वर्षाले राहत

वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ । मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो ।
गए रातिको वर्षाले बाँझो जग्गा खनजोत गर्न सहज भएको किसानले बताएका छन् । चैतेबाली थन्क्याएपछि रुखिएको जग्गा खनजोत हुन सकेको थिएन ।
वर्षा भएपछि अब बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने बर्दिबास–७ मनहरिपुरका विन्देश्वर यादवले बताउनुभयो । “राम्ररी चिस्यान हुने गरी पानी परेको छ”, उहाँले भन्नुभयो, “यसपालि बर्खेबाली समयमै लगाउन पाइने आश जाग्यो ।” पछिल्लो वर्षाले तरकारी खेती गर्न सहज भएको किसानको भनाइ छ । वर्षाअघि केहीबेर चलेको हावाहुरीले कलिला बोट र तरकारीका बेला (लहरा) लतारेर केही नोक्सान गरेको किसानले बताएका छन् ।
हावाहुरीले आँप, लिचीसहितका फलका चिचिला सोतर पारेर झारेको भङ्गाहा–४ पलारका चौठी सर्दार बाँतर भन्नुहुन्छ । अन्य बालीनालीमा परेको अनुकूलतालाई उपयोग गर्दै चित्त बुझाउनुपर्ने बाँतर बताउनुहुन्छ । वर्षापछि किसानलाई राहत मिलेको छ । –––
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस