र मैले यसरी ममीको श्राद्ध गरेँ …

मानिसका जीवनमा अप्रत्यासित र अपत्यारिला धेरै घटना घटिरहेका हुन्छन् । मेरो जीवनमा पनि अति नराम्रो र कहिल्यै बिर्सनै नसकिने घटना घट्यो ।
मेरो बाबा र ममी दुबैलाई मैले चार महिना, मात्रै चार महिनाको फरकमा गुमाए । ममी बितेको चार महिनामै बाबा बित्नुभयो । ६३ पुग्नुभएको मेरो बाबा र ५५ पुग्नुभएकी मेरी ममीलाई आफनै हातले दागबत्ति दिए । मेरै आँखा अगाडी बाबा र ममीको शरिर पूर्णरुपमा खरानी भयो ,एकैछिनमा धुँवा बनेर उड्नुभयो र खरानी बनेर रहनुभयो । फिल्म जस्तै भयो ।
एकपछी अर्को बज्रपात । मानिसलाई एउटा बज्रपातबाट बाहिर आउन बर्षो लाग्छ तर मैले त केही महिनामै मेरा बाबा र ममी जो मेरा आकाश र धर्ती थिए दुबैलाई गुमाए । न माथीको आकाश रह्यो न तलको धर्ती ।
बाबा र ममीको हामी दुई छोरीहरु जसमा म कान्छी छोरी । छोरी भएर पनि छोरा झैँ र्हुकाउनुभयो हामीलाई , दुःखमा पनि राजकुमारी झैँ पाल्नुभयो । जीन्दगीभर हामीलाई असिम माया दिनुभयो ।
पहिला ममी बित्नुभयो । न कहिल्यै बिरामी न अन्य रोग । बिरामी त बाबा हुनुहुन्थ्यो । बिरामी बाबालाई उपचार गराउन लिएर आउँदा बाटामै ( सायद हटएट्याक,डाक्टरको अनुसार) ले उहाँको निधन भयोे । अझैपनि ममिको मृत्यु मलाई सामान्य लाग्दैन, मेरो मन कदापी मान्न खोज्दैन किनभने अघिल्लो साँझमात्रै फोनमा बोलेर सुतेकी थिए म । भोलीपल्ट झिसमिसे उज्यालोमा त्यसरी अचानक ममीले छोड्नुभयो भन्ने कसरी पत्ताउनु र ?
ममी र बाबा बित्दा भावविवह्लल भएका दिदी र मलाई समातेर घाटसम्म लगियो, दागबत्ति दिन लगाइयो । दागबत्ति हामीसँगै हाम्रै दाजुभाई खलकका दुई दाजुले पनि दिनुभो । ठूलोबुवाका छोराहरुले दागबत्ति मात्रै दिनुभएन, कपाल खौरनुभयो र सेतो कछाड बेर्नुभो क्रिया गर्न । पण्डितले आफनै दाजुभाई नभएपनि भाइखलकका भएपनि दाईभाई नै चाहिन्छ क्रिया गर्न भनेर अड्डी कसेका थिए ।
बेहोस हामी दिदिबैनी । दिमाग सुन्य, प्राण भएर पनि निष्प्राण थियो दिदी र म मा त्यो बेला । न पण्डितसँग तर्क बितर्क गर्ने हिम्मत थियो न आफनो इच्छा राख्ने । चुपचाप बेहोसीमै घर फर्कियौ । क्रियापुत्री छोरीले लगाउने रातो सारी नितम्बमाथी बे¥यौ , कपाल फिँजायौ र एउटा कोठामा दिदि र म बस्यौ अनि अर्कोमा दाजुहरु ।
पण्डितले छोरीरुको पाँच दिनमा फुक्छ , नुन खान हुन्छ भने । मेरी सानी छोरी भएकीले मलाई सबैले १३ दिननै क्रियाकर्म गर्न दिनुभएन । “पाँच दिनभन्दा बढी क्रिया बस्यो भने त बाउआमालाई भार पर्छ बाउआमालाई भार पाछौँ त अब मरेपछी पनि” त्यही भिडमा केही महिलाको आवाज सुनियो । अहो बाचुन्जेल त बाउआमालई नरुवाएका हामी मरेपछी झन् कसरी रुवाउन सक्थ्यौ र ? मैले माने म पाँच दिन नै बसे तर मेरी दिदि १३ दिननै बस्नुभो ।
हेर्दाहेर्दे १३ दिनको क्रियाकर्म सकियो, क्रिया बस्नुभएका ठुलाबाका छोराहरु आ—आफनो दैनिकीमा फर्कनुभो । बार्षिकी आयो, बार्षिकीमा पनि क्रिया बसीदिनुभएका दाजुहरुलाई बोलाएर श्राद्ध गरियो ।
त्यो बेलामा पण्डितले सुनाए अब हरेक बर्ष श्रोह श्राद्ध र मरेको तिथीमा श्राद्ध गर्नुपर्छ । म झस्किए, अब हरेक बर्षमा आउने श्राद्ध गरिदेउ भन्दै म ति दाईहरुकोमा कति बर्ष जाउँ ?? के त्यो सम्भव होला ?मेरा बाबाममीको श्राद्ध कसले गरिदेला भन्दै दाईभाई खोज्दै हिँडौ? के छोरीहरु सन्तान हैनन् ?? मेरा बा आमाले आफनै कोखबाट जन्मेका सन्तानले गरेको श्राद्ध र सिदा के तिरष्कार गर्लान त??
धेरैपटक सोचे । अहँ मनले मान्दै मानेन दुई—चार बर्ष त ठूलाबाका छोराहरुलाई अनुरोध गरौँला तर जीवन पर्यन्त के त्यो सम्भव होलाा र ? छोरालो रक्सीले मात्तिएर चोखो गरी नबसिकन नै श्राद्ध गर्दा पिण्ड बटार्दा बाउआमाले पाउने तर छोरीहरुले अघिल्लो दिनबाट नै विधि पुरयाएर, चोखो भएर श्राद्ध कर्म गर्दा बाउआमाले नपाउने भन्ने त हुँदैन होला ? यस्तै कुरा मनमा खेले ।
एक दुई जना पारिवारिक वृद्ध सदस्यहरुलाई सोधे उहाँहरुले कहाँ छोरीले श्राद्ध गर्ने ? हुदैन? भनेर जिब्रो टोक्नुभयो । छोराले पिण्डदान गरे पो पाउँछन् त पितृले छोरीले दिएको त पाउँैनन ? विचमै रहन्छन् ,पार पाउँदैनन? आदि ईत्यादी….
धेरै सोचे । हरेक कोणबाट सोचे, केलाए । मलाई चोट लाग्दा सबैभन्दा बढी दुखी हुने मेरा बाबा ममी नै थिए , अनि मेरा खुसीमा पनि सबैभन्दा खुसी हुने उहाँहरुनै हुनुहुन्थ्यो । न मेरा ईष्टमित्र न छिमेकी न नातादार कोही थिएनन् मात्रै मेरा बाउआमा थिए जो भित्रैबाट मेरो खुसीमा रमाउँथे र भित्रैबाट दुखी हुन्थे ।
ममीबाबाको जन्मदिन आउँदा भए केक नभए एक गिलास पानी नै भएपनि दिदि र मेरा हातबाट पिउँदा सबैभन्दा खुसी हुने, तृप्त हुने मेरा बाआमा मरेपछी उहाँहरुको तिथीमा दिदि र मैले गरेको श्राद्ध र सिदा दान पाएर के खुसी नहोलान् र ? रातभरी मनमा हुरी चल्यो ।
मनले भन्यो, घरमा मैले ममीको लागि कुर्था किनेर लगिदिँदा हर्षका आँशु झार्ने मेरी ममी के अब मरेपछी ममीको नाममा कोही गरीब—दुखीलाई कुर्था दान गर्दा तिरष्कार गर्नुहोला र ? मरेपछी के छ , छैन कसले देखेको छ र ? न कसैले स्वर्ग र नर्क भोगेर आएको छ ? के दुईचार जनाले भने भन्दैमा म मेरा बाबाममी प्रतिको कर्तब्य नगरी बसौ त ? के मरेपछी सन्तानको कुनै कर्तब्य हुँदैन र ? त्यसमा पनि हामी छोरीहरुको विहे हुने बित्तिकै आफना बाउआमाप्रतीको कर्तब्य सकिन्छ र ?? अनेक अनेक कुरा मनमा खेलिनै रहे । मनको आँधीबेहरीलाई शान्त पार्दे एउटा निर्णयमा पुगे मर्नेबेलामा छोरा जसरी क्रिया गर्न नपाए त के भो जिन्दगीभरी बाउआमाको तिथीमा श्राद्धकर्म त गर्न सक्छु नि । र अन्ततः ममीको श्राद्ध गर्ने मैले अठोेट गरे ।
भोलीपल्ट बिहानै पशुपती गए । त्यहाँ श्राद्ध गराउन बसेका बाहुनहरुको लस्कर नै थियो । चाहिने सामाग्री सबै लिएर गएको थिए , मेरो श्रीमानले हर कुरामा मलाई साथ दिनुभयो, यतिसम्मकी श्राद्धमा चाहिने सामाग्री जुटाउन उहाँ नै दौडधुप गर्नुभयो ।
एकजना बाहुनसँग कुरा गरे । श्राद्धका सामाग्रीहरु फिँजारे र पण्डितलाई भने “ गुरु बाँचुन्जेल छोरा भन्दा केही कुरामा पनि हामी छोरीलाई कमी हुन नदिई मेरा बाबाममीले र्हुकाउनुभयो, सक्षम बनाउनुभयो , अर्काका जुठा भाँडा माझेर पनि दिदि र मलाई डिग्री होल्डर बनाउनुभयो मेरा बाबाममीले । अहिले दुबै यो संसारमा हुनुहुन्न, अब उहाँका मृत्युपछीका कर्महरु पनि म छोरा जसरी नै गर्ने हो, केही विधि नघटाईकन श्राद्ध कर्म गराउनुहोला”।

मेरो कुरा सुनेर पण्डित गुरु एकछिन ट्वाँ पर्नुभयो र पछी भन्नुभो “तपाईजस्ती सन्तान पाएकोमा तपाईका बा—आमा धन्य हुनुह्ुन्छ, तपाई जस्ती छोरी पाउने हर कोहीको स्वर्गमा बास हुन्छ म कुनै विधि नघटाई एउटा छोराले गर्दा जे—जे प्रक्रिया हुन्छ त्यो सबै गराउनेछु नानी, ल बस्नुहोस र पिण्ड दान गर्ने कर्म सुरु गर्नुहोस ।”
पण्डितले भने बमोजिम मैले सबै गरे, पिण्ड बटारे, जल तर्पण गरे, ममी मात्रै हैन ममी र बाबाकातिर स्वर्गे भएकाजती सबैलाई सम्झे, तर्पण दिए, ब्राम्ह्मण दक्षिणा, बस्त्रदान आदी—इत्यादी सबै गरे ।
मन सा्रहै सन्तुष्ट भयो, ढुक्क भयो । श्राद्ध सकिसकेपछी फेरी एकपटक पशुपतीको गजुरतिर हेरेर शिरमाथी पारेर बाग्मतीको जल चढाए, चढाएको जलको धाराभित्रैबाट पशुपतीको गजुरमाथी बसेर बाबा र ममी मुसुक्क मुस्कुराएको आकृती स्पष्ट देखे । मैले गरेको कर्म देखेर बाबाममी सन्तुष्ट भएर मुस्कुराएको हो की जस्तै लाग्यो । म धन्य भए ।
ममीको श्राद्धपछी पशुतिबाट फर्कदै गर्दा अर्को अठोट गरे अबको चार महिनापछी फेरी बाबाको मरेको तिथी आउनेछ, त्यसमा पनि यसरी नै श्राद्ध गरेर फर्कनेछु । र मनमनै प्रण गरे छोरा वा छोरी हैन, एउटा सन्तान भएपछीको यो कर्तब्य म जीवनरहेसम्म पुरा गर्नेछु ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस