५ वटा समाचार एकैचोटि, यो खोलेपछि अरु पढ्नै नपर्ने


जेष्ठ नागरिकलाई गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा

बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि गाउँघरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । सोमवारदेखि शुरु भएकोे गाउँघर निःशुल्क स्वास्थ्य सेवा २८ गतेसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य सेवाबाट कोही नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले स्वास्थ्यमा बिशेष लगानी गरेको बताउनुभयो ।अध्यक्ष कक्षपतिका अनुसार हरेक वर्ष गाउँ टोलमै पुगेर शिविर सञ्चालन गरी प्रदान गरिएको स्वास्थ्य सेवाबाट जेष्ठ नागरिकलाई राहत पुगेको महसुस भएकोे छ ।जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्यावसहितको निःशुल्क स्वास्थ्य शिविर वडा वडामै सुरु गरिएको खजुरास्थित स्वास्थ्य शाखाका प्रमुख सुदिप पौडेलले जानकारी दिनुभयो ।

वडा नम्बर २ सितापुरबाट सुरु गरिएको कार्यक्रम चैत २८ गते सोनपुर स्वास्थ्य चौकीमा पुगेर समापन हुने उहाँको भनाइ थियो । नेपालगञ्जका वरिष्ठ चिकित्सक प्रकाश नागसहितको टोलीले जेष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै आएका छन् । सोमवार १६८ जेष्ठ नागरिकले जचाएकामा अधिकांशमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।
–––

कास्कीमा चुनावी सरगर्मी बढ्दै

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की जिल्लामा चुनावी सरगर्मी बढेको छ ।

नजिकिँदै गरेको निर्वाचनलाई लक्षित गरी दलहरू गाउँगाउँमा आफ्नो चुनाव लक्षित कार्यक्रमलाई अघि बढाएका छन् भने निर्वाचनको तयारीमा निर्वाचन कार्यालय सक्रिय बनेको छ ।

निर्वाचन कार्यालयले जिल्लामा मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । प्रकाशित नामावली अनुसार आसन्न निर्वाचनमा जिल्लामा दुई लाख ८१ हजार ८३३ जना मतदाताले भाग लिँदैछन् । तीमध्ये पुरुष एक लाख ३३ हजार ७४२ जना छन् भने महिलाको सङ्ख्या एक लाख ४८ हजार ८७ जना रहेको छ । यस निर्वाचनमा जिल्लामा चारजना तेस्रो लिङ्गी मतदाता सहभागी बन्दैछन् । निर्वाचनका लागि १५० मतदान स्थल र ३३६ वटा मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

यसअघि २०७४ सालको निर्वाचनमा कास्कीमा दुई लाख २४ हजार ८११ जना मतदाता रहेकामा आसन्न निर्वाचनमा ५७ हजार २२ जना थपिएका छन् । थपिनेमा रुपा गाउँपालिकामा तीन हजार ३६० जना छन् । रुपामा अघिल्लो निर्वाचनमा ११ हजार ३१५ जना मतदाता रहेकामा यस पटक १४ हजार ६७५ जना मतदाता रहेका छन् । त्यस्तै मादी गाउँपालिकामा यस पटक पाँच हजार २२३ जना मतदाता थपिएका छन् । २०७४ मा १३ हजार ५५९ जना मतदाता रहेको मादीमा अहिले मतदाता सङ्ख्या १८ हजार ७८२ पुगेको छ । त्यस्तै माछापुच्छ«े गाउँपालिमा यस निर्वाचनमा चार हजार १५ जना मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा १६ हजार ३०१ मतदाता रहेकामा अहिले २० हजार ३१६ जना पुगेको छ ।

अन्नपूर्ण गाउँपालिकामा २०७४ सालमा १५ हजार ५६९ जना मतदाता रहेकामा अहिले चार हजार ७७९ जना थपिएर २० हजार ३४८ जना पुगेको छ । जिल्लाकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा आसन्न निर्वाचनमा नयाँ मतदाता ३९ हजार ६४५ जना छन् । २०७४ को निर्वाचनमा एक लाख ६८ हजार ६७ जना मतदाता रहेको पोखरामा यस निर्वाचनमा दुई लाख सात हजार ७१२ जना मतदाता सहभागी बन्दैछन् ।

कार्यालयले निर्वाचनलाई लक्षित गरी सामग्री खरिद एवम् खटिने कर्मचारीको विवरण तयार गर्ने काममा लागेको उहाँले जानकारी दिनुभयो । आसन्न निर्वाचनमा जिल्लामा एक हजार आठजना कर्मचारी खटाइने र स्वयंसेवक तथा सुरक्षाकर्मीसहित दुई हजार ६८५ जना परिचालन हुने उहाँले बताउनुभयो ।

निर्वाचनलाई लक्षित गरी दलहरूले वडा तथा टोलहरूमा गरेका कार्यक्रमले चुनावी माहोल तताएको छ । चुनावलाई केन्द्रित गरी नेपाली कांग्रेस कास्कीले गत फागुन २८ गतेदेखि ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिरहेको र त्यसले पार्टी सङ्गठनमा सकारात्मक ऊर्जा थपेको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिनुभयो । “अभियानसँगै पार्टीभित्र उम्मेदवार छनोटका सम्बन्धमा पनि छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “गठबन्धन दलका बीचमा निर्वाचनमा मिलेर जाने कुरामा सहमति हुनाका साथै कसरी जाने भन्नेबारे पनि निरन्तर छलफल जारी रहेको छ ।”

नेकपा एमालेले निर्वाचनलाई लक्षित गरी वडा एवम् टोल लक्षित गरी विभिन्न कार्यक्रम अघि बढाएको सो पार्टीका जिल्ला अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो । “निर्वाचनलाई केन्द्रित गरी जनवर्गीय सङ्गठनहरू परिचालन गरिएको छ, विभिन्न स्थानमा पार्टीका कार्यालयहरू खोलेका छौँ”, उहाँले भन्नुभयो, “उम्मेदवार चयन सम्बन्धमा छलफल भइरहेको छ, हामीलाई उम्मेदवार चयनमा खासै समस्या छैन ।”

नेकपा माओवादी केन्द्रले चुनावलाई लक्षित गरी वडा तथा टोल कमिटीका बैठकहरू गरिरहेको पार्टीको पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिनुभयो । प्रत्येक वडाबाट भोलिसम्म उम्मेदवार हुन चाहने वडाध्यक्ष सहितका पाँचजनाको सकेसम्म सर्वसम्मत र नभएमा पनि आकाङ्क्षीको नामावली माग गरिएको उहाँले बताउनुभयो । उम्मेदवार तय सम्बन्धमा गठबन्धन दलबीच पनि निरन्तर छलफल भइरहेको उहाँले बताउनुभयो ।

राजनीतिमा महिलाको सहभागिता बढ्दै

राजनीतिमा म्याग्देली महिलाको सहभागिता बढ्दै गएपनि उपल्लो तहका पदमा भने पुरुषकै वर्चश्व कायम छ ।जिल्लाको धवलागिरि गाउँपालिकामा बाहेक अन्य पाँचवटा स्थानीय तहका प्रमुखमा पुरुष र उपप्रमुखमा मात्र महिलालाई खुम्च्याइएकामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने महिलाले प्रमुख पद पाउनुपर्ने माग बढ्न थालेको छ ।

जिल्लामा सक्रिय ठूला राजनीतिक दलका नेतृत्व तहमा महिलाको सङ्ख्या पर्याप्त नहुँदा नीति निर्माणको तहमा महिलाका मुद्दा उठाउन नसिकएको र समतामूलक समाज निर्माणमा पनि समस्या देखिएको महिला अधिकारकर्मीको भनाइ थियो ।राजनीतिमा महिला सहभागिता बढ्दै गए पनि मूल नेतृत्वमा महिलाको सहभागिता ‘क्लस्टर’मा मात्रै सीमित रहने गरेकोले आशातित परिणाम आउन नसकेको रघुगङ्गा गाउँपालिकाका उपप्रमुख कमला तिलिजाले बताउनुभयो ।

मालिका गाउँपालिका–५ की वडाअध्यक्ष पिपला बुढा जिल्लाका ४५ वटै वडामध्ये एक्ली महिला वडाअध्यक्ष हुनुहुन्छ । कोटा निर्धारण भएअनुसार नै महिलालाई ठाउँ दिने गरिएको नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित उहाँले बताउनुभयो । त्यसैगरी मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालु खारिएकी राजनीतिक नेतृतमा पर्नुहुन्छ । उहाँले भन्नुभयो, “मैले अब गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने सोच बनाएकी छु, पार्टीले न्याय गर्छ भन्ने विश्वासमा छु ।”

पछिल्लो समय जिल्लाको राजनीतिमा महिलाको प्रभुत्त बढ्दै गएको छ । संघ र सरकारमा समेत महिला तथा बालबालिका मन्त्री भइसक्नु भएकी थममाया थापा, गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुनुभएकी नरदेवी पुन, धवलागिरि गाउँपालिकाकी अध्यक्ष थमसरा पुन, नेपाली कांग्रेसकी नेतृ विमला गौचन, बिना खड्का, अमृतदेवी बानियाँ, मनकुमारी विसी, बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवाललगायत महिलाले जिल्लामा आफूहरुको राम्रो प्रभाव रहे पनि अन्य महिला भने अवसरको अभावमा तल्लो तहमा मात्रै सीमित रहन बाध्य थिए ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालु, मङ्गला गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसी, नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित रघुगङ्गा गाउँपालिकाकी कमला तिलिजा र अन्नपूर्ण गाउँपालिकाकी केशमाया मगर र राप्रपाबाट बेनी नगरपालिकाको उपप्रमुखमा निर्वाचित सञ्जु बरुवालको राजनीति प्रभाव र कार्यशैली सन्तोषजनक देखिए पनि दलले भने प्रमुखमा हत्तपत्त विश्वास गर्नेमा उहाँहरुको आशङ्का थियो ।

जिल्लाको मालिका गाउँपालिकाकी उपप्रमुख खरमाया बिटालु आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुखको दाबेदार रहेको बताउनुभयो। नेकपा एमालेबाट निर्वाचित उहाँले भन्नुभयो, “पार्टीभित्र गाउँपालिका प्रमुखको टिकट पाउन सङ्घर्ष जारी छ । पाँच वर्ष उप्रमुखको हैसियतमा काम गरेँ, अब प्रमुखको लागि जिकिर गर्ने हो ।”महिलाको हितका लागि नमूनायोग्य काम गरेको बताउँदै बिटालुले आफू प्रमुख पदका लागि पनि अब्बल उम्मेदवार रहेको चर्चा गर्नुभयो । महिलाको हक अधिकार स्थापित गर्न महिलाकै नेतृत्व आवश्यक छ भन्नेकुरा यहाँका महिला मतदाताले बुझिसकेका उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टीले २०७४ मा टिकट दिएको हो, अहिले मेयरमा दाबी गर्दै आएकी छु ।”

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष केशमाया मगरले पनि आफू अध्यक्षको उम्मेदवार बन्ने बताउनुभयो । कांग्रेसबाट निर्वाचित उहाँले भन्नुभयो, “उपाध्यक्ष भएर काम गर्दा नेतृत्वमा महिला नभएर धेरै समस्या खेप्नुप¥यो, महिलाका लागि कार्यक्रम ल्याउन पनि सकस भयो । त्यसैले आफूले अध्यक्षको लागि पार्टीमा कुरा उठाउँदै आएकी छु ।” जिल्लामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा आगामी चुनावमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी मतदाता छन् । जिल्लाको छ वटै स्थानीय तह र ४५ वटा वडामा जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानमा महिला नै निर्णायक हुने भएकाले महिलालाई नेतृत्व दिनुपर्नेमा सरोकारवाला निकायको जोड थियो। विभेदकारी सोच भएको समाजलाई समतामूलक बनाउनका लागि स्थानीय तहमा महिला नेतृत्व आवश्यक भइसकेको नेपाली कांग्रेसकी जिल्ला नेतृ बिमला गौचनले बताउनुभयो । उहाँले भन्नुभयो “पार्टीमा महिलाको योगदान पनि उत्तिकै हुन्छ । महिलालाई नेतृत्वका लागि टिकट दिन कन्जुस्याइँ गरिनु हुँदैन ।”

समावेशिताका हिसाबले महिलालाई ठाउँ दिइँदै आएकाले अब मुख्य जिम्मेवारी प्रदान गर्न पार्टीले निर्णय गर्ने नेपाली कांग्रेसका जिल्ला उपसभापति केवी भण्डारीले बताउनुभयो । यता नेकपा एमालेले पनि संविधानले अधिकारको प्रत्याभूत गरेको हुनाले महिलालाई पनि अवसर दिइने बताउनुभयो । “मुख्य पदमै भन्ने छैन, महिलालाई छुटाइँदैन,” सोही दलका अर्का एक नेताले भन्नुभयो ।

जिल्लामा स्थानीय तहको चुनावमा महिला नै निर्णायक रहेको आँकलन गरिएको छ । कामको सिलसिलामा पुरुष बाहिर रहेकाले मतदान गर्ने महिलाको सहभागतिा बढी हुने गरेको छ । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा महिलाको राजनीतिक समावेशीकरणको अनुसन्धान विषयक संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को रिपोर्टमा नगर प्रमुख वा अध्यक्ष र वडाध्यक्षजस्ता प्रमुख पदमा दुई प्रतिशत मात्रै महिला प्रतिनिधित्व भएको देखाएकामा आगामी स्थानीय तहको निर्वाचनमा भने नेतृत्व तहमा महिला नेतत्वका लागि हुने देखिएको छ ।
–––

माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस

सामान्यतयाः चैत÷वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जङ्गलका लालिगुराँस ओइलाएर झर्न लागेको छ ।जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा समयअघि नै लालीगुराँस फुलेको हो । मौसमी परिवर्तनका कारण विगतका वर्षमा चैत÷वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघदेखि नै फुलेपछि यहाँका जङ्गल र लेकाली क्षेत्रहरू समयअघि नै राताम्ये भएका थिए । समयअघि फुलेर राताम्यै भएका लालीगुराँस हेर्न, तस्बिर खिच्न, टिकटक बनाउन र रमाउन लेकाली क्षेत्रमा आन्तरिक पर्यटकहरूको भीड लागेको थियो ।

पछिल्लो समयमा जलवायु परिवर्तनका कारण वातावरणमा अस्वाभाविक परिवर्तन देखिँदा बाली पाक्ने, जङ्गली फलहरू पाक्ने र गुराँसको फूल फुल्ने समयमा पनि परिवर्तन आएको छ । जिल्लाको उत्तरी क्षेत्र घोडेपानी, शिख, घार, राम्चे, नारच्याङलगायत क्षेत्रमा केही ढिलो गरी फागुनको पहिलो सातादेखि नै लालीगुराँस फुलेको छ भने पश्चिमी क्षेत्रका अधिकांश जङ्गलमा पुसको अन्तिम सातादेखि नै फुल्न सुरु गरेको लालीगुराँस अहिले ओइलाउँदै गएर झर्न थालिसकेको स्थानीयवासीले बताए ।

मौसम परिवर्तनका कारण यस वर्ष चाँडै गुराँस फुलेपछि फुल्ने समयमा (चैत÷वैशाख) ओइलाउन थालेको भकिम्लीका मनबहादुर श्रीषले बताउनुभयो । पश्चिमी क्षेत्रमा लालीगुराँस फुलेर ओइलाउँदै झर्न सुरु गरेपछि हेर्नेहरूको घोडेपानी क्षेत्रमा भीड लाग्न सुरु भएको पर्यटन व्यवसायीहरूले बताए । घोडेपानीका जङ्गलमा ढकमक्क गुराँस फुलेपछि आन्तरिक पर्यटकको भीड लागेको थियो । ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द बनाउने गरेको छ । विश्वमा पाइने लालीगुराँसका ४२ प्रजातिमध्ये म्याग्दीका जङ्गलमा १६ प्रजातिका गुराँस पाइन्छन् भने नेपालमा ३२ प्रजातिका गुराँस पाइने अध्ययन प्रतिवेदनमा उल्लेख छ । फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य याम हो । गुराँस फुल्ने याम सुरु भएसँगै घोडेपानी क्षेत्र रातै भएको देख्न सकिन्छ । गुराँस फुल्न सुरु भएसँगै आन्तरिक पर्यटकको आगमन पनि बढेको स्थानीय होटल व्यवसायीहरूले बताए ।

प्राकृतिक सुन्दरतासँगै ढकमक्क फुलेका विभिन्न प्रजातिका गुराँसले मनलाई आनन्दित बनाउनाका साथै शरिरमा शुद्ध अक्सिजनको माग केही क्षणका लागि भए पनि पूरा गर्न पाएकामा खुसी लागेको काठमाडौँबाट पारिवारिक भ्रमणका लागि घोडेपानी आउनुभएका वरिष्ठ कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताउनुभयो ।उता पश्चिमी म्याग्दीको भकिम्ली, वरञ्जा, अर्मनलगायत रघुगङ्गा क्षेत्रका पाखापानी, कोटगाउँ, दग्नाम, दर्मिजा क्षेत्रमा भने लालीगुराँस फुलेर ओइलाएको छ । विगतका वर्षहरूमा भन्दा यस वर्ष छिटो फुलेको लालीगुराँसको प्राकृतिक रङ्गमा समेत परिवर्तन देखिएको रघुगङ्गा गाउँपालिका–४ दग्नामका वडाध्यक्ष रुकबहादुर गर्बुजाले बताउनुभयो ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope