बालबिवाहका कारण शिक्षाको अवसरबाट वञ्चित

धौलागिरि गाउँपालिका–३ मुनाकी २० वर्षीया सरु रसाइली आमा बनेको तीन वर्ष भयो । सोह« वर्षको उमेरमा भागी विवाह गरेकी मालिका–१ निस्कोट माइती भएकी सरु १७ वर्षमै आमा बन्नुभएको हो ।
पन्ध्र वर्षकै उमेरमा विवाह गरेकी मुनाकै २५ वर्षीया यामकुमारी पुन दुई सन्तानकी आमा बनिसक्नुभएको छ । “र्नौ कक्षा पढ्दापढ्दै विवाह भयो”, पुनले भन्नुभयो, “बिहेपछि पढाइलाई निरन्तरता दिन सकिन ।” अन्नाइस वर्षको हुँदा विवाह गरेकी पूर्णकला पुनले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरे पनि त्यसभन्दा माथिल्लो तहको शिक्षा हासिल गर्न विवाह गरेकै कारण बञ्चित हुनुपरेको बताउनुभयो । दुई सन्तानकी आमा बनिसक्नुभएकी पूर्णकलाले उमेर नपुग्दै गर्भवती र सुत्केरी हुँदा समस्या भोग्नुपरेको बताउनुभयो । सरु, यामकुमारी र पूर्णकलालाई बालविवाह गरेकामा पछुतो लागेको छ ।
शारीरिक र मानसिकरुपमा परिपक्क नहुँदै विवाह गरेका कारण श्रीमान्श्रीमतीले एक–अर्कालाई बुझ्ने विषयमा एकरुपता नहुँदा झगडा हुने गरेको उहाँहरुको अनुभव छ । आफूहरुले भोगेको पीडा अरुलाई नपरोस् भनेर दश वर्षअघि बालविवाह गरेका अहिले सङ्गठित भएर बालविवाहविरुद्धको अभियानमा जुटेका छन् । “कानुनी हिसाबले अपराध मानिने बालविवाह गर्दा आर्थिक, शैक्षिक, शारीरिक र सामाजिकरुपमा धेरै क्षति ब्यहोर्नुपरेको छ”, सरुले भन्नुभयो, “हामीलाई जस्तो समस्या नपरोस् भनेर बेलैमा सचेत बनाउन लागिएको हो ।”
आयआर्जन समूहमा आबद्ध भएर मासिकरुपमा बचत गर्ने, सहुलियत ब्याजदरमा ऋण लिएर व्यवसाय गरी आत्मनिर्भर बन्ने प्रयासका साथै बालविवाहको जोखिममा रहेका किशोरकिशोरीलाई परामर्श दिने र बालविवाह हुन नदिने वातावरण बनाउन पहल गरेको उहाँ बताउनुहुन्छ ।
बालविवाह हुन लागेको सूचना पाएमा सम्झाइबुझाइ गर्ने उनीहरुले नमान्नेलाई कानुनी कारबाहीका लागि वडा, पालिकाका जनप्रतिनिधि र पालिकामा खबर गर्छन् । धौलागिरि गाउँपालिकाका २, ३, ४ र ७ नम्बर वडामा गल्र्स फस्ट फण्ड परियोजनाअन्तर्गत सङ्गम म्याग्दीमार्फत सन् २०१९ देखि बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस