टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालन


जिल्लाको रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिकाले रु एक करोड दुई लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान, सडक र उच्च स्थानको खेलमैदान निर्माण गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले तीनवटै योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।

“गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “झिँ–टोड्के सडक र टोड्के हाइअल्टीच्युड खेलमैदान निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।” वडा नं ५ मा पर्ने झिँ गाउँबाट टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रु ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कूल लागत अनुमान रु एक करोड एक लाख गरिएको थियो । गाउँपालिकाका इञ्जीनियर सुदीप गौतमले उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुईवटा प्रतिक्षालय र दृष्यावलोकन गर्ने स्थलसहितको उद्यान बनाउन लागिएको जानकारी दिनुभयो ।

यसैगरी रु ३८ लाख ८० हजार लागत अनुमान गरिएको झिँ–टोड्के सडक निर्माणका लागि बेनीको सम्मान कन्ट्रक्शनसँग रु २१ लाख ६३ हजार ३१ मा ठेक्का सम्झौता भएको छ । सडकलाई फराकिलो बनाउने, ग्रेड, घुम्ती सुधार तथा नाली बनाउने, ढुङ्गा बिछ्याएर सोलिङ गर्ने योजना छ ।

सडक र पदमार्ग निर्माण भएपछि झिँ हुँदै टोड्के जाने पर्यटकहरूले सुरक्षित र सहजरूपमा यात्रा गर्न पाउने वडाध्यक्ष मनबहादुर थजालीले बताउनुभयो । “यात्रा सुरक्षित, सहज हुने, यात्राअवधि र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो, “पाखोको चिप्लो र भिरालो तथा साघुरो कच्ची पदमार्गमा चिप्लिएर लड्ने समस्या थियो ।”

टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनपा–१ को मनिषा निर्माण सेवासँग रु २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । खेलमैदान निर्माण गर्न रु ५१ लाख २० हजार ८८० लागत अनुमान गरिएको थियो । पदमार्ग निर्माण भएपछि समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा गुराँसको जङ्गलको बीचमा अवस्थित टोड्केबाट सूर्योदय, धवलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।

धवलागिरि सेञ्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा स्वर्गद्धारी आश्रमको शाखा र शिव मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावनासमेत छ । स्वर्गद्धारीको शाखा र शिव मन्दिरको जिर्णोद्धार गर्न विस्तृत परियोजना प्रतिवेदन बनाएर पुरातत्व विभागमा प्रस्ताव गरिएको छ ।

गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयको रु १० लाख सहयोगमा सिद्ध सामुदायिक वन उपभोक्ता समूहले टोड्केमा उद्यान निर्माण गरेको थियो । यसैगरी मङ्गला गाउँपालिकाले पूर्णगाउँबाट टोड्के जोड्ने सडक स्तरोन्नति गरेको थियो । यसअघि गण्डकी प्रदेश सरकारको सहयोगमा टोड्केको फेदीमा पर्ने झिँगाउँमा सामुदायिक घरबास सञ्चालन भएको थियो ।

निजी क्षेत्रले दुई वर्षअघि टोड्केमा घरबास र रिसोर्ट सञ्चालन गरेका थिए । दैनिक १०० जना बास बस्न सक्ने टोड्के घरबास तथा रिसोर्ट सञ्चालन भएपछि भ्रमणमा जाने पर्यटकलाई सहज भएको छ । रिसोर्टका सञ्चालक भीमप्रसाद शेरचनले केही समययता आन्तरिक पर्यटकको आगमन र चहलपहल बढेको बताउनुभयो । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को टोलीले मङ्गलबार टोड्केको पर्यटकीय सम्भाव्यता अध्ययन गरेर फर्किएको छ । टोड्््केबाट नयाँ गन्तव्यको अध्ययन सुरु गरेको नाटाका कार्यक्रम संयोजक तारा गौतमले बताउनुभयो ।

“नेपालमा आउने पर्यटकलाई घुमाउने स्थान खोज्न निस्किएका हौँ”, उहाँले भन्नुभयो, “म्याग्दीको टोड्के, मुस्ताङको नाउरीकोट, गुरुसाङबो गुम्बा, भुरतुछो र सेकुङ ताललाई प्रवद्र्धन गर्ने योजना छ ।” पर्यटकीयस्थलहरूको निरीक्षण गरेर पर्यटक ल्याउनका लागि प्याकेज बेच्ने नाटाका प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope