मधेश प्रदेश कायम भएसँगै मधेसी जनताको ठूलो सपना पूरा भएको छ : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताउनुभएको छ । प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्गयाएपछि रासससँग संक्षिप्त कुरा गर्नुहुँदै मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेशी जनताको ठूलो सपना पूरा भएको बताउनुभयो ।
“मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ”, मुख्यमन्त्री राउतले भन्नुभयो, “मधेश आन्दोलनको भावना र मधेशी जनताको चाहनाअनुरूप मधेश प्रदेश कायम भएको छ, यो हामी सबैको गौरवको कुरा हो ।” यसबाट शहीदहरुको सम्मान भएको उहाँको भनाइ थियो ।
मधेस प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँँदै उहाँले यसबाट उत्पीडित वर्ग, समुदायको मुक्तिका लागि अघि बढ्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । मधेश प्रदेश स्थापनाका लागि सहयोग पु¥याउने सबै प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी लगायतलाई धन्यवाद ज्ञापन दिँदै मुख्यमन्त्री राउतले सम्पूर्ण प्रदेशबासी, देशबासीमा बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभएको छ । प्रदेश सरकार गठन भएको चार वर्षपछि आज नाम मधेस र राजधानी जनकपुरधाम प्रदेशसभाबाट पारित भएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस