अझ प्रष्ट चित्र आउँथ्योकी भन्ने पनि लाग्यो। जस्तो ‘कुनै अंग्रेजी कविताको याद आयो’ भनिरहँदा कुन कविताको याद आयो त्यही भनिदिएको भए अझ गज्जब हुन्थ्यो। ड्राईभिङ्ग गरिरहेको बेला बाहिरको मौसम र वातावरणको अलिकति रंग उतारिदिएको भए अझ बढी पाठकीय हुन्थ्यो कि !
र अन्त्यमा, यो पुस्तक पढिरहँदा, मानवीय इच्छाशक्ति, सकरात्मकता, देशको कमजोर स्वास्थ्यअवस्था आदि इत्यादी पनि बुझ्न सकिन्छ र ती सबै कुराहरू मननयोग्य छन्। म ती कुराहरू यहाँ ‘कोर्ट’ गर्न चाहान्न किनकि म चाहान्छु पाठकले पुस्तक नै पढुन, मृत्युलाई चिनुन , त्यसले मानविय सम्बेदनामा पार्ने असर थाहा पाउन र कसरी सहन गर्ने त्यो बुझुन र बुझुन मृत्यु हुनु भनेको ‘घाम अस्ताएको होइन’।
समीक्षक: तुलसी आचार्य
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस