रुप फेरिएको रुपन्देही


पाँच वर्षअघि भैरहवादेखि लुम्बिनी पुग्न एक घण्टा लाग्थ्यो । गौतमबुद्धको जन्मस्थल जान लालयित पर्यटक साँघुरो र भत्किएको सडकका कारण दिक्क हुन्थे । त्यसमाथि पुराना र थोत्रा बसको यात्राले पर्यटकीयस्थल पुग्ने पर्यटकको यात्रा पट्यारलाग्दो हुन्थ्यो ।

लुम्बिनी प्रवेशद्वारमै परेका खाल्डाखुल्डीले साना सवारी साधन सडकमै फस्ने अवस्था थियो । अहिले बुद्धचोकदेखि लुम्बिनी पुग्ने सडक छ लेनको बनेको छ । सडक फराकिलो भएपछि भैरहवा–लुम्बिनीको दूरी छोटिएको छ । अहिले १५ मिनेटमै भैरहवादेखि लुम्बिनी पुग्न सकिन्छ । फराकिलो सडक, डिभाइडरमा राखिएका गौतम बुद्धका मूर्ति र रङ्गीचङ्गी फूलहरुले सडक सुन्दर देखिएको छ ।

फराकिलो बनेको बुटवल–बेलहिया र भैरहवा–लुम्बिनी सडकले रुपन्देहीको रुप फेरिएको छ । यही सडक छेउमै बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले रुपन्देहीको सान–मान बढाएको छ ।

केही समयअघि उद्योगपति विनोद चौधरीले भैरहवा–बुटवल सडकखण्डको यात्रा गर्दैगर्दा सामाजिक सञ्जालमा आफू युरोप पुगेको अनुभूति भएको भन्दै प्रतिक्रिया दिनुभएको थियो । संसार घुम्नुभएका चौधरीले दिएको उक्त प्रतिक्रिया हेरेर बुटवलका विषयमा सकारात्मक धारणा बनाउनेको सङ्ख्या बढ्यो । छोटो समय पर्यटनमन्त्री बन्नुभएका नेकपा (एमाले)का नेता भानुभक्त ढकालले बुटवलदेखि लुम्बिनी पुगेपछि यहाँको विकास देखेर आफू आश्चर्य भएको प्रतिक्रिया दिनुभएको थियो । उहाँले पनि बुटवल भैरहवा क्षेत्रको विकासले युरोपको झल्को दिएको बताउनुभएको थियो ।

संसारका ५० भन्दाबढी देश घुमिसकेका युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीले शनिबार मात्रै बुटवलमा पत्रकार सम्मेलन गरेर नेपालमा युरोपको जस्तै लाग्ने विकास बुटवल क्षेत्रमा देखेको बताउनुभयो । अमेरिका बस्दा बुटवल क्षेत्रको विकासका विषयमा सुनेका रेग्मीलाई नेपाल आएका बेला बुटवल घुम्ने रहर जागेर आएको प्रतिक्रिया दिनुभयो । बुटवलबाट मुलुकको विकास र समृद्धि सुरु भएको अनुभूति उहाँले गर्नुभयो ।

पछिल्ला पाँच वर्षयता बुटवल र आसपासका क्षेत्रको विकासले गति लिएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा दुई पटक अर्थमन्त्री भइसकेका यस क्षेत्रका सांसद विष्णुप्रसाद पौडेल यहांँको विकासका परिकल्पनाकार हुनुहुन्छ । आफू अर्थमन्त्री हुँदा उहाँले यस क्षेत्रका ठूलाठूला पूर्वाधारमा बजेट विनियोजन गरेर काम अघि बढाउनुभयो ।

सरकार परिवर्तनपछि उहाँले अघिसारेका केही ठूला आयोजना अझै सुरु भएका छैनन् तर केही वर्षभित्रै ती परियोजना सम्पन्न हुने अपेक्षा गरिएको छ ।

विकासे नेता भनेर चिनिने पौडेललाई यहाँका पालिका प्रमुख उपप्रमुखको पनि साथ रह्यो । पौडेलले परिकल्पना गरेका आयोजना सम्पन्न गर्न बुटवल, तिलोत्तमा, सैनामैना, देवदह र भैरहवाका जनप्रतिनिधिले कम्मर कसेर लागेका थिए । जसका कारण पौडेलले नेतृत्व गरेका विकासे मुद्धाहरुले साथर्कता पाउँदै गए ।

नेपालकै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमास्थल भित्रिन र बाहिरिन आवश्यकपर्ने सडक सञ्जालको परिकल्पना पौडेलले सुरुमै गर्नुभएको थियो । जसअनुसार अहिले जिल्लाका १६ वटै पालिकालाई जोडेर सडक सञ्जाल बनेको छ । कतिपय ठाउँमा ढिलासुस्ती भए पनि अधिकांश ठाउँमा काम सम्पन्न भइसकेका छन् ।

तिनाउ र दानव नदी किनारै किनार भारतीय सीमानासम्म पुग्ने करिडोर सडक निर्माण सुरु भएको छ । यसले भारतीय पर्यटकलाई भैरहवा विमानस्थलसम्म अथवा बेथरी बेलवास हुँदै बुटवल–पाल्पा–पोखरासम्म यात्रा गर्ने छोटो र सजिलो सडक बन्नेछ । बीचमा नहर सहितको यो सडक नमूना पर्यटन सडक हो ।

बुटवल–नारायणगढ, बुटवल–गोरुसिङ्गे र बुटवल–पोखरा सडक छ लेन, चार लेन र डेडिकेटेड सडकका रुपमा विस्तार हुँदैछन् । प्रादेशिकस्तरको रामापिथेकस जुलोजिकल पार्कको व्यवस्थापन योजना बन्नु, धार्मिक–साँस्कृतिक हिसाबले अन्तर्राष्ट्रिय महत्व राख्ने लुम्बिनीको गुरूयोजनाले पूर्णता पाउदैछ ।

बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि टेण्डर भइसकेको छ । बुटवलको तिनाउ पुलमा सिग्नेचर ब्रिज बन्दैछ । रुपन्देही पूर्वाधार विकास मात्र होइन उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनेको छ ।

पालिका क्षेत्रभित्र रहेका विभिन्न स्थानमा पर्यटन पूर्वाधारको विकास हुँदैछ । हिल स्टेशन, चिडियाखाना, बोटानिकल गार्डेन, धार्मिक एवं साँस्कृतिक स्थलको प्रवद्र्धन र विकास, ऐतिहासिकस्थलको प्रवद्र्धन र विकास, बैठौलियामा जलपर्यटन, पर्यापर्यटन, कृषि फार्मसहितको कृषि पर्यटन, खेल तथा साहसिक खेल पर्यटन, इको पर्यटन आदिको प्रवद्र्धन र विकास गर्ने योजना बुटवल उपमहानगरपालिकाको छ ।

पर्यटन क्षेत्रलाई पालिकाको आर्थिक समृद्धिको प्रमुख मेरूदण्डका रूपमा विकास गर्न यहाँका सबै पालिकाले योजना बनाएका छन् । पर्यटनका लागि आवश्यकपर्ने विभिन्नस्तरका होटल तथा लज, विशेष यातायात सुविधा, पर्यटक बस सेवा, विद्युतीय यातायात, विभिन्न प्रकारका रिसोर्ट, होमस्टे, स्थानीय अर्गानिक र रैथाने उत्पादनका लागि निजी क्षेत्र, सहकारी एवं स्थानीय समुदायसँग सहकार्य गरी पालिकाले कार्यक्रम तय गरेका छन् ।

बुटवलको ड्रिम प्रोजेक्टका रूपमा निर्माण सुरू गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अन्तिम चरणमा पुगेको छ । विसं २०७१ माघ १५ गते सम्मेलन केन्द्रको शिलान्यास गर्दा पाँच वर्षमा निर्माण सक्ने भनिए पनि रूख कटानमै २७ महिना अल्मलिएपछि ढिलोगरी निर्माण थालिएको थियो ।

आकाशबाट हेर्दा चन्द्र–सूर्य अङ्कित नेपालको झण्डा आकारमा निर्माण गरिएको सम्मेलन केन्द्र डिजाइन गरिएजस्तै आकर्षक देखिएको छ । पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ बुटवल रामनगरमा सम्मेलन केन्द्र निर्माण गरिएको हो ।

पछिल्लो समय बनिरहेका ठूला पूर्वाधारले रुपन्देही बृहत् सहरका रुपमा विकसित हुँदैछ । तीव्ररूपमा भइरहेको बसाइँसराइले यो क्षेत्र भरिँदै गएको छ । बुटवलदेखि भैरहवासम्मको सडकछेउ सहरीकरण भइसकेको छ । सैनामैनाको सालझण्डीसम्म उस्तै सहर छ । दक्षिणतर्फ फर्साटिकर, अमुवासमेत सहरीकरण भइरहेका छन् ।

तिलोत्तमा नगर प्रमख वासुदेव घिमिरेका अनुसार सुन्दर र सफा सहर निर्माणका लागि नियमित सरसफाइ अभियान चलाइएको छ । खुला प्लाष्टिकमुक्त क्षेत्र घोषणा नै गरेर तिलोत्तमालाई सुन्दर सहरका रुपमा विकास गरिएको घिमिरेको भनाइ छ । सहरलाई आधुनिक र सुरक्षित बनाउन भैरहवा र तिलोत्तमाको सडकमा सौन्दर्यकरण गरिनुका साथै ट्राफिक लाइटसमेत राखिएको छ । बुटवलमा पनि राख्ने तयारी उपमहानगरले गरेको छ ।

बुटवलमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले रुपन्देहीलाई अझै चलायमान बनाउनेछ । त्यस्तै सैनामैनाको कर्साघाटमा बन्ने आधुनिक कृषिउपज केन्द्र निर्माण, रङ्गशाला र बुटवल–नुवाकोट र बुटवल–वसन्तपुर केबलकारले बुटवल मेगासिटीको सपनालाई मूर्तरूप दिनेछन् ।

आधुनिक सहरको जनघनत्वलाई थेग्ने गरी खानेपानीको प्रबन्ध गर्न झुम्सा खोला खानेपानी आयोजनाको काम थालिएको छ । बुटवलमा दैनिक तीन करोड लिटरभन्दा धेरै पानी आउने गरी कामको थालनी भइरहेको बुटवल उपमहानगरपालिकाका अध्यक्ष शिवराज सुवेदीको भनाइ छ । “अरु पालिकालाई अभिभावकत्व दिनेगरी उपमहानगरलाई आमा सहरका रुपमा विकास गर्दैछौँ”, प्रमुख सुवेदीले भन्नुभयो ।

यस्तै सिद्धबाबाको सुरुङमार्ग र कालीगण्डकी तिनाउ डाइभर्सनले पनि यो सहरलाई अझै आकर्षक बनाउनेछन् । सिद्धबाबामा खसिरहने पहिराबाट हुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण छ । माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा सुरुङमार्ग निर्माण हुँदैछ ।

डाइभर्सनपछि तिनाउमा जलपर्यटक भित्र्याउने योजना छ । ती पर्यटक लुम्बिनीबाट बुटवल हुँदै पाल्पाको तानसेनसम्म पुग्नेछन् । पूर्वअर्थमन्त्री पौडेल र उद्योगमन्त्री लेखराज भट्टले २१ फागुन ०७७ मा शिलान्यास गरेको मोतीपुर औद्योगिक क्षेत्र पनि निर्माणाधीन अवस्थामा छ । १ चैत २०७२ को मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेशमा एक हजार बिघाका ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेअनुसार मोतीपुरमा औद्योगिक क्षेत्र निर्माण सुरु भएको हो । जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोदन गाउँपालिकाको ८१३ बिघा क्षेत्रफलमा मोतीपुर औद्योगिक क्षेत्र बनाइँदैछ ।

बुटवललाई मेघासिटीका रुपमा निर्माण गर्न विभिन्न पूर्वाधार, नमूना अटोभिलेज, नमूना ट्रान्सपोर्ट भिलेज बनिसकेका छन् । यसले सहरमा हुने अनावश्यक भीड र कुरुपतालाई नियन्त्रण गर्ने छ । बुटवलदेखि भैरहवा र लुम्बिनीसम्म विद्युतीय बस सञ्चालनमा आएको छ ।

बुटवल उपमहानगरपालिका–१२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानी ग्राम निर्माण भएको छ । बुटवलको व्यस्त सहरी क्षेत्रमा हेवीलोडका सवारी साधनलाई छिर्न नपर्ने र ट्राफिक व्यवस्थापन गर्न निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरले अलग्गै ढुवानी ग्राम निर्माण गरेको हो । तीन बिघा क्षेत्रफलमा सार्वजनिक–निजी साझेदारीको करिब रु ३७ करोड लागतमा ढुवानी ग्राम निर्माण भएको हो । ढुवानी ग्राम राजमार्ग क्षेत्रबाट ३ दशमलव ६ किलोमिटर दूरीमा छ ।

स्वास्थ्य र शिक्षामा पनि यो जिल्लाले फड्को मारेको छ । यहाँका निजी तथा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि भएपछि अध्ययनका लागि काठमाडौँ जानुपर्छ भन्ने मान्यता हटेको छ भने स्वास्थ्य क्षेत्रमा भएको विकासले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ । यहाँ लुम्बिनी प्रादेशिक अस्पताल, भीम अपताल र भैरहवा मेडिकल कलेज छन् । यसका अलावा एक दर्जन बढी निजी अस्पताल सञ्चालनमा छन् ।

गौरवपूर्ण इतिहास र राष्ट्रिय स्वाधीनताको प्रतीक जीतगढी किल्लालाई संरक्षण तथा प्रवद्र्धन गर्ने क्रममा उजिर सिंहको पूर्णकदको शालिक स्थापना हुनु, जीतगढी (बटौली) युद्ध सङ्ग्रहालयको निर्माण कार्यको प्रक्रिया अघि बढ्नु, मोतीपुरमा थारू सङ्ग्रहालय तथा थारू सांस्कृतिक ग्राम र आवास क्षेत्रको योजना कार्यान्वयन गर्न विस्तृत परियोना प्रस्ताव तयार हुनु, अटो भिलेज, ट्रान्सपोर्ट भिलेजजस्ता कार्यले व्यवस्थित र विशिष्टिकृत सहरीकरणको आरम्भ भएको छ ।

यी विभिन्न योजनाका कारण रुपन्देही देशलाई विकास सिकाउने थलोका रुपमा परिणत भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया सडकलगायत अन्य पूर्वाधार निर्माणले रुपन्देही विकासका लागि सिक्न आउने ठाउँ बनेको पूर्वमन्त्री पौडेलको भनाइ छ । “रुपन्देहीको तिनाउ र दानव नदीमा दर्जनाँै पुल बनेका कारण वारि र पारिको विभेद हटेको छ”, उहाँले भन्नुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope