चलायमान भूगोलमा नेपाल

शक्तिशाली नेतृत्व भएन भने देश गरिब हुने हो। देशलाई धनी बनाउने काम गरेरै हो। बोलेर र दम्भ देखाएर होइन।


एउटै देश सधैं शक्तिशाली रहिरहन्छ र त्यही देश विश्वको मानक भइरहन्छ भन्ने हुँदैन। समय, परिवेश, नेतृत्व, द्वन्द्व र अरू कयौं प्राकृतिक तथा कृत्रिम हलचलहरूले कुनै पनि देशलाई उल्ट्याइदिन सक्छन्। वर्षौंसम्म शक्तिशाली भएर बाँचेको कुनै देश पनि निमेषभरमै धुलाम्य हुन सक्छ। हिजोका साम्राज्यहरू आज छैनन् र विस्तारै उदाउँदै गरेका छन् हिजो कहीँ कतै गर्भमा लुकेका देशहरू। यो संसारमा कुनै पनि कुरा स्थिर छैन। सब चलायमान छ। कहिल्यै नसोचेको चीन अहिले अमेरिकाको नै अर्थतन्त्रलाई उछिन्न खोज्दैछ। हिजोका साम्राज्यहरू आज ढलेका छन् र हिजोका कमजोर र औपनिवेशीकरण गरिएका राष्ट्रहरू शक्तिशाली भएका छन्। यसले के देखाउँछ भने देश, राष्ट्र वा भूगोलको सीमा, शक्ति, सञ्चय, सामथ्र्य सधंैभरि एउटै नरहन सक्छ। रहने भनेको हामी बाँचेको र जन्मेको भूगोलमा हामीले गर्न सक्ने अर्थपूर्ण र महत्त्वपूर्ण कामहरू मात्रै हुन्। जस्तो हजारौं वर्षअघिका सभ्यताहरू आजसम्म जीवित छन्।

भनिन्छ, करिब ३० करोड वर्ष अगाडि पृथ्वी एउटै डल्लो थियो। त्यहाँ अहिलेको जस्तो सातवटा महादेश थिएनन्, थियो त एउटै महादेश। तपाईंले विश्वको नक्सा हेर्नुभयो र कल्पनातीत हुँदै एकछिन घोत्लिनुभयो भने पनि त्यस्तै लाग्छ कि कुनै जमानामा यो सारा पृथ्वी एउटै जमिनको ठूलो डल्लो थियो सायद र पछि टुक्राटुक्रा भयो। जमिनको भाग छुट्टिएर ठाउँठाउँमा अलग्गियो। कतै ‘आइल्यान्ड’ बन्यो, त कतै फराकिलो भूगोल र विस्तारै सातवटा महादेशमा विभाजित भयो। ‘टेक्टोनिक प्लेट’को सिद्धान्तअनुसार पृथ्वी अहिलेको यो स्वरूपमा रूपान्तरित हुनपुग्यो। उक्तकुरा टिया घोसे र लौरा गेगेलले लेखेको लेख ‘पाञ्जियाः फ्याक्ट्स अबाउट एन एन्सिएन्ट सुपर कनटिनेन्ट’मा समेत उल्लेख गरेका छन्।

शक्तिशाली नेतृत्व भएन भने देश गरिब हुने हो। देशलाई धनी बनाउने काम गरेरै हो। बोलेर र दम्भ देखाएर होइन।

यो सम्झिरहँदा यस्तो लाग्छ कि कुनै दिन फेरि ‘टेक्टोनिक प्लेट’को सिद्धान्तअनुसार अर्थात् पृथ्वीमा एउटा हलचल आइदिएर ती जमिनका सबै टुक्राहरू एकै ठाउँ गएर मिल्नेछन्। हेरिरहँदा त्यतिसम्म पर पुग्छ मानवीय कल्पना कि सबै देशहरू एकै ठाउँ जोडिएर फेरि एउटै भूगोल, एउटै महादेश वा एउटै साम्राज्य हुनेछन्। एकोहोरो विश्वको नक्सामा हेरिरहने हो भने यस्तै लाग्छ कि ती भूगोलका टुक्राहरू बच्चाहरूले खेल्ने ‘लेगो’ जस्तै हुन्। कुनै ठूला त कुनै साना जसलाई एकै ठाउँमा मिलाएर फेरि पनि राख्न सकियोस्। उदाहरणका लागि यदि तपाईंले उत्तर अमेरिका, दक्षिण अमेरिका र अफ्रिकालाई हेर्नुभयो भने यस्तो लाग्छ। तपाईं तिनै महादेशलाई सँगै नजिकै लगेर खाप–खापमा मिलाउन सक्नुहुन्छ। यसले हामीलाई ३० करोड वर्ष अगाडिको पृथ्वीको आकारको याद दिलाउँछ। झन्डै विश्वस्त बनाउँछ कि पृथ्वी एक जमानामा साँच्चै एउटा सिंगो महादेश थियो। नटुक्रिएको, नफुटेको एउटा भूगोल थियो र पछि विस्तारै, भौगोलिक विचलन, ‘प्लेट टेक्टोनिक’ आदिका कारणले छुट्टिँदै र टुक्रिँदै गयो। महासागर र समुद्रहरूले तिनीहरूलाई तन्काउँदै र टुक्र्याउँदै लगे। कुनैलाई कता सार्‍यो, कुनैलाई कता पार्‍यो।

कुनैलाई एउटा ‘आइल्यान्ड’को रूपमा मात्रै अस्तित्व खडा गर्दियो। कुनैलाई टापुमा सीमित राख्यो। यदि त्यसो हो भने हामी त्यो अनुमानको हदसम्म पुग्न सक्छौं। भन्न सक्छौं कि के थाहा भोलि फेरि यी जमिनका सबै टुक्राहरू एकै ठाउँ जोडिनेछन्। त्यहाँ एउटै मात्र महादेश हुनेछ वा आज शक्तिशाली भनिएका देशहरू कतै कुनै समुद्रकै गर्भमा बिलाउनेछन् वा नयाँ देशहरूको उदय हुनेछ। पिटर स्नोको पुस्तक ‘अ हिस्ट्री अफ वल्र्ड म्याप बाई म्याप’ मा इतिहासको क्रम र भौगालिक इतिहास हेर्दा कोही कसैको कल्पना यति परसम्म तन्किन्छ। लाग्छ, कहिलेकाहीँ जमिनको हलचलले समुद्र र भूगोलको सिमानालाई हल्लाइदिन सक्छ। भूपरिवेष्टित देश नेपालको वरिपरि बन्दरगाहै बन्दरगाह हुन सक्छ भने भारत र चीन भूपरिवेष्टित राष्ट्र पनि हुन सक्छन्। यदि त्यस्तो हुन पनि सक्छ भने त देशको भौतिक सिमाना त केही होइन रहेछ।

कहिलेकाहीँ त सभ्यतासमेत बिलाएर जान सक्छ। उदाहरणका लागि भारतको ‘इन्दस भ्याल्ली’ सभ्यतालाई नै लिउँ। जुन सभ्यता पछि ‘कोल्याप्स’ भएर गयो। त्यसको पछाडि एउटै कारण थियो, ‘टेक्टोनिक सिफ्ट’को असर। इतिहासले त्यही भन्छ। लाग्छ, यदि यस्ता हलचल भइराख्ने हो भने कुनै पनि देशले आफ्नो भूगोलको फैलावटको घमण्ड नगरे पनि हुने रहेछ। भूगोललाई यस्ता प्राकृतिक उथलपुथल जस्तो भुइँचालो, भोल्क्यानो, नदी र समुद्रले थाहै नपाई प्रभाव पार्न सक्ने रहेछ। मानवको उत्पत्तिसँगै भूगोलको ‘एक्सप्लोर’ भएको हामीले पढेकै हौं। एक जमानामा कुनै पनि देश भूगोल कोही कसैका लागि पेवा थिएन। मेरो देश र तेरो देश भन्ने सिमाना थिएन। मान्छेले जब अतिक्रमण गर्न थाल्यो भूगोलमाथि र यो मेरो हो भन्न थाल्यो अनि शक्ति र घमण्डको उन्माद चढ्न थाल्यो उसमा। अनि रिस र ईष्र्या जन्मिन थाल्यो। त्योसँगै सभ्यताको विकास त भयो तर मानिस केही हदसम्म असभ्य र क्रूर पनि हुन थाल्यो।

हिजोको दिनमा भूगोल सबैको थियो। मनलागी जो जहाँ पनि जान सक्थ्यो। खैर समय लाग्थ्यो। स्रोत र साधन थिएन सहजताको। तर त्यो नभए पनि ढिलो चाँडो भौतिकरूपमा आफूलाई त्यहाँ पुर्‍याउन सकिरहेकै थिए मानिसले। अहिले प्रविधिको युगसँगै हरेक कुराको सहजता छ। ‘ग्लोबलाइजेसन’ ले संसारलाई नजिक बनाएको छ। प्रविधिको माध्यमबाट भौतिकरूपले त्यहाँ नपुगिकनै मानिस त्यो ठाउँमा पुग्न सक्छ। तर आजभोलि भने देशका सिमानाहरू हाम्रो भौतिक शरीरको उपस्थितिका लागि त्यतिकै बाधक पनि भएका छन्। ‘सानो’ र ‘ठूलो’ देशका आधारमा पहुँचताको निर्भर हुन्छ। हिजो जस्तै हिंस्रक नै छ शैली। अलिकति आधुनिकता थपिएको मात्र हो। बर्बरता त उही छ।

भूगोलको उत्पत्ति, फैलावट, राष्ट्र र देशको विस्तारसँगै तिनीहरूको पतनको पनि सम्भावना त्यत्तिकै छ। इतिहास हेर्दा लाग्छ यो संसारमा कुनैको अस्तित्व चिरस्थायी छैन।

रुसोले भनेजस्तो आधुनिकताले मानिसलाई अझ आडम्बरी बनाएको छ। दया, माया र करुणा व्यक्तिगत र निहित स्वार्थका कारण ओझेलमा परेको छ। किन हो यस्तो लाग्छ आजभोलि मानिसहरू आधुनिकताका नाममा हामी हाम्रो समाजलाई अझ बढी ‘क्लोज्ड’ बनाउँदै लाँदैछौँ। डिजिटल युगको नाममा ‘मल्टिकल्चरालिज्म कन्सेप्ट’लाई ल्याउँदैछौ तर अगाल्न सकेको छैनौं। एउटा विरोधाभाष जीवन बाँच्दैछौँ कि झैं लाग्छ। हामी सानो र ठूलो देशको विवादमा अल्झिरहेका छौं। भूपरिवेष्ठित देश वा भूगोलको कैदी हुनु या नहुनुका फाइदा र बेफाइदामा अल्झिरहेछौं। हटेको छैन बलियोले निर्धोलाई मिच्ने, हेप्ने र थिचोमिचो गर्ने। बरु हिजोभन्दा त्यो आज बढी छ। हिजो जो जता पनि जान सक्थ्यो र जुन भूगोलको माटो टेके पनि उसलाई आफ्नै लाग्थ्यो। तर हिजोको भन्दा बलिया छन् आजका सिमानाहरू। सिमानामा काँडेतारहरू छन्। ‘कमजोर’ र ‘गरिब’ देशहरू निरीह छन्। ‘शक्तिशाली’ राष्ट्रहरूको बोलवाला छ।

तर एउटा कुरा के बुझ्नु जरुरी छ भने भूगोलको उत्पत्ति, फैलावट, राष्ट्र र देशको विस्तारसँगै तिनीहरूको पतनको पनि सम्भावना त्यत्तिकै छ। इतिहास हेर्दा लाग्छ यो संसारमा कुनैको अस्तित्व चिरस्थायी छैन। बरु छ त तिनै राष्ट्रले दिन सक्ने सिर्जनात्मक कलाहरू वा निर्माण गरेका सभ्यताहरू जसको अस्तित्व हजारौं, लाखौं वर्षसम्म रहिरहन्छ। हामीले दम्भ छोडेर त्यस्ता सिर्जना गर्नतिर लाग्यौं भने बरु देशलाई समृद्धितिर लान सक्छौं। हामीले देखेका छौं आजभन्दा लाखौं वर्ष अगाडिका अनौठा र कलात्मक तथा सिर्जनात्मक रहस्यहरूबाटै त्यो देश र भूगोलको बारेमा थाहा भएको। हामीले थाहा पाएका छौं ग्रिकहरूले हामीलाई के र कस्ता सभ्यताहरू दिएर गए। युद्धमा मरे पनि वा भूगोलमा कुनै उथलपुथल आए पनि बढी महत्त्व उनीहरूको कालमा कस्ता सिर्जना भए त्यो बढी चाखको विषय छ आजका दिनमा पनि। त्यसैले त आजसम्म हामी पढिरहेछौं, मेसोपोटामिया, इजिप्ट र इन्दस सभ्यताका कुराहरू। दम्भ र युद्धले बनाएका सिमानाहरू घाउका डोबहरू हुन् तिनीहरूको इतिहास रगतपिच्छे हुन्छ। सम्झनामा रहने भनेको सभ्यता र समृद्धिको इतिहास हो जसमा हामीले जोड दिनुपर्छ।

भनिन्छ, आवश्यकताले आविष्कारको खोजी गर्छ। हामी हाम्रै देशभित्रका स्रोतहरूको खोजी गर्न छोडेर अर्काको देखासिकी र ईष्र्यामा समय खेर फालिरहेका छौं। कत्राकत्रा साम्राज्य त ढलेका इतिहास छन्, भोलि मै हुँ भन्नेहरू ढल्छन्, ढलेका छन्। त्यही भएर सबैले मन लगाउने भनेको आफ्नै स्रोत, साधन र सिर्जनामा हो। अरूको ईष्र्या वा देखासिखीमा होइन। देश जति नै धनी या गरिब भए पनि प्राकृतिक विपत्ति आइलाग्यो भने त्यसका अगाडि सबैले घुँडा टेक्नै पर्छ। अहिलेसम्मको इतिहास हेर्दा यस्ता प्राकृतिक विपत्ति र महामारी गरिब देशलाई हुने र धनी देशलाई नहुने भन्ने हुन्न। यो रोग, महामारी र युद्ध कहिल्यै नसकिने तर चलिरहने कुरा हुन्। पिटर स्नो लेख्छन्, ‘त्यो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहन्छ। त्यसबेला कसरी संयमित हुने र सामना गर्ने भन्ने कुरा महत्त्वपूर्ण रहन्छ।’

देशलाई धनी बनाउने काम गरेरै हो। बोलेर र दम्भ देखाएर होइन। अमेरिका किन धनी भयो ? अनि हामी किन गरिब भयौं ? मानवशक्तिलाई प्रयोगमा ल्याउन नजानेपछि हुने हो देश गरिब, भूगोल सानो, भूगोलको कैदी। देशमा शक्तिशाली नेतृत्व भएन भने देश गरिब हुने हो। शक्तिशाली नेतृत्वले ‘मेरिट बेस्ड’ नेतृत्वलाई ठाउँ दिएन भने हुने हो देश गरिब। जो क्षमतावान् छ, उसले ठाउँ पाउनु पर्नेमा जसले गुलामी गर्न सक्छ त्यसले ठाउँ पायो भने हुने हो देश गरिब। नेपोलियनले क्षमतामा विश्वास गरे तर हाम्रा नेताले आफूलाई गरेको प्रशंसामा। देशको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने भनेको उद्योगधन्दाले हो। अनि देशभित्रकै स्रोत र साधनको सही सदुपयोगले हो। जुन कुरा इतिहासले प्रमाणित गरिसकेको छ।

‘प्रिजनर्स अफ जियोग्राफी’ अर्थात् ‘भूगोलका कैदीहरू’ नामक पुस्तकमा माटिम मार्सल लेख्छन् कि भौगोलिक बनोट र शासकीय व्यवस्थाले देशलाई समृद्ध बनाउने होइन। बरू त्यही भौगोलिक अवस्थिति र पद्धति सुहाउँदा स्रोतहरूको खोजी र तिनीहरूको सही सदुपयोगले देशलाई उन्नत बनाउँछ। त्यसले आर्थिक परिवर्तन मात्रै गर्दैन, सामाजिक र सांस्कृतिक परिवर्तन पनि गर्छ। देशको विकासको इतिहास हेर्ने हो भने त्यो देशले बढी विकास गरेको देखिन्छ। जसले विकासमा बाधा पुर्‍याउने तत्त्वहरूलाई हटाइदिन्छ।

रोबर्ट बि माक्र्स आफ्नो पुस्तक ‘दि ओरिजिन अफ दि मोडर्न वल्र्ड’ मा लेख्छन्, ‘हाम्रा सांस्कृतिक मूल्य तथा मान्यताहरू हाम्रो देशको विकासका बाधक बन्छन् भने तिनीहरूलाई फाल्नुपर्छ।’ जसका कारण नै हुन् हाम्रै आँखा अघि चीन र जापान धनी भएका। त्यही भएर भूगोल रहन्छ या रहँदैन त्यो भन्न सकिँदैन तर रहने भनेको हामीले गर्ने महत्त्वपूर्ण र अर्थपूर्ण काम नै हो जसले चलायमान र गतिशील भूगोललाई जीवन्त बनाउँछ।

साभार: अन्नपूर्ण पोस्ट

  • आचार्यले जनप्रशासन तथा नीति विषयमा विद्यावारिधि गरेका हुन्।

Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope