बौद्धिक अपाङ्गहरु


बौद्धिक अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारको समस्या देशका तीनै तहका सरकारले सुनुवाइ नगर्दा समस्यामा पर्दै आएको गुनासो गरेका छन् । अहिले देशभर रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको समस्या पहिचानदेखि हरेक समस्या समाधानमा राज्यले ध्यान दिन नसक्नु मुख्य चुनौतीका रूपमा रहेको बौद्धिक अपाङ्गताका अभिभावकहरुले गुनासो गरेका हुन् ।

बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपालको दसौँ वार्षिक साधारणसभा तथा पाँचाँै महाधिवेशनमा सहभागी हुन यहाँ आएका अभिभावकहरुले राज्यले आफूहरुको समस्याको सुनुवाइ नगर्दा अफ्ठ्यारो भएको बताएका हुन् ।

महासङ्घका केन्द्रीय अध्यक्ष राजु बस्नेत बौद्धिक अपाङ्गताको पहिचानमा नै समस्या रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “देशभरि छरिएर रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको पहिचानमा नै समस्या छ ।” उमेरअनुसार बौद्धिक विकास हुन नसकेका व्यक्तिहरुलाई अपाङ्गतामा राखिएको भए पनि उनीहरुको लालनपालनमा मुख्य समस्या देखिने गरेको उहाँको भनाइ छ ।

उहाँले थप्नुभयो, “सबैभन्दा जटिल अपाङ्गता भनेको बौद्धिक अपाङ्गता हो ।” हेर्दा हट्टाकट्टा देखिए पनि उनीहरु परिवारको सहाराबिना हिँड्डुल गर्न नसक्ने उहाँको भनाइ छ । राज्यले उनीहरुको उपचारका लागि आवश्यक बजेटसमेत विनियोजन गर्न नसक्दा कतिपयको अवस्था दयनीय बन्दै गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मासिक रु पाँचदेखि सात हजारको औषधि खुवाउनुपर्ने हुन्छ । तर राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई रु दुई हजारदेखि चार हजारसम्म मात्रै सहयोग गर्दै आएको छ, यो रकमले औषधि खुवाउने कि उसको लालनपालनमा खर्च गर्ने ?”, उहाँले दुःखेसो पोख्नुभयो । उनीहरुका लागि राज्यले व्यक्तिगत सहयोगीको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

महासङ्घका महासचिव रामनारायण श्रेष्ठले राष्ट्रिय जनगणनाले समेत बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई पछाडि पारेको भन्दै गुनासो गर्नुभयो । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताबाट समेत उनीहरु वञ्चित बन्दा अभिभावकको मन खिन्न हुने गरेको उहाँले बताउनुभयो । उनीहरुका लागि स्रोत कक्षाको सञ्चालन, छुट्टै शिक्षकको व्यवस्था, विद्यालयको व्यवस्था, खेलकुद जस्ता महत्वपूर्ण कामहरु राज्यले गर्न सके अभिभावकहरुले राहत पाउने उहाँको भनाइ थियो ।

पर्वतबाट आउनुभएका गणेश सुवेदीकी १३ वर्षीया छोरीमा बौद्धिक अपाङ्गता देखिएको छ । जन्मँदा राम्रो भए पनि पछि आएर यो समस्या देखिएको उहाँको भनाइ छ । परिवारमा यो समस्या भएको सदस्य भएपछि रोजगारीसमेत छोडेर बस्नुपरेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “नजिकैको सहकारीमा श्रीमतीको रोजगारी थियो । परिवार जेनतेन चलेको थियो । तर अहिले रोजगारी पनि छोड्नु प¥यो ।” छोरी हेर्नका लागि नै भनेर घर बस्नुपरेको उहाँको गुनासो थियो । राज्यले दिवा हेरचाह केन्द्रको व्यवस्था गर्न सके परिवारले केही गरेर खानसक्ने उहाँले बताउनुभयो ।

सप्तरीको राजविराज नगरपालिका–३ का जगदीशप्रसाद आर्यालले ३४ वर्षीया छोरीको हेरचाह गर्दै दिन बिताउने गरेको गुनासो गर्नुभयो । उहाँकी जेठी छोरीमा यो समस्या देखिएपछि आफ्नो कामधन्दा छोडेर छोरीको हेरचाह गर्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब त परिवारको भन्दा पनि समाजको काम गरौँ भन्ने समय आयो तर छोरी हेरेर बस्नुपरेको छ ।” छोरी हेर्नका लागि राज्यले एकजना व्यक्तिको व्यवस्था वा दिवा हेरचाह केन्द्र स्थापना गरिदए सहज हुने उहाँको भनाइ थियो ।

बौद्धिक अपाङ्गता अभिभावक महासङ्घका सदस्य संस्थाहरुले अहिले देशभर २१ स्थानमा दिवा हेरचाह केन्द्र सञ्चालनमा ल्याएका छन् । यसलाई अभिभावकहरुले नै चलाउँदै आएका छन् । उनीहरुले नै व्यवस्थापन गर्दै आएका छन् । विसं २०६८ को जनगणनमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु १४ हजार ८८८ रहेको जनाइएको भए पनि त्यसभन्दा धेरै बौद्धिक अपाङ्गता रहेको महासङ्घको दाबी छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope