मानव अधिकार उल्लङ्घनका घटनामा कमी आएन

त्रिहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै यो दिवस मनाउने गरिए पनि मावन अधिकार उल्लङ्घनका घटनामा कमी आएको छैन ।
रुकुम–पूर्वमा मात्र पछिल्लो पाँच वर्षको अवधिमा ६७ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम–पूर्वको तथ्याङ्कअनुसार जिल्लामा आव २०७४/७५ मा यौनजन्य महिला हिंसाका घटना एक, आव २०७५/७६ मा १३ वटा, आव २०७६/७७ मा आठ वटा, २०७७/७८ मा ६ वटा र चालू आवको हालसम्म तीन वटा मुद्दा दर्ता भएका छन् ।
यस्तै पछिल्लो पाँच वर्षमा मात्रै ३० वटा ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता भएका छन् । आव २०७४/७५ मा एउटा, २०७५/७६ मा आठ वटा, २०७६/७७ मा १२ वटा, २०७७/७८ मा सात वटा र चालु आवमा दुई वटा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै सोही अवधिमा छ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन् । प्रहरी कार्यालयमा दर्ता भएका घटनाको मात्रै विवरण राख्ने गरिएको छ । सानो जिल्लामा यति धेरै घटना हुनु दुःखद् रहेको अधिकारकर्मीहरुले बताएका छ्न ।
जिल्लामा अन्य पनि धेरै मानव अधिकार उल्लङ्घनका घटना घटिरहेका छन् । जातीय विभेद, बोक्सीको आरोपलगायत घटना पनि हुने गरेका छन् तर प्रहरी कहाँ पुग्न सकेका छैनन् । ग्रामीण भेगका सर्वसाधारण अझै पनि न्यायको ढोकासम्म पुग्न समस्या झेलिरहेका छन् । उनीहरुले हिंसा सहन बाध्य भएका छन् । विशेषगरी धेरैजसो अपराधका घटना हुनुमा लागुऔषध, मदिराजन्य पदार्थ सेवन नै रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार सर्वसाधारण सबैमा कानूनसम्बन्धी चेतना र ज्ञान नहुँदा पनि यस्ता घटना हुने गरेका छन् । यस्ता अपराधका घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालयलगायत मातहतका प्रहरी युनिटबाट जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस