२५ सय ६६ औँ बुद्धजयन्तीको तयारी पूरा


२५ सय ६६ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा भएको छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा लिने गर्छन् ।

बुद्धजयन्तीका कार्यक्रमको तयारी पूरा भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार मायादेवी मन्दिरको सरसफाइ, रङरोगन गरी चिटिक्क बनाइएको छ । अन्य क्षेत्रमा सौन्दर्यकरणका काम गरिएको छ ।

मन्दिर आसपासका पुरातात्विक संरचनालाई फूल र मालाले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरको भित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर आकर्षक पारिएको छ । स्तम्भसम्म पुग्ने सडक पनि सफा गरेर सुन्दर बनाइएको छ । मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ ।

ठाउँ ठाउँमा बुद्ध वचन, वाणी र पञ्चशिलका नयाँ तुल व्यानार टाँसिएको छ । आगन्तुकलाई स्वागतका लागि बाहिर नै गेट बनाइएको छ । अघिल्ला वर्षहरूभन्दा यसपटक लुम्बिनीलाई विशेषरुपमा सजाउने काम गरिएको छ । कोरोना महामारिका कारण अघिल्लो बुद्ध जयन्ती मनाउन नपाएका कारण पनि यो वर्ष विशेष तयारी गरिएको विकास कोषले जनाएको छ ।

लुम्बिनीमै बनेको अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको पनि बुद्धजयन्तीका दिन शुभारम्भ गर्ने कार्यक्रम छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत निर्माण थालिएको अत्याधुनिक सुविधासहितको सभाहल चार वर्षमा पूरा भएको छ । सो सभाहलकोे प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्नुहुने बताइएको छ ।

तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको सभाहल कोरोना महामारीका कारण एक वर्ष ढिलो सम्पन्न भएको हो । पाँच हजार सिट क्षमताको यो सभाहलको मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो भने दोस्रो चरणमा फिनिसिङ र सौन्दर्यीकरणको काम पूरा भएको हो । विसं २०७५ वैशाख १७ गते २५६२ औँ बुद्धजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गर्नुभएको थियो ।

कोषकाअनुसार छाता शैलीमा निर्माण भएको यो हलमा गर्मीमा चिसो र जाडोमा तातो बनाउन छदेखि आठ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने इपीएस प्यानल प्रयोग गरिएको छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार सभाहलको कूल लागत झण्डै रु साढे ७४ करोड रहेको छ ।

ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रङ लगाइएको छ । हलको भित्रतिर माथि पहेलो रङको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४७६ वटा बत्ती जडान गरिएको छ ।

लुम्बिनीमा हुने बुद्धजयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि कोषले दक्षिण एसियाकै नमूना सभाहल निर्माण सुरु गरेको थियो । सन् २०१६ को अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मनाउने क्रममा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित हुनुभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिनुभएको थियो । सोही बमोजिम मुलुककै ठूलो सभाहल निर्माणको काम पूरा भएको छ ।

सभाहलकै नजिक रु ७५ लाखको लागतमा चारवटा हेलिप्याड निर्माणको कामसमेत सम्पन्न भएको विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो । “लुम्बिनी गुरुयोजनाअनुसार कोषको बाटो पार्कसहित तीनवटा हेलिप्याड निर्माणका लागि ठेक्कमा दिएका थियौँ तर, अहिले डिजाइनमा सामान्य परिवर्तन गरी चारवटा हेलिप्याड बनायौँ”, उहाँले भन्नुभयो ।

यस पटक बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा चार दिनसम्म विशेष कायर्कम गरिने कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज गौतमबुद्धको मावली देवदह तथा अस्तुधातु राखिएको स्थल नवलपरासीको रामग्राममा विशेष कार्यक्रम गरिने छ । जेठ दुई गते बुद्धजयन्ती विशेष समारोह लुम्बिनीमा आयोजना हुने छ । यही जेठ ३ र ४ गते कपिलवस्तुको तिलौराकोटमा कार्यक्रम छ ।

बुद्धजयन्ती तथा लुम्बिनी दिवस मनाउन सो कोषले रु एक करोड बजेट व्यवस्थापन गरेको संयोजक भट्टराईले बताउनुभयो । बौद्ध ग्रन्थका अनुसार इपू ६२३ को वैशाष पूर्णिमाको दिन कपिलवस्तुका राजा शुद्धोदनकी रानी मायादेवी आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनी उद्यान आइपुगेपछि सिद्धार्थ गौतमको जन्म भएको थियो । अहिले लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope