सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान

मङगलबारे, २६ माघ (रासस) :
इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो ।
इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ ।
नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर विनायक भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार विमानस्थल कालोपत्र भएपछि परीक्षण उडान भएको छैन । विमानस्थल कालोपत्र गरिनु अघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो । काठमाडौँबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज एक घण्टा दुई मिनेटमा सुकिलुम्बा अवतरण गरेको थियो ।
ताप्लेजुङमा बिहान ७ बजे यात्रु लिएर आउने नेपाल एयरलाइन्सको जहाज सुकेटार विमानस्थलमा यात्रु ओरालेर इलाम आउने बताइएको छ । विमानस्थलको फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसअघि फागुन ८ गतेदेखि व्यावसायिक उडानका लागि तारा एयर र इलाम नगरपालिकाबीच सम्झौता भइसकेको छ । –––
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस