कांग्रेस महाधिवेशन : चितवनबाट पहिलोपटक केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित

नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य अहिलेसम्म कोही हुन सकेका थिएनन् ।
चौधौँ महाधिवेशनबाट कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठ, तत्कालिन संविधानसभा सदस्य अञ्जनी श्रेष्ठ, नेता दिनेश कोइराला र शान्ति परियार विक निर्वाचित हुनुभएको छ । महाधिवेशनमा जिल्लाबाट १३ जनाले केन्द्रमा उम्मेदवारी दिएका थिए । कांग्रेसको राजनीतिमा पाँच पटकसम्म चितवनको सभापति भएर काम गर्नुभएका गुरुङ आदिवासी जनजाति कोटाबाट केन्द्रीय नेतृत्वमा पुग्न सफल हुनुभएको हो ।
विसं २०१८ देखि कांग्रेसको राजनीतिमा सक्रिय गुरुङले २०७० सालको निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई चितवनबाट जिताउन टिकटसमेत त्यागेर सहयोग गर्नुभएको थियो । यस्तै व्यापारिक पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा आउनुभएका श्रेष्ठ हाल प्रधानमन्त्री कार्यालयका बहालवाला राज्यमन्त्री हुनुहुन्छ । केही समय स्वास्थ्य राज्यमन्त्री बन्नुभएका श्रेष्ठ शिक्षा, स्वास्थ्य, जलविद्युत् र पर्यटन व्यवसायसँगै बैंकिङ क्षेत्रका ठूला लगानीकर्ता हुनुहुन्छ । श्रेष्ठ पनि चितवनबाटै प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय जिम्मेवारीमा पुग्न सफल हुनुभएको हो । पार्टीको १३औँ महाधिवेशनमा पनि महासमिति सदस्य हुनुभएका श्रेष्ठ चितवन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।
तत्कालिन संविधानसभा सदस्यको जिम्मेवारीसमेत निर्वाह गरी सक्नुभएका श्रेष्ठ अहिले प्रतिनिधि सभा सदस्य रहनुभएको छ । नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएकी नेत्री अञ्जनी श्रेष्ठ पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । आदिवासी जनजाति कोटाबाटै केन्द्रीय समितिमा प्रवेश गर्नुभएकी श्रेष्ठ तत्कालिन संविधानसभा निर्वाचनपछि समानुपातिक तर्फबाट संविधानसभा सदस्य बन्नुभएको थियो । कांग्रेस चितवनको जिल्ला कार्यसमितिमा रहेर काम गर्नुभएका उहाँ पद्मकन्या क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनकी सभापतिसमेत भएर काम गर्नुभएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस